राष्ट्रपति र तीनदलका शीर्ष नेताबीच भेट, उद्धार र राहतलाई उच्च प्राथमिकता दिन राष्ट्रपतिको जोड

655
views

काठमाण्डौ, ३, भदौ । राष्ट्रपति विद्यादेवी भण्डारीले तराई र मधेशको डुबान, पहिरो, व्यवस्थापिका–संसद्मा प्रस्तुत संविधान संशोधन तथा परराष्ट्र नीतिका विषयमा चासो लिदै प्रमुख तीनदलका शीर्ष नेताहरुको ध्यानाकर्षण गराउनुभएको छ । भण्डारीले डुबान तथा पहिरो क्षेत्रमा खोज, उद्धार र राहतलाई उच्च प्राथमिकता दिन र पीडितलाई स्थायी आवासको प्रबन्ध मिलाउनका साथै रोगको संक्रमण फैलिन नदिन र क्षतिको उचित मूल्यांकन गर्दै पुनःस्थापनाका कार्यक्रम शीघ्र सञ्चालनमा ल्याउन सत्ता साझेदार प्रमुख दुई दल तथा प्रमुख प्रतिपक्षीदलका शीर्ष नेतालाई सामूहिक रुपमा आग्रह गर्नुभएको हो । राष्ट्रपति कार्यालय शीतल निवासमा आज सत्ता साझेदार प्रमुख दुई दल नेपाली काँग्रेस र नेकपा (माओवादी केन्द्र) तथा प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) का शीर्ष नेतासँगको छलफलमा सो आग्रह गर्नुभएको हो ।
शिर्ष नेतासँगको बैठकमा काँग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलले पौडेलले राष्ट्रपति भण्डारीले तराई÷मधेशका डुबान, पहिरो, संविधान संशोधन तथा परराष्ट्र नीतिका विषयमा चासो व्यक्त गर्दै यस विषयमा प्रमुख तीनदलका शीर्ष नेतालाई ध्यानाकर्षण गराउनुभएको बताउनुभयो । आसन्न २ नम्बर प्रदेशको निर्वाचनमा लागिरहेको र निर्वाचनमा सबै पार्टीको सहभागिताका लागि वार्ता र संवाद कार्यसमेत जारी रहेको जानकारी राष्ट्रपति भण्डारीलाई गराउनुभएको पौडेलले बताउनुभयो ।
बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाले तराई÷मधेशका डुबान, पहिरो पीडितको खोज, उद्धार तथा राहत वितरणमा सरकारले उच्च प्राथमिकता दिँदै संकटलाई समाधान गर्न सरकार लागिरहेको जानकारी राष्ट्रपति भण्डारीलाई गराउनुभएको थियो । छलफलमा नेकाका सभापति एवं प्रधानमन्त्री देउवा, वरिष्ठ नेता पौडेल, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल, नेता नारायणकाजी श्रेष्ठ तथा नेकपा–एमाले०का अध्यक्ष केपी शर्मा ओली, उपाध्यक्ष वामदेव गौतमको सहभागिता रहेको थियो ।
राष्ट्रपति भण्डारीले सरकार परिवर्तनसँगै परराष्ट्र नीति परिवर्तन हुने अवस्थाले राष्ट्रहित नहुने भन्दै साझा परराष्ट्र नीति ल्याउन शीर्ष नेतालाई सुझाउनुभयो । राष्ट्रपति भण्डारी र तीन दलका शीर्ष नेताका बीचमा दुई घण्टा छलफल भएको थियो ।