टेलिकमको टावरले काम नगरेपछी गुल्मी मुसिकोट र बागलुङको केहि क्षेत्रमा संचारसम्पर्क बिच्छेद

1778
views

बागलुङ, ३०, साउन । छिमेकी जिल्ला गुल्मीको मुसिकोट नगरपालिका ७ वामी टक्सारमा रहेको नेपाल टेलिकमको टावरले काम नगरेपछी बागलुङ जिल्लाको साविक रिघा, सिसाखानी, दगातुंडाँडा सहित गुल्मी जिल्लाको मुसिकोट नगरपालिका क्षेत्रमा संचार सम्पर्क बिच्छेद भएको छ ।
नेपाल टेलिकमका जीएसएम, सीडीएमए, ल्याण्डलाईन, वाईम्याक्स, एडीएसएल सेवा ठप्प बनेको छ । सबैका मोवाईल स्वीच अफ छन् । एफएम रेडिया बजेका छैनन भने वनलाईन समाचार अपडेट हुन छोडेका छन् । अविरल वर्षा र पहिरोले पुराएको नोक्सानीका बारेमा समेत गाउँगाउँमा सम्पर्क हुन नसकेपछी उद्धार र राहत कार्य प्रभावित बनेको छ ।
वामीटक्सार नजिक रहेको दरमखोला उपल्लो र तल्लो दुबै जल विद्युत आयोजनाहरु बाढी र पहिरोले पुरिएपछी चार दिन देखी विद्युत आपूर्ति बन्द छ । गुल्मी वामी टकसार देखी आगोपार्ने अर्लाङकोट हुदै गल्कोट हटिया जोड्ने मोटरबाटोबाट खसेको पहिरो र दरमखोलाको बाढीले पुरिएका यी दुई विद्युत आयोजना मर्मत गर्न अझै केहि दिन लाग्ने स्थानीयले बताएका छन् ।
नेपाल टेलिकम कार्यालय गुल्मीका प्रमुख उमानथ पोखरेलसंग सम्पर्क राख्दा उनले टेलिकमको टावरमा ब्यकअप नभएकोले त्यसलाई सन्चालन गर्न जेनरेटर चाहिने बताउदै आवश्यक क्षमताको जेनेटर भाडामा पाउन सकिने अवस्था नरहेकोले अर्को बिकल्प नभएको जानकारी दिए । विद्युत आयोजना सुचारु भएर विद्युत आपूर्ति भएमात्र टावरले काम दिने उनको भनाई थियो ।