आक्रमणबाट गम्भीर घाइते भएका वडा अध्यक्ष कोइरालाको निधन

412
views

बनेपा,१० भदौ  । काभ्रेपलाञ्चोकको धुलिखेल नगरपालिका–२ का वडाध्यक्ष राजन कोइरालाको गएराति निधन भएको छ ।
गाउँमा दूध बिक्री गरेर घर फर्कंदै गरेको अवस्थामा कोइरालामाथि भदौ ४ गते घर नजिकै आक्रमण भएको थियो ।
आक्रमणबाट गम्भीर घाइते भएका कोइरालाको ६ दिनदेखि अचेत अवस्थामा नै नर्भिक अस्पताल, काठमाडौँमा उपचार भइरहेको अवस्थामा निधन भएको जिल्ला प्रहरी कार्यालय, धुलिखेलले जनाएको छ ।
उनको टाउकोमा गम्भीर चोट लागेको थियो । कोइराला धुलिखेल नगरपालिका–२ रविओपीमा अचेत अवस्थामा फेला परेका थिए ।
नेकपा एमालेबाट निर्वा्चित कोइरालाका एक श्रीमती, तीन छोरा र बुबा, आमा समेत छन् ।
उनी जिल्लामा सामाजिक अभियन्ताको रुपमा समेत परिचित थिए ।
जिल्ला प्रहरी कार्यालय, धुलिखेलका प्रहरी नायब उपरीक्षक महेन्द्र मरासिनीले उनी माथि आक्रमण गर्ने दोषीको खोजी भइरहेको बताउँदै अपराध अनुसन्धान ब्यूरो (सिआइवी) ले पनि घटनाको अनुसन्धान गरिरहेको जानकारी दिए ।