‘भारतविरुद्धको खेल बहिष्कार गर्नुपर्छ’

287
views

एजेन्सी, कराँची । पाकिस्तानका पूर्वकप्तान जाबेद मियाँदादले अन्तराष्ट्रिय क्रिकेट काउन्सिल (आइसिसी) ले आयोजना गर्ने इभेन्टमा पाकिस्तानले भारतविरुद्ध खेल्न नहुने धारणा राखेका छन् । छिमेकी भारत पाकिस्तानसँग खेल्न चाहँदैन तर पाकिस्तानले मात्र प्रतिस्पर्धा गर्ने चाहना राख्नु दुभाग्र्यपूर्ण रहेको उनले बताए । ‘भारत खेल्न चाहँदैन भने हामीले मात्र किन प्रतिस्पर्धा गर्ने ?’ प्रश्न राख्दै मियाँदादले भने, ‘हामीले आइसिसीले आयोजना गर्ने प्रतियोगितामा समेत भारतविरुद्ध खेल बहिष्कार गर्नुपर्छ ।’
प्रतिष्ठा रक्षा गर्नुपर्ने
पाकिस्तानले पनि आफ्नो अस्तित्वअनुसार निर्णय गर्नुपर्ने मियाँदादको भनाइ छ । आइसिसीद्वारा आयोजित प्रतियोगितामा भारतसँग प्रतिस्पर्धा गर्दा पाकिस्तानको राष्ट्रियतामाथि नै प्रश्न उठेको उनले बताए । ‘हामी छिमेकी राष्ट्रविरुद्ध प्रतिस्पर्धा गरिरहँदा राष्ट्रियतासमेत बिर्सिएका छौँ, पाकिस्तानले अब कठोर निर्णय लिनुपर्छ,’ पाकिस्तानका लागि १ सय २४ टेस्ट खेलेका मियाँदादले भने, ‘मलाई थाहा छैन, हाम्रो बोर्ड भारतसँग प्रतिस्पर्धा गर्न पाउँदा किन खुसी हुन्छ ।’
नीति बनाउन आवश्यक
मियाँदादले भारत आफ्नो नीतिमा अडिक रहेको दाबी गरेका छन् । सम्बन्ध सुधार नहुँदासम्म भारतले पाकिस्तानसँग घरेलु तथा तटस्थ भूमिमा प्रतिस्पर्धा नगर्ने नीति बनाएको छ । पाकिस्तान क्रिकेट बोर्ड (पिसिबी) ले त्यस्तो केही नीति नबनाएको आरोप उनले लगाए । ‘भारत आफ्नो प्रतिष्ठाअनुसार अगाडि बढ्छ तर पिसिबीलाई केही मतलब छैन,’ पिसिबीतर्फ इंगित हुँदै मियाँदादले भने, ‘अब हामी पछाडि हट्नुपर्छ र जबसम्म भारत हाम्रो भूमिमा आएर प्रतिस्पर्धा गर्दैन, त्यसवेलासम्म खेल बहिष्कार गर्नुपर्छ ।’
आइसिसीलाई दबाब
पाकिस्तानले भारतसँग प्रतिस्पर्धा नगरेको अवस्थामा आइसिसी दबाबमा आउने मियाँदादको भनाइ छ । उनी भन्छन्, ‘जब हामी प्रतिस्पर्धा गर्दैनौँ, त्यसवेला आइसिसी घाटामा जान्छ, किनभने भारत र पाकिस्तानबीच खेलबाट आइसिसीले धेरै फाइदा लिन्छ,’ तर्क प्रस्तुत गर्दै उनले भने । भारत र पाकिस्तानबीच खेल नहुँदा विश्व क्रिकेटमै हलचल हुने उनले बताए । ‘संसारको कुनै पनि कुनामा भारत–पाक खेल हेर्न चाहन्छन्, त्यो हुन सकेन भने विश्व क्रिकेटमै खल्लोपन आउनेछ,’ उनले भने ।
समान व्यवहार हुनुपर्ने
भारतले एकपक्षीय रूपमा निर्णय गरेको आरोप मियाँदादले लगाएका छन् । पाकिस्तानले छिमेकी राष्ट्रसँग कहिल्यै पनि अभद्र व्यवहार नगरेको, सधैँ मित्रताको हात अगाडि बढाएको उनको भनाइ छ । तर भारतले कहिल्यै पनि पाकिस्तानको मित्रता स्वीकार नगरेको उनको गुनासो छ । ‘हामी चाहन्छौँ आइसिसीले पाकिस्तानलाई समान व्यवहार गरोस्, एकपक्षीय रूपले हेर्नु भएन,’ आइसिसीको कार्यशैलीबाट असन्तुष्ट देखिएका मियाँदादले भने, ‘यो विषयमा आइसिसीको कार्यकारी कमिटीले पनि बोल्नुपर्छ किनभने आइसिसीको बोर्ड सदस्यमा भारतको जस्तै पाकिस्तानको पनि उत्तिकै अधिकार छ ।’
२०१२ मा भारत जानु गल्ती
सन् २००९ मा इस्लामाबादमा श्रीलंकाली टोली सवार बसमाथि आतंककारीले गोली चलाएका थिए । त्यहाँ कुनै अप्रिय घटना भने भएन । यसैगरी, मुम्बई आक्रमणमा पनि पाकिस्तानको बाटो हुँदै मुम्बई आएका आतंककारी होटेल ताजमा आक्रमण गरेका थिए । यी दुई घटनाका कारण भारतीय क्रिकेट बोर्ड (बिसिसीआई) ले पाकिस्तानसँग एकपक्षीय रूपमा क्रिकेट नखेल्ने घोषणा र्गयो । दुईबीच सम्बन्ध सुधार्न पाकिस्तानले सन् २०१२ मा भारत भ्रमण र्गयो । त्यो भ्रमण नै पाकिस्तानको ठूलो गल्ती भएको मियाँदादले विश्लेषण गरेका छन् । ‘सम्बन्ध सुधार्न हेतु नै हामी भारतमा गयौँ तर मेरो विचारमा त्यो हाम्रो अहिलेसम्मकै ठूलो गल्ती हो,’ उनले भने ।