बाजुरा जिल्लाका दुईहजार बालबालिकालाई कुपोषण, आईमाम कार्यक्रम सञ्चालित

2310
views

बाजुरा, २, भदौ । बाजुरामा दुई हजार बालबालिका कुपोषित भएको जिल्ला स्वास्थ्य कार्यालय बाजुराको तथ्यांकले देखाएको छ । नौ स्थानीय तहमा रहेका नगरपालिका र गाउँपालिकाका दुई हजार बालबालिका अझै कुपोषित भएको बाजुराका जनस्वास्थ्य अधिकृत तथा सूचना अधिकारी रमेश कुँवरले बताउनुभयो ।
जिल्लामा कुपोषणलाई न्यूनीकरण गर्न स्वास्थ्य कार्यालयले आइमाम कार्यक्रम समेत सञ्चालन गरेको । कुपोषण भएका बालबालिकाका आमालाई पोषिलो खानेकुरा खुवाउनेलगायतका आवश्यक सुझाव सल्लाह दिने गरिएको पनि कुँवरले जानकारी दिनुभयो ।
जिल्ला अन्र्तगतका छ वटा स्वास्थ्य संस्थामा कुपोषित बालबालिकाको उपचार केन्द्र (ओसिटी सेन्टर) सञ्चालन गर्दै आएको बताइएको छ । उपचार केन्द्र जिल्ला स्वास्थ्य कार्यालय बाजुरा, टाँटे स्वास्थ्य चौकी, डोगडी, कोल्टी प्राथमिक स्वास्थ्य केन्द्र, रुगिन स्वास्थ्य चौकी र गोत्री स्वास्थ्य चौकीमा ओसिटी सेन्टर सञ्चालन हँुदै आएको आइमाम कार्यक्रम जिल्ला संयोजक डा उदय प्रकाशले बताउनुभएको छ ।
कुपोषित भएकामध्ये शीघ्र कुपोषण भएका ६०० जना मध्यम खालका एक हजार ४०० जना रहेको जिल्ला स्वास्थ्य कार्यालयको तथ्यांकले देखाएको छ । एक वर्षदेखि पाँच वर्षमुनिका बालबालिकाको पाखुराको जाँच गर्दा उक्त बालबालिका कुपोषित भएको पाइएको हो । जिल्लामा बहुक्षेत्रीय पोषण योजना, आइमाम कार्यक्रम, सुआहारा दोस्रोले पोषणका लागि काम गर्दै आएका छन् । कार्यक्रम सञ्चालन भएपछि कुपोषणको अवस्था घट्दै गएको बहुक्षेत्रयीय पोषण योजनाका कार्यक्रम संयोजक गणेशप्रसाद जोशीको भनाई छ ।