माओवादीले हार्ने ठाउँ नै सकियो–प्रचण्ड

673
views

नवदृष्टि संवाददाता
सुर्खेत, ९, भदौ । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दहाल ‘प्रचण्ड’ले सुर्खेतमा भएको पत्रकार सम्मेलनमा आफ्नो पार्टीको हार्ने ठाउँ नभएको बताए । उनले संगठन परिचालनमा कमजोरी र नेता गाउँ नपुग्दा स्थानीय तह निर्वाचनमा हारिएको बताए । पार्टीको प्रदेश नं ६ को प्रशिक्षण कार्यक्रममा सहभागी हुन सुर्खेत आइपुग्नुभएका अध्यक्ष प्रचण्डले पत्रकारसँगको भेटमा माओवादी केन्द्रले हार्नुपर्ने जति हारिसकेको तर, अब नहार्ने दाबी गरेका हुन् । संसदीय राजनीतिमा लागेका प्रचण्डले हार्ने र जित्ने के मा ? भने खुलाएनन् ।
पूर्वप्रधानमन्त्री समेत रहेका प्रचण्डले भने ‘माओवादी एकता र ध्रुवीकरणको प्रक्रियामा रहेको छ, हेर्दै जानुहोला, अब माओवादीले जित्दै जान्छ ।’’ प्रचण्डले जनताबाट प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपतिले मात्र देशमा राजनीतिक स्थिरता दिनसक्ने दाबी गरे । संविधान संशोधन विधेयक निर्णयार्थ पेश भइसकेकाले तत्काल संविधान संशोधनको प्रस्ताव नलगिने अध्यक्ष प्रचण्डको भनाइ थियो । परिवर्तनलाई स्वीकार गर्न नसक्नेहरु प्रदेश र केन्द्रको चुनाव हुन नदिन लागिपरेको समेत उहाँले बताउनुभयो । प्रदेश नं ६ माओवादीको किल्ला भएको उहाँको दाबी छ ।
प्रशिक्षणमा अध्यक्ष प्रचण्ड, नेता नारायणकाजी श्रेष्ठ, रामबहादुर थापा बादल, शक्तिबहादुर बस्नेत, मायाप्रसाद शर्मा, टेकबहादुर बस्नेत, कालीबहादुर मल्ल, महेश्वर गहतराजलगायत सहभागी हुनुहुन्छ ।