सत्तारुढ दल र राजपा नेपाल संविधान संशोधन प्रस्तावको प्रक्रियामा सहमत

260
views

नवदृष्टि संवाददाता
काठमाण्डौ, २७, श्रावण । सत्तारुढ दल र राजपा नेपाल संविधान संशोधन प्रस्तावलाई प्रक्रियामा लैजान सहमत भएका छन् । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा शुक्रबार बसेको सत्तारुढ दल र राजपा नेपालका शीर्ष नेताहरुको बैठकमा संसदमा विचाराधिन संविधान संशोधन विद्येयकलाई प्रक्रियामा लैजाने सहमति भएको हो । संशोधन प्रस्ताव अघि बढाउने सहमति भएसँगै राजपा नेपाल प्रदेश नम्बर दुईमा असोज २ मा हुने स्थानीय तहको निर्वाचनमा सहभागी हुन पनि सहमत भएको छ । कांग्रेसका बरिष्ठ नेता रामचन्द्र पौडेलले संविधान संशोधन प्रस्तावलाई आइतबारदेखि प्रक्रियामा लैजाने सहमति भएको बताए । ‘राजपा नेपालको माग अनुसार संविधान संशोधन प्रस्तावलाई अघि बढाउने निष्कर्षमा पुगेका छौं। आइतबारदेखि संसदमा विधाराधिकन विधेयकलाई प्रक्रियामा लगिनेछ,’ पौडेलले भने ।
राजपा नेपालका अध्यक्ष मण्डलका सदस्य शरतसिंह भण्डारीले तीन बुँदे सहमति अनुसार संविधान संशोधन प्रस्ताव पारित गर्न संसदमा लैजाने सहमति जुटेको बताए । उनले भने,‘हामीले संविधान संशोधनलाई पहिलो मुद्दा बनाएका छौं । भण्डारीले संविधान संशोधन प्रस्तावलाई केही दिनमै सरकारले संसदमा अघि बढाउने बताए । ‘संशोधन प्रस्ताव पारित हुने अवस्था हामीले देखेका छौं ।
संशोधन प्रस्ताव फेल भए राजपा चुनावमा जान्छ कि जाँदैन भन्ने पत्रकारहरुको प्रश्नमा भण्डारीले भने ‘हामीलाई के विश्वास छ भने राप्रपासहित एमालेले पनि संशोधन विधेयकलाई पास गर्न सहयोग गर्छ । मैदानमा उत्रिएपछि पास, फेल जे भएपनि खेलको नियम मान्न तयार छौं ।’
सत्तारुढ दल नेकपा माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले संविधान संशोधन प्रस्तावलाई प्रक्रियामा लैजाने सहमति भएसँगै राजपा चुनावमा सहभागी हुने बताए । उनले संशोधन प्रस्तावमाथि संसदमा केहीदिनमै छलफल सुरु गरेर मतदानमा लगिने बताए ।
राजपा नेपालका अर्का नेता अनिल झाले सरकारले संशोधन प्रस्तावका पक्षमा दुई तिहाइ बहुमत पुर्याउने प्रतिबद्धता जनाएकाले आफूहरु प्रक्रियामा लैजान सहमत भएको बताए। ‘सत्तारुढ दल र प्रधानमन्त्रीले संशोधन पास गराउन दुई तिहाइ बहुमत जसरी पनि जुटाउँछौं भनेपछि हामी पछि हट्न मिलेन । संशोधन प्रस्ताव पारित हुन्छ आशा गरौं,’ उनले भने । असार १४ गतेका लागि तोकिएको निर्वाचनको मितिमा राजपा निर्वाचनमा सहभागी नहुने बताएपछि सरकारले प्रदेश नम्बर २ मा असोज २ गतेका लागि निर्वाचन तय गरेको थियो ।