नयाँ वर्ष नेपाल राष्ट्र र नेपाली राष्ट्रियताको भावना हो

1071
views

डा. जगमान गुरुङ नेपालीलाई जोड्ने नयाँ वर्ष

विवेचना गर्दा ज्योतिषशास्त्रको केही चर्चा गर्न आवश्यक हुन्छ । आकाशमा असंख्य तारा छन् । तीमध्ये २८ वटा तारा महत्वपूर्ण छन् । ती महत्वपूर्ण तारालाई नक्षत्र भनिन्छ । ती नक्षत्र आ–आफ्ना समूहमा रहेका हुन्छन् । नक्षत्रको समूहलाई राशि भनिन्छ । ती तारा र नक्षत्रका अतिरिक्त आकाशमा अरू पनि आकाशीय पिण्ड छन्, जसलाई ग्रह भनिन्छ ।

ती ग्रह एउटा–एउटा नक्षत्रको बाटो भएर प्रत्येक राशिमा विचरण गर्छन् । ग्रहहरूको घुम्ने बाटोलाई क्रान्तिवृत्त (अर्बिट) भनिन्छ । आकाशमा रहेका ग्रह, नक्षत्र र ताराहरूको अध्ययन गर्ने विद्या खगोलशास्त्र (एस्ट्रोनोमी) र आकाशका ती ग्रह, नक्षत्र तथा ताराहरूको पृथ्वीमा कस्तो प्रभाव पर्छ र त्यसको फल कस्तो हुन्छ भनेर अध्ययन गर्ने विद्या ज्योतिषशास्त्र (एस्ट्रोलोजी) हो । यसरी खगोल र भूगोलको अन्तर सम्बन्धबाट पृथ्वीमा ऋतु परिवर्तन भइरहन्छ ।

आकाशमा रहेका ग्रहमध्ये सूर्य ज्यादै महत्वपूर्ण हो । अतः ग्रहहरूको समूहलाई सौर्यमण्डल भनिन्छ । सूर्य प्रत्येक महिना एउटा–एउटा राशिमा बस्छ । सूर्यले एउटा राशिबाट अर्को राशिमा संक्रमण गर्ने अर्थात् सर्ने दिनलाई संक्रान्ति भनिन्छ । सूर्य एउटा राशिमा २९ अंशदेखि ३२ अंशसम्म बस्छ । अतः सूर्यको गतांशलाई गते भनिन्छ ।

भूगोलवेत्ता तथा ज्योतिर्विदहरूले पृथ्वीमा तीनवटा रेखाको कल्पना गरेका छन् । पृथ्वीको मध्यभागमा कल्पना गरिएको रेखालाई भूगोलको भाषामा भूमध्यरेखा र ज्योतिषशास्त्रको भाषामा विषुवत्रेखा (इक्वेटर) भनिन्छ । पृथ्वीको भूमध्यरेखादेखि दक्षिणतिरको भाग दक्षिणी गोलाद्र्ध र भूमध्यरेखादेखि उत्तरतिरको भाग उत्तरी गोलाद्र्ध हो । दक्षिणी गोलाद्र्धको दक्षिणतिरको टुप्पो दक्षिणी ध्रुव र उत्तरतिरको टुप्पो उत्तरी ध्रुव हो । भूमध्यरेखा र दक्षिणी ध्रुवको बीचमा एउटा रेखाको कल्पना गरिएको छ, जसलाई मकर रेखा (ट्रपिक अफ केप्रिकर्न) भनिन्छ । यसैगरी भूमध्यरेखा र उत्तरी ध्रुवको बीचमा पनि एउटा रेखाको कल्पना गरिएको छ, जसलाई कर्कटरेखा (ट्रपिक अफ कान्सर) भनिन्छ ।

अभिनव वर्ष वैशाख १ गते केवल शास्त्रसम्मत नयाँ वर्ष मात्र नभएर यस पर्वले समस्त नेपालीको मानसिक सम्मिलन गराएको छ । मानसिक सम्मिलन नै नेपाल राष्ट्र र नेपाली राष्ट्रियताको भावना हो ।

साउन महिनामा सूर्य कर्कट राशिमा बस्छ । अतः साउने संक्रान्तिलाई कर्कट संक्रान्ति पनि भनिन्छ । कर्कट संक्रान्तिदेखि पृथ्वीको उत्तरी गोलाद्र्धमा सूर्यको किरण कम पर्दै जान्छ र दक्षिणी गोलाद्र्धमा सूर्यको किरण बढी पर्न थाल्छ । अतः साउने संक्रान्ति अथवा कर्कट संक्रान्तिदेखि सूर्यको दक्षिणायन प्रारम्भ हुन्छ । यसैगरी माघमा सूर्य मकर राशिमा बस्छ । अतः माघे संक्रान्तिलाई मकर संक्रान्ति पनि भनिन्छ । मकर संक्रान्तिदेखि पृथ्वीको दक्षिणी गोलाद्र्धमा सूर्यको किरण कम पर्दै जान्छ र उत्तरी गोलाद्र्धमा सूर्यको किरण बढी पर्न थाल्छ । अतः माघे संक्रान्तिदेखि सूर्यको उत्तरायन प्रारम्भ हुन्छ । सूर्यको दक्षिणायन र उत्तरायन प्रारम्भ हुने साउने संक्रान्ति र माघे संक्रान्तिलाई अयन संक्रान्ति भनिन्छ ।

कात्तिक महिनामा सूर्य तुला राशिमा बस्छ । अतः कात्तिक संक्रान्तिलाई तुला संक्रान्ति पनि भनिन्छ । साउने संक्रान्तिदेखि सूर्यको अवस्थिति पृथ्वीको दक्षिणी गोलाद्र्धतिर सर्दै जान्छ र कात्तिक संक्रान्तिका दिन सूर्यले विषुवत्रेखा पार गरेर दक्षिणी गोलाद्र्धमा प्रवेश गर्छ । वैशाख महिनामा सूर्य मेष राशिमा बस्छ । अतः वैशाख संक्रान्तिलाई मेष संक्रान्ति पनि भनिन्छ । माघे संक्रान्तिदेखि सूर्यको अवस्थिति पृथ्वीको उत्तरी गोलाद्र्धतिर सर्दै जान्छ र वैशाख संक्रान्तिका दिन सूर्यले विषुवत्रेखा पार गरेर उत्तरी गोलाद्र्धमा प्रवेश गर्छ । अतः सूर्यले विषुवत्रेखा पार गर्ने कात्तिक संक्रान्ति र वैशाख संक्रान्तिलाई विषुवत्संक्रान्ति भनिन्छ ।

ग्रहका आ–आफ्ना राशि, मित्र राशि, शत्रु राशि, उचो राशि र नीचो राशि हुन्छ । सूर्यको आफ्नो राशि सिंह हो । मेष राशि सूर्यको उचो राशि हो र तुला राशिचाहिँ सूर्यको नीचो राशि हो । वैशाखमा सूर्य आफ्नो स्वराशि सिंहराशिदेखि नवौँ भाव मेष राशिमा उचो भएर बसेको हुन्छ । नवौँ भावबाट भाग्य विचार गरिन्छ । दक्षिणायनलाई अधोगति र उत्तरायनलाई उध्र्वगति मानिएको छ । वर्ष भनेको सूर्यको प्रत्यक्ष गति हो । त्यसकारण सौर्यमण्डलका अधिपति सूर्य आफ्नो स्वराशिबाट नवौं भावमा उचो भएर बस्ने र वैशाख १ गतेका दिन सूर्यले मेष राशिमा संक्रमण गरेर विषुवत्रेखा पार गरी पृथ्वीको उत्तरी गोलाद्र्धमा प्रवेश गर्ने हुनाले वैशाख १ गतेका दिन नयाँ वर्ष मानिएको हो । यही नै अभिनव वर्ष वैशाख १ गतेको शास्त्रीय औचित्य हो ।

नेपालमा चान्द्रमास र सौर्यमासअनुसार नयाँ वर्ष मनाउने परम्परा छ । वार्हस्पत्यमानअनुसार साठी संवत्सरको प्रवर्तन चैत्रशुक्ल प्रतिपदाको दिनमा हुन्छ । यस अवसरमा नेपालमा घोडेजात्रा मनाउने परम्परा छ । चैत्रकृष्ण चतुर्दशी अर्थात् पिशाच चतुर्दशी (पाँचह्रे) का दिन भद्रकालीपीठमा लिंगो खडा गरी त्यही राति पृथ्वीको गर्भमा गुप्त रूपमा रहेका महादेवको पूजा गरिन्छ ।

चैत्रकृष्ण औँसीका दिन टुँडिखेलमा घोडा कुदाएर अनिष्ट नाश गरिन्छ । त्यसको भोलिपल्ट चैत्रशुक्ल प्रतिपदाका दिन नयाँ संवत्सरको स्वागत गरिन्छ । घोडेजात्राको अवसरमा काठमाडौंका आठैओटा अष्टमातृकाको खटयात्रा गरिन्छ र असनमा सबै मातृकाको खट पु¥याएपछि घोडेजात्रा सम्पन्न हुन्छ । अघि घोडेजात्राको अवसरमा एकआपसमा ढुंगा हानाहान गर्ने परम्परा थियो । जंगबहादुर राणाको समयदेखि यसरी ढुंगा हान्ने परम्परा बन्द गरिएको हो । आजकल सेनाले अत्याधुनिक हतियार परिचालन गरेर घोडेजात्रा मनाउँछन् किनभने घोडेजात्रा नयाँ वर्षको अवसरमा गरिने सैनिक अभ्यास र युद्धको तयारी हो ।

चैत्रकृष्ण चतुर्दशीलाई पिशाच चतुर्दशी भनिने र घोडेजात्राको अवसरमा ढुंगा हानाहान गर्ने परम्पराबाट यो जात्रा कोरा ढुंगालाई नै आफ्नो हतियारको रूपमा प्रयोग गर्ने पुरानो ढुंगेयुगका पिशाच जातिको समयदेखि चलिआएको बुझिन्छ । पिशाच एउटा प्राचीन जाति हो । उनीहरूको भाषालाई पैशाच भाषा भनिन्थ्यो । पाँच पाण्डव लाक्षगृहमा जान लाग्दा विदुरले युधिष्ठिरलाई पैशाच भाषामा त्यसको संकेत गरेको कुरा यस सन्दर्भमा स्मरणीय छ ।

सौरमासअनुसार वैशाख १ गते बिस्केट जात्रा मनाइन्छ । वैशाख १ गतेभन्दा चार दिनअघि भैरव र भद्रकालीको रथयात्रा शुभारम्भ गरिन्छ । चैत मसान्तको दिन बिस्केटको लिंगो ठड्याइन्छ । वैशाख १ गतेको चार दिनपछि कामकलाको भावनाले भैरव र भद्रकालीको रथलाई एकापसमा जुधाएपछि बिस्केट जात्रा सम्पन्न हुन्छ । बिस्केट विश्वकेतु अर्थात् विश्वध्वज हो । विश्वविजय अथवा विश्वमा शान्ति स्थापना र नयाँ विश्वको संरचनाका लागि बिस्केट जात्रा मनाइएको हो । बिस्केट जात्रा हेर्न काशी विश्वनाथ नेपाल आएको र नेपालका तान्त्रिकले उनलाई यहीँ स्थापना गरेको किंवदन्तीबाट बिस्केट जात्राको गरिमा र महत्व स्पष्ट हुन्छ । यसैगरी वैशाख १ गते सुदूरपश्चिमाञ्चलमा विसु पर्व मनाइन्छ र विभिन्न गेडागुडीबाट तयार पारिएको विरुडा खाने प्रचलन छ । सुदूरपश्चिमको विरुडा र नेवार समुदायको क्वाँटीमा समानता छ । यसरी बिस्केट जात्रा, विसु पर्व, क्वाँटी र विरुडाले नेपालमण्डल र सुदूरपश्चिमलाई समन्वय गराएको छ ।

अभिनव वर्ष वैशाख १ गतेका दिन बाग्मती सभ्यताको मुहान वाग्द्वार, विष्णुद्वार र टोखा सपनतीर्थमा स्नान गरिन्छ । यसैगरी वैशाख १ गते नयाँ वर्षको उपलक्ष्यमा सप्तरीको चन्द्रभागा नदीमा स्नान गर्ने परम्परा छ । नयाँ वर्षको अवसरमा वैशाख १ गते वाग्द्वार, विष्णुद्वार र टोखा सपनतीर्थको स्नान एवं सप्तरी चन्द्रभागा नदीको स्नानले नेपालमण्डल र मधेसलाई जोडेको छ । प्रत्येक वर्ष चैत मसान्तको मध्यराति सिरहाको सलहेस फूलबारीको हरामको रूखमा मालाकारको फूल फुल्छ र वैशाख १ गते सलहेस फूलबारीमा ठूलो मेला लाग्छ । सलहेस दुसाध जातिका हुन् तर मिथिलाञ्चलमा सलहेसलाई महाराजको रूपमा मान्छन् । उनी लोकनायक हुन् । सलहेसका मन्दिरमा दुसाध र दनुवार जातिका पुजारी हुन्छन् । यसमा कुनै जातिभेद हुँदैन । आजकल नेपालमा पश्चिमेली संस्कृति भ्यालेन्टाइन्स डे हाबी हुँदै गएको छ तर आफ्ना प्रेमिकाले सलहेस महाराजलाई चढाएको प्रेमोपहारका सम्बन्धमा भने धेरैलाई थाहै छैन र थाहा भए पनि वास्ता गर्दैनन् । यो दुर्भाग्य हो ।

कास्की, सिकलेसको चोखोपानी तीर्थमा पुस मसान्तको मध्यराति पानीको मूल फुट्छ र त्यसलाई पवित्र पानी मानेर माघ १ गतेका दिन त्यस चोखोपानी तीर्थमा स्नान गर्छन् । पुस मसान्तको मध्यरातमा मूल फुट्ने कास्की सिकलेसको चोखोपानी तीर्थ र चैत मसान्तको मध्यराति फूल फुल्ने सिरहा सलहेस फूलबारीको हरामको फूलले पहाड तथा मधेसलाई जोडेको छ र यसले विज्ञानलाई छक्क पारिदिएको छ । अतः यस्ता अनुपम निधि र सम्पदाको संरक्षणप्रति नेपाली सजग हुनुपर्छ । पर्व एउटै हो तर एउटै पर्वलाई विभिन्न क्षेत्रका विभिन्न समुदायले आ–आफ्नै ढंगबाट मनाउनु नै नेपाली संस्कृतिको प्रमुख विशेषता हो । यसरी अभिनव वर्ष वैशाख १ गते केवल शास्त्रसम्मत नयाँ वर्ष मात्र नभएर यस पर्वले समस्त नेपालीको मानसिक सम्मिलन गराएको छ । मानसिक सम्मिलन नै नेपाल राष्ट्र र नेपाली राष्ट्रियताको भावना हो । अतः अभिनव वर्ष वैशाख १ गते समस्त नेपालीको शास्त्रसम्मत औचित्यपूर्ण राष्ट्रिय पर्व हो ।