राजनीतिक आधारमा नियुक्त अवधि सकिएका कर्मचारीलाई हाजिर गराउँदै जिसस पर्वत

347
views

महेन्द्र जिसी
पर्वत, ३१, श्रावण । तात्कालिन जिल्ला विकास समिति अहिलेको जिल्ला समन्वय समिति पर्वतले राजनीतिक आधारमा नियुक्ति भई अवधि पुरा भएका कर्मचारीहरुलाई हाजिरी गराएको छ । स्थानीय तहको निर्वाचनपछि कार्यान्वयमा आएको पाँच महिना पुगिसक्दा पनि जिल्ला समन्वय समिती पर्वतले कर्मचारी व्यवस्थापन गर्न सकेको छैन ।
आयोगले स्थानीय तहमा कार्यान्वयनको लागि चालु अर्थिक वर्षको शुरुदेखि नै स्थानीय तहमा खटाउन निर्देशन गरेको भएपनि जिल्ला समन्वय समिति पर्वतले राजनीतिक आश्थाका आधारमा हाजिरी गराएको स्रोतले बताएको छ ।
समन्वय समितिले प्राविधिक शाखाका कर्मचारी स्थानीय तहमा खटाईसकेको भएपनि स्थानीय निकायका कर्मचारीको व्यवस्थापनमा भने आलटाल गरिरहेको छ । आन्तरीक श्रोत मार्फत सेवा सुविधा लिँदै आएका तीन अधिकृत सहित दशजना कर्मचारीको अझै व्यवस्थापन हुन सकेको छैन् । दरबन्दी नभएका कर्मचारीहरुलाई व्यवस्थापन नगरिएको जिल्ला समन्वय समिति पर्वतले जनाएको छ । साउनको १५ सम्म सबै स्थानीय निकायमा कर्मचारी खटाईसक्नुपर्ने भएपनि समितिको किचलोको कारण कर्मचारीहरु स्थानीय तहमा नपुगेको कार्यालयले जनाएको छ ।
स्थानीय विकास अधिकारी विष्णु प्रसाद भुसालका अनुसार आन्तरीक श्रोत मार्फत सेवा सुविधा लिईरहेका कर्मचारीहरुको सम्बन्धमा ठोस निर्णय नआएका कारण व्यवस्थापनमा ढिलाई भएको हो । भुसालले भन्नुभयो ‘केही प्राविधिकहरुलाई स्थानीय तहमा पठाईसकीएको र स्थानीय तहबाट माग भइ आएका स्थानीय तहमा कर्मचारी व्यवस्थापन भइरहेको छ ।’
असार मसान्तपछि कार्यकाल सकिएका कर्मचारीको हाजिरी निसर्त रुपमा गराइदै आइएको स्थानीय विकास अधिकारीको भनाई छ । स्थानीय निकायका कार्यक्रमहरु स्थानीय तहमा पुगेर कार्यक्रम सञ्चालनको तयारीमा रहेको भएपनि समन्वय समितिको आन्तरीक श्रोत मार्फत सेवा सुविधा लिने कर्मचारीको टुगो नलागेको हो ।
तीन सामाजिक परीचालन अधिकृत सहित दशजना कर्मचारीको सेवा अवधि सकिइसकेको छ । तर राजनीतिक आश्थालाई हेर्दै जिल्ला समन्वय समिति पर्वतले हाजिर गराएर कर्मचारीलाई सुरक्षित गर्दै आएको छ । कर्मचारीहरुको दरवन्दीको जानकारी नआएका कारण पनि अन्यौल बढेको भन्दै स्थानीय विकास अधिकारी समेतले व्यवस्थापनलाई आलटाल गरिरहनुभएको स्रोतको दाबी छ ।
तात्कालिन जिल्ला समिति हुँदा काम गरिरहेका कर्मचारहिरु स्थानीय तहमा पुग्नुपर्नेमा अझै स्थानीय तहमा पुगेका छैनन । उनीहरुले नगरपालिकामा नै व्यवस्थापन गर्नुपर्ने भन्दै बार्गेनिङ गरिरहेको स्रोतको भनाई छ । सात स्थानीय तह रहेको पर्वतमा सम्पन्न स्थानीय तह कुश्मानगरपालिका र फलेवास नगरपालिका रहेका कारण गाउँपालिकाहरुमा कर्मचारीहरु जान नमानेको बताइएको छ ।