नेपाल समदुरीमै रहँदा फाईदा, दुबै छिमेकीको नाडी छामेर चल्नुपर्छ

301
views

बेइजिङ, ४ भदौ । दुवै छिमेकीलाई समदुरीमा राख्नुपर्ने अवस्थाको नेपाल दुवै राष्ट्रको नाडी छामेर बस्नुमै फाईदा हुने देखिएको छ । तर, चिनियाँ उपप्रधानमन्त्रीले नेपाल गएर सबै दलका शीर्ष नेताहरूलाई भेटेर आफ्नो पक्षमा लाग्नू भनेको सुनिएन् । अहिलेसम्मको परिदृश्यले नेपाललाई आफ्नो पक्षमा तानेमा फाइदा हुने चीनको मनशाय देखिएन् ।
भर्खरै चिनियाँ उपप्रधानमन्त्री वाङ याङ नेपालको भ्रमण (साउन ३०– भदौ १) सकेर बेइजिङ फर्किए । अब उनको नेपाल भ्रमणको समीक्षा सरकारी तहमा पनि हुने नै छ । तर विचारणीय कुरा, चीन–भारत दोक्लम विवादमा नेपालको ‘तटस्थता’ को उनले गरेको प्रशंसा पनि एक हो। रणनीतिक महत्वको दोक्लम क्षेत्रमा दुई महिनादेखि चीन र भारतबीच रस्साकस्सी चलिरहेका बेला आर्थिक महारथीका बीचमा रहेको नेपालले कुनै एकको पक्ष लिइदिए मात्रै स्थिति तलमाथि हुनसक्छ ।
अहिलेसम्मको नेपालको प्रस्तुती ‘कतैपट्टी नलाग्ने’ भनेबाट केही हदसम्म सन्तुलित नै हो । नेपालले मध्यस्थता गरेर दुई देशलाई मिलाउन सकेको भए क्षेत्रीय शान्तिका लागि निभाएको भूमिका देखेर विश्वले वाहवाही गथ्र्यो । तर त्यत्रो ल्याकत बनाउन नसकेपनि नेपालसामु कसैका पक्ष–विपक्षमा नलागेर ‘वार्ताद्वारा कुरा मिलाओ’ भन्नुमै सार्थकता झल्किन्छ ।

चिनियाँ उपप्रधानमन्त्रीको नेपाल भ्रमणको ठीक अघि भारतीय विदेशमन्त्री शुष्मा स्वराजले काठमाडौंमा भएको विमस्टेक सम्मेलनका दौरान नेपाललाई आफ्नो पक्षमा लिन खोज्छिन् कि भन्ने चिन्ता थियो, अहिलेलाई त्यो टर्यो। उनले हार्दिकतापूर्वक भुटानी विदेशमन्त्रीको हात समाएबाट नेपाल पनि चिप्लिएला कि जस्तो देखिन्थ्यो। अझै पनि नेपाल चिप्लिन्छ कि भन्ने डर छँदैछ, त्यो हो नेपालका प्रधानमन्त्री शेरबहादुर देउवाको आसन्न भारत भ्रमण।

नेपाली प्रधानमन्त्रीले कुर्सी सम्हाल्ने वित्तिकै भारत भ्रमण नगरेसम्म ‘सपथग्रहण नै नगरेको हो कि’ जस्तो लाग्ने हाम्रो मानसिकता नै भइसकेको छ। भदौ ७ जति जति नजीक आउँदैछ, कतिपय मानिसमा नेपाल फस्ला कि भन्ने डर पनि बढ्दै छ। कारण हो, कुटिल भारसामु नेपालको कमजोर र सोझो छवि। भारत भ्रमणबाट नेपालले दिएर आउने चीज त केही छैन, तर ललाईफकाई गरिएका कुटील चालबाजीमा फस्न भने सजिलै सक्नेछ। हुन त, पुराना सम्झौता कार्यान्वयनमा यो भ्रमण हुने भनिएको छ। केही नयाँ भयो भने ‘दुई भाइ मिलेर एउटै स्वर उराल्नेछौं’ भन्ने पनि हुनसक्छ।
विगतदेखि नै नेपालका प्रधानमन्त्रीले भारतबाट अनेकन् कुरा लिने मात्रै भएको छ। जिन्सी नै जिन्सी थापेर फर्किएजस्तो देखिएपनि अमूर्त ढंगले देशलाई ठूलो नोक्सानी भएकै हुन्छ। आजसम्म नदीनाला बेचिएका, नेपालीका घरबास डुबेका, सिमानाका नेपालीले आन्तरिक शरणार्थीजस्तो भएर बाँच्नुपरेको अनि विहारका कैयौं भारतीयका गोजीमा नेपाली नागरिकता सजिनुको कारण छर्लंङ्गै छ। तसर्थ यसपटक पनि नेपाल कुनै दीर्घकालीन नोक्सानी नव्येहोरिकनै फर्किन्छ भन्नेमा शंका नै छ। अझ नेपालले ‘बफर जोन’ हुनुको नमीठो तीतो पनि सहनुपर्ने हुनसक्छ।
मित्रता त्यतिञ्जेलसम्म गाढा हुन्छ, जबसम्म आपसी अविश्वास टाढा हुन्छ। चिनियाँ उपप्रधानमन्त्रीले नेपाल गएर सबै दलका शीर्ष नेताहरूलाई भेटेर आफ्नो पक्षमा लाग्नू भनेको सुनिएन। यदि गोप्य कोठामा कुनै नेतालाई भनेको भए त्यस्तो कुरा नखोलेर गुपचुप बस्ने हाम्रा नेता नै बेइमान भएको ठानौंला, नत्र अहिलेसम्मको परिदृश्यले नेपाललाई आफ्नो पक्षमा तानेमा फाइदा हुने चीनको मनशाय देखिएन। जे भएपनि सार्वजनिक रूपमा वक्तव्यबाजी गरे अनुरूप नेपालले चीनको प्रशंसा थापेकै हो। भित्रभित्र के मसला पाकिरहेको छ भन्ने त चीनले विस्तारै थाहा पाउला।
हरेक पटक नेपालका प्रधानमन्त्रीको भारत भ्रमणका बेला केही न केही फलदायी वा नेपाल चुक्नेगरी सम्झौता त हुन्छन् नै। यसपटक पनि नेपालका प्रधानमन्त्रीलाई कुर्सीमा बसालीकन, आफू चौकीदार जस्तो उभिएर भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले हस्ताक्षर गराउने नै छन्। त्यो हस्ताक्षर गरिएका पृष्ठहरूमा के लेखिएको हुनेछ भन्ने कुरा मिहिन ढंगले हेरिएन भने शालीन दृश्यले नेपालीको मन कुँडाउने निश्चित छ। नत्र अघिल्ला अघिल्ला सम्झौतालाई हेरेर नेपालीहरू यसरी पश्चात्तापमा जल्नुपर्ने थिएन, संसदका विपक्षीहरू यत्तिकै तात्ने थिएनन्। प्रतिपक्षीको कामै विरोध गर्नु होला तर पनि सही गलत ठम्याउने दृष्टि त हुनुपर्ने हो।
‘अन्तर्रा्ष्ट्रिय तथा क्षेत्रीय मामिलामा दुवै देशले एकमुख भएर बोल्नेछौं’ भनेर भारतले पटक पटक नेपाललाई आफू मातहतमा कज्याउने कोशिस गर्दै आएको हो। समझदारीका बुँदा बुँदा नकेलाउने हो भने नेपालको खैरियत रहनेछैन। यसपटक भारतको दाउ नेपालका प्रधानमन्त्रीलाई कसरी हुन्छ, गोलमटोल फसाउनेमै रहनसक्छ। चीन–भारत विवादले किनारा खोजिरहेको बेला एक भोट मात्रै पायो भने भारतले त्यसको दुरूपयोग गर्नसक्नेछ। कथंकदाचित् नेपालले भारतको ‘हो–मा–हो’ मिलायो भने नेपालको विकासको यात्रा पनि चौपट हुनसक्छ। किनकि ‘एक पेटी एक मार्ग’ को अभियानमा नेपालले आफ्नो सपना बुनेको छ भन्ने कुरा नेताहरूले बुझ्नुपर्ने हुन्छ।
विकासका मामिलामा चीन मात्रै सर्वथा सही वा भारतमात्रै सर्वथा गलत पनि हुन सक्दैनन्। मात्र कसको स्वार्थको पारो कति माथि छ, कसको कति तल छ भन्ने हो। नेपालले दुवै देशको नाडी बराबरी उचाइबाट छाम्नुपर्ने हुन्छ। एउटालाई भड्काएर अर्कोलाई फुर्क्याउँदैमा पनि नेपालले अमनचयन लिन सक्दैन। त्यसैले प्रधानमन्त्रीको भारत भ्रमण नहोउञ्जेलसम्म सचेत नेपालीले ज्ञानी बालक जस्तो भएर बस्नु हुँदैन। भ्रमणबाट फर्किएपछि रडाको मच्चाएर पनि अर्थ हुँदैन भन्ने तर्फ सोचिहाल्नु पर्दछ।