बरु मन्त्री पद छाड्छु, आयल निगममा अनियमितता गर्नेलाई छाड्दिनः आपूर्तिमन्त्री मण्डल

581
views

विराटनगर, २२, श्रावण । आपूर्तिमन्त्री शिवकुमार मण्डलले नेपाल आयल निगमका लागि जग्गा खरिदमा अनियमितता गर्नेलाई कारबाही गर्न खुट्टा नकमाउने बताएका छन् ।
बरु आफूले मन्त्री पद त्याग्ने तर, दोषीलाई कारबाही गरेर छोड्ने उनको दाबी छ ।
मन्त्री भएपछि पहिलो पटक गृह जिल्ला आएका मण्डलले विमानस्थलमा पत्रकारहरुसँग कुरा गर्दै भने, दोषी ठहर भएको खण्डमा कारबाही गर्ने कुरामा मन्त्रालय दृढतापूर्वक अघि बढ्छ । यसमा कसैले शंका नगरे हुन्छ ।’
दोषी पाएपनि कारबाही गर्नेमा केहीले शंका गरेको भन्दै उनले भने, जो सुकैको फोन आएपनि, मन्त्रालय छोड्नु पर्ने अवस्था आयो भनेपनि छोड्छु । दोषीलाई छोड्ने कुरा छैन ।’
लेखा समितिले जग्गा खरिदमा अनियमिता भएको भन्दै अख्तियारमा पठाएको र आफूले पनि आन्तरिक छानविन गर्न निर्देशन दिइसकेको उनले बताए ।