सुन तस्करी आरोपी सामान्य तारेखमा छुटे

631
views

काठमाण्डौ, २१, त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट गत २० पुषमा बरामद साढे ३३ केजी सुन तस्करीमा संलग्न रहेको आरोप लागेका एसएसपी श्यामबहादुर खत्री र भन्सारका कर्मचारी श्यामकृष्ण श्रेष्ठलाई उच्च अदालतले छाड्न आदेश दिएको छ । एसएसपी खत्रीलाई काठमाडौं जिल्ला अदालतले दुई लाख धरौटी मागेको थियो, तर उच्च अदालत पाटनले भने उनलाई सामान्य तारेखमा छाड्ने आदेश दिएको छ । त्यस्तै, काठमाडौ जिल्ला अदालतले भन्सारका कर्मचारी श्रेष्ठलाई थुनामा राख्न आदेश दिएकोमा उच्च अदालतले दुई लाख रुपैयाँ धरौटीमा छाड्न आदेश दिएको छ । एसएसपी खत्रीलाई सामान्य तारेखमा छोड्ने आदेश दिइएको छ । न्यायाधीश भीमकुमार ओझा र बलभद्र बास्तोलाको संयुक्त इजलासले तस्करीको आरोपीलाई सामान्य तारेखमा छाड्न आदेश दिएको हो ।
विमानस्थलमा खटिएका एसएसपी खत्रीलाई काठमाडौं जिल्ला अदालतका न्यायाधीश दीपेन्द्र अधिकारीको इजलासले गत ४ चैतमा दुई लाख रुपैयाँ धरौटीमा छाडेको थियो । खत्रीसहित धरौटीमा छुट्नेमा राजेश शाक्य वैभव लक्ष्मी सुन पसल न्युरोडका व्यापारी राजेश श्रेष्ठ, सुनिल श्रेष्ठ, मनोज श्रेष्ठ, सपन श्रेष्ठलाई जनही एक लाख धरौटीमा छाडिएको थियो ।
को–को जेल चलान भए ?
काठमाडौं जिल्ला अदालतले सुन कारोबारी रामहरि कार्की, तस्करीको सुन व्यवस्था मिलाउने दिलबन्धु थापा, कारोबारी सन्तोष काफ्ले र सुनको भरिया गोपाल शाही, एक्सरेमा बस्ने भन्सार कर्मचारी राजकुमार ढकाललाई जेल चलानको आदेश दिएको थियो ।
सरकारी वकिलद्वारा निवेदन दर्ता
जिल्ला अदालतले छाडेपछि सुन तस्करीमा मुख्य भूमिका खेल्नेलाई थुनामा राखी मुद्दाको पुर्पक्ष गर्ने निवेदन परेको थियो । सरकारी वकिलको कार्यालयले उच्च अदालत पाटनमा १६ चैतमा निवेदन दिएका थिए । फरार रहेर अदालतमा हाजिर भएर धरौटी तिरेर छुट्नेमा रवि भन्ने राजेश बोगटीलाई २२ जेठमा काठमाडौं जिल्ला अदालतले एक लाख ५० हजार धरौटीमा छाडेको थियो । त्यस्तै, मल्लिका बज्राचार्य शाक्यलाई २९ जेठमा साधारण तारेखमा छाडेको थियो । राजेन्द्रकुमार शाक्यलाई २३ जेठमा डेढ लाख र गीता श्रेष्ठलाई ३० जेठमा एक लाख रुपैयाँ धरौटीमा छाडेको छ । धरौटी तिरेर मुक्त हुने सबै सुन पसले हुन् ।
गत २२ फागुनमा जिल्ला अदालतमा मुद्दा दायर गरिएकोमा अभियोगपत्र साथ पेस भएका १२ जना प्रतिवादीको बयान र वादी(प्रतिवादीका तर्फबाट बहस भएपछि अदालतले गत ४ चैतमा थुनछेक आदेश दिएको थियो । अभियोगीहरूको मुद्दाको सुनुवाइ २२ असारका लागि पेसी तोकिएको छ ।