५२ बिघामा फैलिएको नाढीमन तालको माछा स्थानीयले एकैछिनमा लगे

911
views

सर्लाही, २६, श्रावण । नेपाली सेनाले निर्माण गरी हस्तान्तरण गरेको सर्लाहीको चन्द्रनगर गाउँपालिकाको ५२ बिघामा फैलिएको नाढीमन तालको माछा बुधबार स्थानीयले एकैछिनमा लगेका छन् । तालको माछा बेचेर गाउँपालिकालाई करिब ५० लाख आम्दानी हुने अनुमान थियो । तर, स्थानीयले एकैपटक ताल खाली गराइदिएका हुन् । तालको माछा चोरी भइरहेको सूचना पाउनासाथ इलाका प्रहरी कार्यालय केशरगन्ज र जिल्ला प्रहरी कार्यालय मलंगवाबाट प्रहरी खटिएको थियो । तालमा पुग्दा करिब हजार स्थानीयले धमाधम माछा निकाल्दै गरेको प्रहरी निरीक्षक अनिलकुमार पौडेलले बताए । पौडेलले भने, ‘हामीले सबैलाई भगायौँ । माछा मार्न चन्द्रनगरसहित छिमेकी गाउँका स्थानीयसमेत जम्मा भएका थिए ।’
(नजिकै खेत भएका किसानले रोपाइँ गर्न पानी लगेकाले केही दिनदेखि तालमा पानी कम भएको थियो । तालमा पानी कम भएको मौकामा स्थानीयले माछा उठाएका हुन् । माछा मार्ने जाली मात्र होइन लामखुट्टेको झुल र तन्दासमेत बोकेर स्थानीय बासिन्दा माछा सोहर्न आएका थिए । यसमा ताल संरक्षण समितिका पदाधिकारी तथा स्थानीय बासिन्दाकै संलग्नता रहेको प्रहरीको भनाइ छ । उक्त ताल नेपाली सेनाले पुनःनिर्माण र विस्तार गरी स्थानीय जनतालाई हस्तान्तरण गरेको ताल हो । राष्ट्रपति चुरे तराई मधेस संरक्षण विकास समितिको परियोजनाअन्तर्गत नेपाली सेनाले उक्त तालको मर्मत सम्भार, पुनःनिर्माण तथा विस्तार गरेको थियो ।