पैरेबेंसी पहिरोमा पुरिएका चारैजनाको शव निकालियो

571
views

गमला लामा
रसुवा, २५, श्रावण । रसुवाको उत्तरगया गाउँपालिका–४ पैरेबेंसीमा अविरल वर्षासँगै गएको पहिरोमा परी हराइरहेका चारैजनाको शव भेट्टिएको छ । आइतबार राति बस्ती माथिबाट पहाड बगेर घर पुरिँदा हराइरहेका धर्मबहादुर थापामगरको शव मंगलबार बेलुका भटिएको छ । सुरक्षाकर्मीसहितको उद्धारकर्मीको टोलीले स्काभेटर प्रयोग गरी पहिरो हटाएपछि ७५ वर्षका थापामगरलाई पहिरोले पुरिएको उनको घरबाट शव निकालेको रसुवाका प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक फणीन्द्र प्रसाइँले जानकारी दिनुभयो । पहिरोमा परेका अन्य तीनजनाको शव सोमबार नै निकालिसकिएको छ । पहिरोमा परेर धर्मबहादुरसहित उनकी बुहारी ३३ वर्षकी मुना, नाति चार वर्षका रवीन र उनीहरुको घरमा काम गर्ने सहयोगी ७८ वर्षका भक्तबहादुर नगरकोटीको ज्यान गएको छ । घाइते भएका चारजनाको स्वास्थ्य अवस्था सामान्य रहेको अस्पतालले जनाएको छ ।
पहिरोपछि घर पुरिएका १५ परिवार र जोखिममा रहेका १२ परिवार गरी २७ परिवारलाई उद्धार गरी नुवाकोटको शान्तिबजारमा रहेको माथिल्लो त्रिशूली थ्री ‘ए’ जलविद्युत् आयोजनाको आवासगृहमा स्थानान्तरण गरिएको छ ।