चमेरो, कोईरालो र अरिङ्गाल स्याउका शत्रु, जुम्लामा रित्तिन थाले स्याउ बगैंचा

1804
views

नवदृष्टि संवाददाता
जुम्ला, ९, भदौ । जुम्लामा उत्पादीत स्याउ राम्रो र मिठो मानिदै आएको छ । देश तथा विदेशमा समेत चर्चा कमाएको जुम्लाको स्याउ एक सातायता जिल्लामा दुई करोड २५ लाख रुपैयाँ बराबरको बिक्री भएको बताइएको छ । जुम्लाका व्यापारीले बिक्रीका लागि स्याउ अन्य जिल्ला पठाउने समय भएकाले धमाधम पठाउन थालेका छन् । जुम्लाबाट ५४२ मेट्रिक टन स्याउ विभिन्न जिल्लाहरु पठाइएको जिल्ला कृषि विकास कार्यालय जुम्लाले जनाएको छ । व्यापारीले किसानको बगैँचामै गएर स्याउ प्रतिकिलो रु ६० का दरले खरिद गर्न थालेको चन्दननाथ नगरपालिका–१० का छक्कबहादुर शाहीले बताए । शाहिले भने ‘मेरो त बगैँचाबाटै तीन लाख रुपैयाँभन्दा बढीको स्याउ बिक्री भयो ।’
स्याउमा चमेरो, अरिङ्गाल, कोइरालो लगायतले क्षति पु¥याउन थालेकाले चाँडै बेच्नु परेको उहाँको स्थानीयको भनाई छ । सुर्खेत र नेपालगञ्जमा स्याउको मूल्य ह्वात्तै घटेकाले व्यापारी मारमा परेका छन् । ग्रेडिङ र प्याकेजिङ बिना स्याउ धमाधम बिक्री हुन थालेको छ । ग्रेडिङ नगरिएको स्याउले उचित मूल्य नपाउँदा व्यापारी चिन्तामा छन् । जिल्ला सहकारी संघमा रहेको रु ८० लाखको ग्रेडिङ मेसिन सञ्चालनमा आउन सकेको छैन । दिनहुँ हातले नै स्याउ ग्रेडिङ गर्नु परिरहेको व्यापारी रामकृष्ण चौलागाईंले बताउनुभयो । उहाँले ६५ मेट्रिक टन स्याउ खरिद गर्नुभएको थियो भने करिब २५ मेट्रिक टन कमसल स्याउ भेटिएको छ । जुम्लामा प्रतिकिलो रु ६० मा खरिद गरिएको स्याउ काठमाडौँमा रु १२० मा बिक्री गर्ने सम्झौता भएको चौलागाईंले बताउनुभयो ।
भदौ पहिलो साताभित्रै जुम्लाका ९० प्रतिशत स्याउका बगैँचा रित्तिएका छन् । पञ्चेश्वर बहुउद्देश्यीय सहकारी संस्थाका अध्यक्ष मीनबहादुर डाँगी व्यापारीले अत्याएका कारण स्याउ पूर्णरुपमा तयार हुन नपाएको बताउनुभयो ।