अमेरिकी द्वीप गुआममाथि हमला गर्ने तयारीमा उत्तर कोरिया

1369
views

एजेन्सी । उत्तर कोरियाले अमेरिकी प्यासिफिक क्षेत्रको द्वीप गुआममा मिसाइल हमला गर्ने तयारी रहेको जनाएको छ । गुआम पश्चिमी प्रशान्त महासागरको एक अमेरिकी द्वीप हो । उत्तर कोरियाको सरकारी मिडियाले गुआम द्वीपमा मिसाइल आक्रमणबारे सोचिरहेको जनाएको हो ।
उत्तर कोरियाको सरकारी मिडियाले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई प्रतिबन्धको कडा मूल्य चुकाउनुपर्ने चेतावनी दिएको केही घन्टामा नै एक सैनिक बयान सार्वजनिक गरेको हो ।
उत्तर कोरियाको सरकारी समाचार एजेन्सीले भनेको छ, ‘गुआममाथि मध्यमदेखि लामो दुरीको मिसाइल हमलाको बारेमा विचार भइरहेको छ ।’ गुआममा अमेरिकी सामरिक बम बर्षक विमानको अड्डा रहेको छ ।
उत्तर कोरियाको भनाईले दुई देशबीच खतरनाक तनावलाई दर्शाउछ । हालै संयुक्त राष्ट्रसंघले उत्तर कोरियामाथि थप कडा प्रतिबन्ध लगाएको थियो । उत्तर कोरियाले भने आफूमाथि लागेको प्रतिबन्ध सम्प्रभुतामाथिको उल्लंघन भएको भन्दै यसको मूल्य चुकाउनुपर्ने बताउँदै आएको छ ।
बुधबार उत्तर कोरियाको समाचार एजेन्सी केसीएनएले गुआममाथि हमलाको तयारी रहेको खुलासा गर्दैै सो द्वीपको चारैतर्फबाट हमलाको तयारी भएको जनाएको छ । यसमा उत्तर कोरियामा नै बनेको मिसाइल ह्वाङसोंग–१२ को प्रयोग हुनसक्ने बताइएको छ ।
उत्तर कोरियाले मंगलबार जारी गरेको सैन्य विज्ञप्तिमा गुआममाथि आक्रमणको तयारी रहेको बताइएको हो । उत्तर कोरियाको यो भनाई गुआममा अमेरिकी सैन्य अभ्यास भएको खबरपछि आएको हो ।
उत्तर कोरियाको यो आक्रमक विज्ञप्तिपछि दुई देशबीचको सम्बन्ध झनै बिग्रने अनुमान गरिएको हो । उत्तर कोरियाले ५ पटक परमाणु बमको सफल परीक्षण गरिसकेको छ ।
यसका साथै गत जुलाईमा अन्तरमहादेशीय ब्यालिस्टिक मिसाइल समेत परीक्षण गरेको थियो । उसको यो मिसाइलले अमेरिकासम्म मार हान्न सक्ने बताइएको छ ।
मंगलबारमात्रै अमेरिकी मिडियामा उत्तर कोरियाले परमाणु हतियार बनाइसकेको र उसको मिसाइल परमाणु हतियारबाट लैस हुने क्षमताको रहेको रिपोर्ट प्रकाशित भएको छ ।
वासिंगटन पोस्टमामा छापिएको एक रिपोर्टमा अमेरिकाले सोचेकोभन्दा धेरै छिटो अमेरिकालाई निशाना बनाउने प्रकारका परमाणु हतियारबाट लैस मिसाइल विकास गरिरहेको छ । जापानी सरकारले पनि एक श्वेतपत्र जारी गर्दै उत्तर कोरियासँग परमाणु हतियार रहेको बताएको छ । राष्ट्रपति ट्रम्पले उत्तर कोरियालाई धम्की दिँदै भनेका छन्, ‘अमेरिकालाई चेतावनी दिन बन्द गर अन्यथा अहिलेसम्म कसैले कल्पना नै नगरेको हमलाको सामना गर्नुपर्नेछ ।’