‘म र हाम्रो आन्दोलन’

1281
views

–सबिन खड्का

पुरातन सामान्ती राज्य व्यवस्थाको विरुद्ध कस्तो रुपको आन्दोलन गर्ने, जनयुद्धको थालनी कसरी गर्ने भन्ने बहस राजनीति मा चरम उत्कर्षमा पुग्दै गर्दाको समयमा म यस धर्तीमा जन्मलिने तयारी गर्दै रहेछु । जनयुद्ध थालनीको अन्तिम तयारीको अवस्था र मेरो जन्म हुने समय एउटै परेछ । २०५२ सालमा विधिवत रुपमा जनयुद्ध सुरु हुने बखत म २ वर्षको मात्रै थिए । नेपालको पुर्वी पहाडी जिल्ला दोलखाको जुगूँ कसेरीमा जन्मीएको म, सायद मैले अहो भाग्य ठान्नुपर्छ नेपालको राजनीतिमा जनयुद्ध सुरु गर्न दोलखाको चरिकोटबाट ४२ हजार थान डिटोनेटर भारी मात्रामा जिलेटिन कब्जा गरि तत्कालिन सामान्तवादी राज्य व्यवस्थाको विरुद्ध भुकम्प पैदा गर्ने कार्वाहीका कमाण्डर महान क्रान्तिकारी योद्धा महान सहिद क. रित बहादुर खड्काले जनयुद्धको सुरुवात र नेतृत्व गर्दै  जनयुद्धको तिव्रतम विकास भइरहेको परिवेशमा त्यही परिवारबाट म, हुर्कदै थिएँ । जुगूँ, स्थित कसेरिमा रहेको त्यही घर जहाँ म जन्मदै हुर्कदै‌ थिएँ । त्यो घर दोलखाको ‘माओवादी घर’  थियो जुन जनयुद्धको पहिलो सेल्टर थियो र त्यहिँ माओवादी जनयुद्धको योजना र कार्यक्रमहरु बन्ने हुर्कने गर्दथे । म सँगै हुर्किएको जनयुद्ध र जनयुद्धसँगै हुर्किएको म त्यहि माओवादी आन्दोलनको चेतनासँगै विकास हुँदै गरेको मेरो बालचेतना जनमुक्ति सेनाले विहानीपख गर्ने कासन र फर्मेशनसँगै खुल्ने मेरा आँखा, माओवादी पार्टीसँग जोडिन पुगेको भावनात्मक र पारिवारिक नाता नयाँ संस्कृति र नयाँ सभ्यताका नविनतम् प्रयोग थिए । माओवादी कार्यकर्ता भन्ने वित्तिकै, अंकल रित बहादुर खड्का र विशाल खड्काको कारण सबैलाई ‘अंकल’ र दिदी देवी खड्काको कारण सबैलाई ‘दिदी’ भन्ने हाम्रो स्वघोषित नाता र सम्बन्धहरुकै कारण पुलिस र सेनाहरुप्रति उत्पन्न हुने घृणाको भावना माओवादी जनयुद्धलाई असफल बनाउन तल्लीन काँग्रेस र एमालेका सुराकीहरुप्रति उत्पन्न हुने प्रतिशोधको भावनाका प्रतिफल स्वरुप फुर्सदको बेलामा माओवादी र पुलिस बनेर खेल्ने खेल, आफ्नै आँखा अगाडि हजुरआमा र मम्मीहरुलाई पुलिसहरुले गालीगलौज गर्दै कुटेको दृष्य, पुलिसहरुको ज्यादतिपछि पटक-पटक घर छाडेर भागेर आफन्तको घर, ओढार र गोठमा बस्दाको पीडादायी समयको सकसपूर्ण परिवेशबाट नै मेरो बाल्यकाल हुर्कदै थियो । मेरो परिवारबाट जनयुद्धमा दुईदर्जन भूमिगत हुनु भएको थियो । आलोपालो जस्तो गरि परिवारको एउटा सदस्य जेलमा नभएको समय नै रहेन । अंकल विशाल खड्का हुनुहुन्छ भन्ने सुनेको थियौं, हामी बालख हुदै बन्दी बनाएको उहाँलाई ७ वर्षपछि जेल मुक्त भएपछि १३ वर्षको उमेरमा भेट भयो । पार्टीका कार्यकर्ताले बिर्सिएर छोडेर गएका माक्र्स, लेनिन र माओका किताबहरु जनयुद्ध र माओवादी आन्दोलनका संस्मरणहरु, ग्रिनेट, बारुद र गोलीहरु घरमूनिको ओढारमा लगेर लुकाउने गर्थ्याै‌ पुलिस र आर्मीको सेन्ट्री बस्ने डयुटिसँगै स्कुल जाने गर्थ्यौं । अलिपछि बुझ्नने भएपछि स्कुलहरुमा हुने राजनीतिक, वैचारिक प्रशिक्षण तथा भेलाहरुबाट बुझ्दै गयौं र भन्न थाल्यौं जनवादी शिक्षा लागू गर्नुपर्छ । शिक्षालाई समान र निःशुल्क गरिनु पर्दछ । बोडिङ्ग स्कुल बन्द गरिनु पर्दछ भन्ने अखिल (क्रान्तिकारी) को योजना अनुरुप हामी त्यहि गाउँको सरकारी स्कुलमा पढ्थ्यौं । यी संस्मरण लेखिरहँदा मेरो छेऊमा सयपत्रि फुलको झैं अनुहारभरि मुजा परेको र सगरमाथा झैं सेताम्य कपाल भएकी ८७ वर्षे मेरी हजुरआमा, मनमाया खड्का हुनुहुन्छ । मुमा सुनाउनु हुन्छ, “वर्ग संघर्षको रुपमा २०३८ सालमा जुगूँमा भएको बहुचर्चित ऐतिहासिक किसान विद्रोह जहाँ जिल्लाको खुखाँर सामन्ती सुदखोर दल बहादुर खड्कालाई सयौं जनसमुदायको उपस्थिति सहित सफाया गरिएको थियो । म सहित छोरीहरु र छोरा ज्ञान बहादुर सहित १७ जनालाई जेल हालियो । वर्षोसम्म तारिख खेप्न विवश बनाइयो । छोरा ज्ञानबहादुरलाई पञ्चायती तत्वहरु, प्रहरी एवम जेल प्रशासन समेतको मिलेमतोमा षड्यन्त्रपूर्ण गुरुयोजना मुताविक रहस्यमय ढंगले जेलमै हत्या गरियो । अर्को छोरा रित बहादुर खड्काको २०५९ जेष्ठको अन्तिम साता पार्टी निर्णय बमोजिम बैठक सकेर कार्यक्षेत्र फर्कने क्रममा रौतहटको पिपरामा एमालेको सुराकीका आधारमा गोली प्रहार गरि हत्या गरियो । छोरी देवी खड्कालाई दिइएको पीडा सम्झदा आँसुको भेल बग्छ, कान्छो छोरा विशाल खड्कालाई सात वर्षसम्म बन्दी बनाइयो, जिउँदै माटोमा पुर्ने, हिटरमा पिसाब फेर्न लगाउने जस्ता निर्मम यातना दिइयो । विशाल खड्का जेलबाट मुक्त भएलगत्तै छोरा ढाल बहादुर खड्का र नाति रोशन कार्की (दुवै जना शिक्षक थिए) बिनाकारण नौ महिनासम्म बन्दी बनाइयो ।”

मुमा आफ्ना कुरा अगाडि बढाउँदै भन्नुहुन्छ, युद्धकालमा भएका यि पीडाहरुलाई त युद्धको एउटा स्वभाविक प्रक्रियाको रुपमा बुझ्न सकिएला तर शान्तिकाल मै यही स्थानिय तहको निर्वाचनमा एमालेका दलालहरुले षड्यन्त्रपूर्ण तरिकाले निर्दोष व्यक्तिको हत्या गरेर एउटै परिवारका निर्दोष दर्जनभन्दा बढी सदस्यलाई ज्यान मुद्दा दर्ता गर्ने र भूमिगत हुन बाध्य पार्ने जस्तो कार्यप्रति घुणा लागेर आउँछ । ८७ वर्षको बुढेसकालमा अर्को नयाँ मोडेलको क्रान्तिको नेतृत्व आफैं गरौं जस्तो लाग्छ भन्दै उहाँ भुँई कोतर्नु हुन्छ कम्युनिस्टको मुखुन्डो भिरेको र नक्कली राष्ट्रवादको जामा लगाएर नाची रहेका एमाले रुपी लाखेहरुको हुललाई दुत्कार्नु हुन्छ । म र मेरो परिवारको कथा त एउटा मामुली प्रतिनिधि कथा मात्रै हो । यहाँ त हजारौंको ज्यान गएको छ सयौं अझै बेपत्ताको सुचिमा छन् । यसरी सिँगो समाज नै युद्धमा होमिएको वखत, र हाम्रा स्वतन्त्रताहरु खोसिंदै गएको बेलो हाम्रो संघर्ष भने झनै कसिलो र मजबुत हुँदै गयो । जनयुद्धमा पार्टी आन्दोलन पूर्णत भूमिगत अवस्थामा हुँदा, अलि सहज र अर्धभूमिगत अवस्थामा माओवादी विचार र आन्दोलनलाई जनस्तरसम्म पुर्याउन विशेष भुमिका निर्वाह गरेको अखिल (क्रान्तिकारी) नेपालमा सामान्तवादी एकात्मक राज्य व्यवस्थाको अन्त्य संघियता, धर्मनिरपेक्षता जस्ता राजनीतिक परिवर्तन लगायत जनवादी शिक्षा, शिक्षाभित्रको निजीकरण , माफियाकरण र व्यापारिकरणको अन्त्यलगायतका शैक्षिक सुधारको एजेण्डा सहित पढ्दै गरेका किताब लैख्दै गरेका कपि र कलम, हुर्कदै गरेका जिवनका रंगीन सपनाहरु जस्ताको त्यस्तै सर्पले काचुली छोडेको जरुरी छोडेर जनयुद्धमा लामबद्ध भएका महान सहित रित बहादुर खड्का, सहित दिल बहादुर रम्तेल, सहिद बेनोज अधिकारी, बेपत्ता योद्धा पूर्ण पौडेल लगायतका महान सहिदहरुको रगतले गौरवपूर्ण इतिहास लेख्न सफल भएको संगठन हो । यही महान तथा गौरवशाली संगठनको २१औं राष्ट्रिय सम्मेलन भदौं ७–११ गतेसम्म काठमाडौंमा हुँदैछ । राजनीतिक परिवर्तनको खातिर जनयुद्ध र जनआन्दोलनमा पूर्णत १० वर्ष भूमिगत अवस्थामा पनि शैक्षिक क्षेत्रको अवस्थाको परिवर्तनका लागि गौरवपूर्ण नेतृत्वदायी भुमिकामा रहेको अखिल (क्रान्तिकारी), संविधानसभाको निर्वाचन, जनसंविधान, राष्ट्रिय स्वाधिनता र जनजीविकाको सवालसँगै शैक्षिक सुधारको आन्दोलनमा निरन्तर डटि रहेको छ । प्राप्त उपलब्धिहरुको रक्षा गर्न र बाँकी राजनीतिक एजेण्डाहरु स्थापित गर्न परिवर्तित राजनीतिक अवस्था र समय अनुसार अबको नयाँ रुपको क्रान्तिकारी आन्दोलनको विकास गर्न नयाँ ढंगको संगठन निर्माण, नयाँ कार्यदिशा र विचार निर्माण सँगै नयाँ अवस्थाको नेतृत्व गर्न सक्ने नेताहरुको टिम निर्माण गर्ने कुरा २१औं राष्ट्रिय सम्मेलनको विशेष कार्यभार हो । इतिहासमा समग्र राजनीतिक आन्दोलनको उठान र नेतृत्व गर्ने विद्यार्थी आन्दोलन आज पूर्णत पार्टी र पार्टीका नेताहरुको स्वामित्वमा संचालित हुन पुगेको छ ।

आन्दोलनका लागि संगठन नभइ संगठनको लागि आन्दोलन जस्तो विद्यार्थी संगठनहरु पार्टीको लागि चाहिने केही थान युवा उत्पादन गर्ने, र शैक्षिक संस्थाहरुसँग सम्बन्ध विस्तार गर्नु भन्दा पनि, आर्थिक चलखेल गर्ने माध्यम बनाउने व्यवसाय जस्तो बन्ने खतरा बढेर गएको छ  । यसो हुँदा विद्यार्थी संगठनलाई स्वाधिन, स्वतन्त्र र विशुद्ध विश्वविद्यालय तथा कलेजहरुमा पढ्ने विद्यार्थीहरुको नेतृत्व गर्ने संगठन बनाउन जरुरी छ । त्यसकालागि विद्यार्थी आचरण र विद्यार्थी उमेरलाई प्रामाणिक मानक बनाउनुपर्छ, जसले गर्दा विद्यार्थी आचरण सहित माक्र्सवादी विचारद्वारा लैस अगुवाहरुलाई वास्तविक नेता बनाउन सकियोस् । यसका लागि विद्यार्थी चरित्र भएका र निस्वार्थ भावनाका साथ शैक्षिक आन्दोलनमा स्वयमसेवी भाव सहित होमिन सक्ने विद्यार्थी नै क्रान्तिकारी विद्यार्थी हो भन्ने वातावरण बनाउन जरुरी छ । अर्को सवाल भनेको विश्वविद्यालय र कलेजहरुमा उपस्थितिको सवाल हो । ी।ब्, क्त।ह्बखष्भच, प्।ग् का ठूला ठूला कलेजहरुमा चाहिं विद्यार्थी संगठनको इकाई नहुँदापनि हुने अनि टियूका आगिंक कलेजहरुमा चाहिं किन अनिवार्य चाहियो विद्यार्थी संगठन । नेपालमा शिक्षाको राजनीति नै नभई पूर्णरुपमा पार्टीको कब्जामा राजनीति भएको अवस्थामा विद्यार्थीले शैक्षिक एजेण्डाकै लागि पूर्णत शैक्षिक आन्दोलन गर्ने कुराको विषयमा जोडदाररुपमा २१औं राष्ट्रिय सम्मेलनमा बहस हुन आवश्यक छ । त्यसो त विद्यार्थी वर्ग होइन तथापि नेपालमा विद्यार्थीहरु तीन वर्गका देखिन्छन् । एउटा वर्गका विद्यार्थीहरु जसका बाबुआमा की सरकारी कर्मचारी, व्यापारी, की राजनीतिज्ञ हुन्छन् बिहान नै उठ्छन् टाइसुट लगाउँछन् हातमा आइपेड बोक्छन्, बी.एम.डब्लू. चढ्छन् र  राजश्री, गुरुकुल, रातो बंगला जान्छन् त्यति नै बेला अर्को वर्गका विद्यार्थीहरु चाहिं तुइनको यात्रा गरि घण्टौं हिडे पछि स्कुल पुग्छन् । १-२ पिरेड पढिसकेपछि शिक्षक आउँदैनन् अनि घर फर्किन बाध्य हुन्छन् । अर्कोतिर तेस्रो वर्गका विद्यार्थीहरु कि होटलमा भाडा माझी रहेका हुन्छन्, कि गिटी कुटिरहेका हुन्छन् । यो खालको असमान शिक्षाको अवस्थाको अन्त्य र सार्वजनिक शिक्षाको गुणस्तर सुधार गर्नु आजको आवश्यकता हो । विडम्बना, हिजो जनवादी शिक्षा र निजी शिक्षाको अन्त्य गर्ने आन्दोलनको नेतृत्व गरेका माओवादी नेता र आज विद्यार्थी संगठनको नेतृत्व गर्ने नेताहरुकै छोराछोरी पहिलो वर्गमा पर्दछन् । यसको लागि भ्रष्ट सरकारी कर्मचारी र राजनीतिकर्मीका छोराछोरी अनिर्वाय सार्वजनिक शिक्षालयमा पढाउनु पर्ने बाध्यकारी व्यवस्था गरिनु पर्दछ ।

यसका लागि अखिल (क्रान्तिकारी) को भूमिका हुनु पर्छ । म आफैँ पूर्वाञ्चल विश्वविद्यालयमा बि.ई सिभिल (८औं सेमेस्टर) मा अध्यनतर विद्यार्थी हु । अरुले कुन विश्वविद्यालयमा पढ्छस् भन्दा भन्न लाजमान्नु पर्ने अवस्था छ । चार वर्षे कोर्ष ५ वर्ष लाग्छ न परिक्षा समयमा हुन्छ न रिजल्ट समयमा हुन्छ यसरी राज्यका लागि अत्यावश्यक दक्ष जनशक्ति उत्पादन गर्ने इन्जिनियरिङ्ग र मेडिकल विश्वविद्यालयको सुधारको लागि विद्यार्थी संगठनबाट निर्णायक आन्दोलन हुन नसक्नु विडम्बना मान्नुपर्छ । एकातिर डा. गोविन्द के.सी.ले मेडिकल शिक्षाको विषयमा अनशन बसिरहनु पर्ने अवस्था छ । भने अर्कोतिर, राजनीति र अपराधलाई सँगसँगै बढाएर ठूलो पार्टी बनाएका भनिएका ठूला नेताहरुले डा. गोविन्दलाई जिस्क्याई रहेका छन् । यस्तो अवस्थामा विश्वविद्यालय शिक्षाको सुधार र गुणस्तर अभिवृद्धिको लागि रचनात्मक र सिर्जनशील आन्दोलन आजको अनिर्वाय आवश्यकता हो । समग्र विद्यार्थी राजनीतिको समस्या के हो ? विद्यार्थी राजनीतिलाई नयाँ रुपमा कसरी रुपान्तरित गर्न सकिन्छ, ? अबको विद्यार्थी आन्दोलन कस्तो हुनुपर्दछ ? भन्ने विषयमा गम्भीर छलफल र बहस गर्ने प्रयास स्वरुप नै “विद्यार्थी दिशा” प्रकाशन गर्ने जमर्को गरेका छौं । हाम्रो उद्देश्य २१औं राष्ट्रिय सम्मेलनलाई संगठनको गौरवपूर्ण इतिहास र नाम जस्तै सार्थक र सफल बनाउन आफ्नो ठाउँबाट योगदान गर्न सकौं भन्ने हो ।