ब्राजिलियन स्ट्राइकर नेमारले आगामी आइतबार आफ्नो नयाँ क्लबबाट ‘डेब्यु खेल खेल्ने

1766
views

साउन २८, पेरिस विश्वकीर्तिमानी रकममा स्पेनी क्लब बार्सिलोना छाडेर फ्रान्सेली क्लब पेरिस सेन्ट जर्मन ९पीएसजी० पुगेका ब्राजिलियन स्ट्राइकर नेमारले आगामी आइतबार आफ्नो नयाँ क्लबबाट ‘डेब्यु’ खेल खेल्ने भएका छन् । पीएसजीले शुक्रबार नेमारको स्थानान्तरणको विषयमा बार्सिलोनाबाट अनुमतिपत्र प्राप्त गरेकाले उनी आइतबार नयाँ क्लबबाट खेल्न स्वतन्त्र भएका हुन् ।
यसअघि स्पेनिस फुटबल महासंघले स्थानान्तरण पूरा भएकोबारे अन्तर्राष्ट्रिय फुटबल महासंघ ९फिफा० मार्फत बनाउनुपर्ने अन्तर्राष्ट्रिय स्थानान्तरणसम्बन्धी प्रमाणपत्र नपठाएका कारण पीएसजीमा नेमारको ‘डेब्यु’ खेल अन्यौलमा परेको थियो । सोही प्रमाणपत्र प्राप्त नभएका कारण नेमारले फ्रान्सेली लिगमा पीएसजीको पहिलो खेल गुमाएका थिए । लिगअन्तर्गत आगामी आइतबार हुने गुइनगाम्पविरुद्धको खेलमा ‘डेब्यु’ गर्न अब नेमार स्वतन्त्र छन् ।
नेमार यसै साता बार्सिलोनाबाट २२ करोड २० लाख युरोमा पीएसजीमा आबद्ध भएका हुन् । उनको अनुबन्धसँगै हौसिएका पीएसजीका फ्यानले नेमारलाई अहिलेसम्म मैदानमा देख्न पाएका छैनन् । पीएसजीले गत शनिबार नेमारको अनुपस्थितिमै एमिन्सलाई २–० गोलले पराजित गरेको थियो । २५ वर्षीय नेमारले उक्त खेल मैदानबाहिर बसेर हेरेका थिए ।
‘स्थानान्तरण पूरा भएकोबारे फिफाले दिएको प्रमाणपत्र स्पेनिस फुटबल महासंघमार्फत फ्रान्सेली फुटबल महासंघाई प्राप्त भएको छ । फ्रान्सेली फुटबल महासंघले फ्रान्सेली लिग वान फुटबल आयोजना गर्ने फ्रेन्च प्रोफेसनल फुटबल लिगलाई उक्त पत्र उपलब्ध गराएपछि नेमार हाम्रो क्लबबाट खेल्न स्वतन्त्र छन्’, पीएसजीका एक अधिकारीले भनेका छन् ।
नेमारलाई भित्र्याउन पीएसजीले ठूलो रकमको प्रस्ताव गरेसँगै बार्सिलोनाले त्यसको विरोध गर्दै आएको थियो । पीएसजीले युरोपेली फुटबल महासंघ ९यूईएफए० को फाइनान्सियल फेयर प्लेको बन्देज तोडेको आरोप बार्सिलोनाले लगाउने गरेको छ । बार्सिलोनाले त्यस सम्बन्धमा आफूले पीएसजीविरुद्ध यूईएफएमा उजुरी गर्ने चेतावतीसमेत दिएको थियो ।
यूईएफएको फाइनान्सियल फेयर प्ले नियमअनुसार कुनै पनि क्लबले नयाँ खेलाडी भित्र्याउँदा आफ्नो आम्दानीले भ्याउनेभन्दा बढी रकम खर्च गर्न पाइँदैन । राम्रो खेलाडी भित्र्याउन क्लबहरूले ऋणमा समेत ठूलो रकम खर्च गर्दा खेलाडी र अन्य कर्मचारीलाई तलब दिन नसक्ने तथा क्लब नै धराशयी हुने अवस्था आएपछि यूईएफएले फाइनान्सियल फेयर प्लेको बन्देज लगाएको हो । पीएसजीले भने आफूले नियमभित्र रहेर नै नेमारको स्थानान्तरण प्रक्रिया सम्पन्न गरेको दाबी गरेको छ ।