भरतपुरका मेयरको ‘विजय’गाथा

864
views

-रामशरण बजगाईं
सन् १९३९ मा हिटलरको पोल्याण्ड विजयगाथा प्रस्तुत गर्नअघि भरतपुर महानगरपालिकाको मेयरमा लज्जास्पद विजय हासिल गर्नु भएकी रेणु दाहाललाई ‘विजय’को शुभकामना !
अव आरम्भ गरौं हिटलरको पोल्याण्ड विजययागाथा
त्यसबेला जर्मनीका शासक हिटलरले अष्ट्रियामाथि विजय प्राप्त गरे र जर्मनीमा गाभे । पहिले जर्मनीमै रहेको अष्ट्रियामाथिको आक्रमण र विजयलाई बेलायत र अमेरिकाले पनि ‘कम्प्रमाइज

’ गरे, ठीकै छ नि त भनेर वास्ता गरेनन् । अव हिटलर पोल्याण्डमाथि आक्रमण गरी जित्न चाहन्थे । पोल्याण्ड र बेलायतबीच तेस्रो कुनै देशले आक्रमण गरे मिलेर सामना गर्ने सम्झौता थियो । पोल्याण्डमाथि आक्रमणको कुनै निहुँ हिटलरसँग थिएन । हिटलरले आइडिया लगाए–जर्मनीको एउटा रेडियो स्टेशनमा पोल्याण्डका सेनाबाट आक्रमण गराउने र त्यसलाई जर्मनीमाथि आक्रम

ण भएको प्रचार गरी पोल्याण्डलाई हान्ने ।
हिटलरले आफ्नै जर्मनी सेनालाई पोल्याण्डका सेनाको कम्ब्याट ब्यवस्था गरे र जर्मनीको रेडियो स्टेशनमाथि कब्जा जमाउन लगाए । पोल्याण्डको सैनिक ड्रेसमा रहेका जर्मनी सेनाले रेडियो स्टेशन कब्जा गरे र कब्जा भएको रेडियोबाटै घोषणा गरे– ‘हामी पोल्याण्डका सेना हौं र अहिले सफलतापूर्वक जर्मनीको रेडियोस्टेशनमाथि विजय प्राप्त गरेका छौं । अव कोही जर्मनीले हामीसँग आत्मसमर्पण गर्नुपर्नेछ ।’
जर्मनीभरी रेडियोको यो सन्देश फैलिएपछि तत्कालै जर्मनी सेनाले पोल्याण्डमाथि आक्रमण सुरु गरे, विजय पनि पाए । तर, झुठ प्रचारको जमीनबाट सुरु भएको जर्मनीको त्यही विजय हिटलरको अन्त्यको कारण बन्न पुग्यो । अष्ट्रियमाथि जर्मनीको कब्जामा आँखा चिम्लेका बेलायत, फ्रान्स, अमेरिका र रुस सवै हिटलरको विरुद्ध उभिए । हिटलरले खोपीमा आत्महत्या गरेर मर्नुपर्यो ।
सबै मिलेर गरिएको आक्रमण ब्यहोर्न नसकेपछि हिटलरले आत्महत्या गरे, पोल्याण्डमाथिको त्यो जित यसरी हिटलरको नाजीवाद समाप्तिको कारण बन्न पुग्यो ।
अव फर्काैं भरतपुर
भरतपुर महानगरपालिकामा बैशाख २९ मा चुनाव भयो । चुनाव, मतदान, मतगणना, विजय, पराजय लोकतन्त्रका सामान्य र सनातन शब्दावली हुन् । त्यसबाट कसैले विजय पाउँदा वा कोही पराजित हुँदा यतिबिघ्न उद्धेलन अवश्य हुनेथिएन । तर, केही सन्दर्भ र घटनावलीहरुले अन्यत्र जस्तो भरतपुरमा चुनाव मात्रै भएको थिएन । भरतपुरको चुनाव चुनाव मात्रै नहुनुका केही घटनावली र कारणहरु छन् । त्यसमाथि केही विवेचना गरौं । तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहालकी पुत्री रेणु उनको दलकी मात्र होइनन् सत्ता गठबन्धनको बलियो दल कांग्रेसको समेत मेयर उम्मेदवार थिइन् । भरतपुरमा सबैभन्दा बलियो मानिएको कांग्रेसका उम्मेदवार दिनेश कोइरालाको उम्मेदवारी सत्तारुढ कांग्रेसका सभापति शेरबहादुर देउवा आफैंले फिर्ता गरिदिएर गठबन्धन बनाएका थिए । रेणुसँगको प्रतिस्पर्धामा एमाले उम्मेदवार देवी ज्ञवाली थिए । सतहमा हेर्दा रेणु कांग्रेस र माओवादी गठबन्धनकी उम्मेदवार थिइन्, सतहभित्र प्रवेश गर्दा बहालवाला प्रधानमन्त्री र हुनेवाला प्रधानमन्त्री संयुक्त रुपमा उम्मेदवार थिए । निर्वाचन आचार संहिता एकातिर थियो, दुई प्रधानमन्त्री नारिएर भरतपुरको मैदानमा खटेका थिए । निर्वाचन पद्दतिको त्यो वस्त्रहरणप्रति आँखा चिम्लिने निर्वाचन आयोग थियो । राज्यको ढुकुटी आफ्नै तजविजमा चुनावका लागि चलाउने निर्वाध ब्यवस्था थियो । यति गर्दा पनि जित्नेगरी मत नआए मतपत्र च्यात्ने योजना बनाउने महान्यायाधिवक्ता थिए । मतपत्र च्यात्ने मधु न्यौपाने र द्रोण सिवाकोटी थिए । मतपत्र च्यात्दा शौच गर्न जाने निर्वाचन अधिकृत कविप्रसाद न्यौपाने थिए । शौच गरेकै ठाउँबाट रेणु दाहालका प्रतिनिधिले यता गणनास्थलमा मत च्यातेको नदेख्ने तर, गणनास्थल रणभूमीतुल्य भएको देख्ने अधिकृत न्यौपानेका नेत्र थिए । सुरक्षाकर्मीले गणनास्थल कब्जा नभएको रिपोर्ट दिंदा पनि कब्जा भएको रिपोर्ट लेख्ने मतदान अधिकृतका हात थिए । उम्मेदवारले निर्वाचन आचार संहिता उल्लंघन गरे भने उम्मेदवारी नै खारेज गरी बाँकी कारवाही अघि बढाउने अधिकार नदेख्ने र मतपत्र च्यात्नेको उद्धेश्यमा आँखा चिम्लेर सदर गर्ने निर्वाचन आयोग थियो । अदालतमा सेटिङ मिलाउन माहिर महान्यायाधिवक्ता थिए । यी सबै

 कृत्यको योग थियो भरतपुर १९ मा पुन मतदान ।
भरतपुरको पुन मतदान एउटा सानो अंशमा मात्रै निर्वाचन, बाँकी अरु नै थियो । हिटलरले जर्मन सेनालाई पोल्याण्ड सेनाका कम्ब्याट लगाइदिएर आफ्नै रेडियो स्टेशन कब्जा गराए भन्दा भिन्न थिएनन् भरतपुरका निर्वाचन अधिकृत कविप्रसाद न्यौपानेले दिएको ‘मतगणनास्थल कब्जा’को रिपोर्ट र त्यही रिपोर्टका आधारमा आयोग र अदालतले गरेका सदरगामी आदेशरुह । सतहमा निर्वाचन र त्यसका पद्दतिहरु प्रदर्शन गरेर भित्र कपटको कूटकूट दफा मिलाइएको थियो ।
कार्यब्यापार जेसुकै भए पनि, लोकतान्त्रिक प्रक्रियालाई सम्मान र अदालती आदेशलाई पालना गर्नु पर्ने भएका खातिर मात्रै आलेखको सुरुमा रेणु दाहाललाई वधाई दिइएको हो । फेरि पनि यो लज्जाजनक जितका लागि रेणु दाहाललाई वधाई ।
रेणु दाहाल भरतपुरको मेयर पदमा विराजमान हुँदा पनि जित

किन लज्जाजनक छ ? यस प्रश्नको स्थुल जवाफ तथ्यहरुबाट दिन सकिंदैन । संसारमा सवै प्रश्नको जवाफ हुँदैन पनि । केही प्रश्नहरु यस्ता हुन्छन् तिनको जवाफ दिएर पुग्दैन, सामना मात्रै गरिरहनु पर्छ । त्यसैले भरतपुरमा रेणुले चुनाव होइन कपट जितेकी हुन् । तर, त्यस कपटमाथि उठेका प्रश्नहरुको सामना भने रेणुले भन्दा बढी नेपाली कांग्रेसले गरिरहनु पर्छ । रेणुसँग चुनावमा ‘पराजित’ देवी ज्ञवालीको विजय त जेठ १४ गते राती मतपत्र च्यातिएकै बेला भएको हो । उनले भोलिको राजनीतिका लागि जित बाहेक केही पाएका छैनन् । तर, मतपत्र च्यात्ने काममा समेत साझेदारी गरेको कांग्रेसले आफ्नो स्थापनायताको लोकतान्त्रिक मुल्य मान्यता पनि माओवादमा समर्पण गरेको छ, माओवादलाई मार्गदर्शक सिद्धान्त मान्ने एक दलका प्राधिकारकी छोरीलाई मेयर बनाउने मुल्यमा ।

राजनीतिक विचारमा कांग्रेसको यो भन्दा ठूलो क्षति अरु हुँदैन पनि ।
०३६ सालको जनमत संग्रहमा बहुदललाई हराइएपछि बीपी कोइरालाले लोकतान्त्रिक मुल्यप्रतिको निष्ठा बचाउन नै नतिजालाई स्वीकार गरेका थिए । तर, भरतपुरमा हार्ने निश्कर्षमा माओवादले मतपत्र च्यात्दा गणनास्थलमा भएका कांग्रेसका ९ जना प्रतिनिधि छानिई छानिई निदाए । विचार र राजनीतिको यो भन्दा ठूलो चीर निद्रा अरु के हुन्छ ? यस निद्राले कांग्रेस आज राजनीतिक रुपमा कहाँ पुगेको छ भने उसले माओ वा उनका नेपाली प्राधिकारको तस्बिर टेकुको आफ्नो कार्यालयमा नझुण्ड्याई सुख्खै छैन । मतपत्र च्यात्ने मधु न्यौपाने र द्रोण सिवाकोटीको तस्बिरलाई ‘महान पथगामी’ योद्धाका रुपमा क्यप्टेन यज्ञबहादुर थापाकै लहरमा झुण्ड्याएर सजाउनु पर्ने ठाउँमा कांग्रेस पुगेको छ ।
माओवादीको जितको पनि केही विवेचना गरौं । वर्षायामको छत्रे च्याउजस्तै मेयरको छाता भरतपुर महानगरमा उसले पाएको छ । भरतपुर महानगरपालिकामा २९ वडा छन् । जसमध्ये रेणुको पार्टीले ३ वटा वडा जितेको छ, त्यसमा पनि एकमा एमालेको समर्थनमा । २९ वडा मध्ये १४ मा एमाले र १२ मा कांग्रेसले जितेको छ । रेणु र उनको पार्टीको सामथ्र्य यसैले निर्धारण गर्छ । पिता प्रधानमन्त्री थिए । पितालाई पार्टीको समग्र साखको पनि मतलव भएन । पुत्रीका लागि राज्यशक्तिको साम, दाम, दण्ड, भेद सबै पिताले प्रयोग गरे र उनले त्यसवापत मेयर पाइन् ।
भरतपुर महानगरको मेयरमा ‘पराजित’ भएका उम्मेदवार देवी ज्ञवाली र एमाले समर्थकहरुले पनि स्पष्ट रुपमा बुझ्नु पर्ने केही विषय छन् । देवी ज्ञवालीले बहालवाला प्रधानमन्त्रीकी पुत्रीसँग चुनाव लड्नु परेकाले मात्र होइन, निर्वाचनका सामान्य सिद्धान्त मिचेर आएको सिंगो राज्यसत्ता र निर्वाचन आयोगसँग समेत चुनाव लड्नु परेको थियो

। भरतपुरको चुनावमा निर्वाचन आयोग दुई उम्मेदवारबीच रेफ्री थिएन, आफैं उम्मेदवार थियो । बहालवाला प्रधानमन्त्री र हुनेवाला प्रधानमन्त्री पनि आफैं उम्मेदवार थिए । राज्यको ढुकुटी आफैं देवी ज्ञवालीको प्रतिद्वन्द्व बनेर भरतपुरका सडकमा उत्रेको थियो । देवीले जनसमर्थनको बलमा मात्रै चुनाव लडे, जेठ १४ गते रातीसम्म जिते पनि । त्यसपछिका कपटहरुमा उनी उपारजित भए ।
‘पराजित’ भएर देवी ज्ञवालीले जितेका केही विषयहरु छन् । सत्तारुढ कांग्रेसले माओवादमा लगेर विसर्जन गरेको लोकतान्त्रिक मुल्यपद्दतिको रक्षा गर्ने विश्वासिलो शक्ति आफूलाई सावित गर्न सकेकोमा देवी र उनको पार्टीलाई वधाई दिनै पर्छ । दोस्रो कुरा प्रक्रियालाई स्वीकार गरिसकेपछि पुन निर्वाचनको नतिजालाई अस्वीकार गर्ने काम देवी र एमालेले गर्नु हुँदैन, गरेका छैनन् पनि । मेयर हारेर लोकतान्त्रिक मुल्यपद्दतिका पक्षमा उभिएका देवीले परिणामलाई स्वीकार गरिसकेपछि उनीसँग एउटा सुविधा भने जहिलेसुकैलाई छ । लोकतन्त्रमा निर्वाचन पद्दतिको यस्तो चीरहरणका विरुद्ध उनले आजीवन प्रश्न उठाउन पाउँछन् । त्यस प्रश्नको सामना गर्दैगर्दा नेपाली कांग्रेस भने हिटलरको पोल्याण्ड विजययात्रामा निस्केको हुनेछ । कांग्रेसले हत्या गर्न खोजेको र कांग्रेसकै विचारसँग मेल खाने मुल्य जोगाउन सफल भएकामा देवी ज्ञवालीलाई वधाई !