कश्मिरको पुलवामामा विद्रोहीको हमलामा ८ प्रहरीसहित १० को मृत्यु

721
views

एजेन्सी । भारत प्रशासित कश्मिरको पुलवामा जिल्लामा प्रहरी परिसरलाई लक्षित गरी भएको आत्मघाती हमलामा ८ सुरक्षाकर्मीसहित १० जनाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा दुई जना विद्रोही रहेको बताइएको छ । प्रहरीले सो हमलामा थप एक विद्रोही समेत मारिएको तर उनको शब बरामद हुन नसकेको जनाएको छ ।
आक्रमणपछि सो स्थानबाट प्रहरीका परिवारलाई सुरक्षित रुपमा बाहिर निकालिएको थियो । जम्मु कश्मिर प्रहरीका महानिर्देशक एसपी वैदले सो घटनामा हालसम्म ८ प्रहरी र २ विद्रोही मारिएको पुष्टि गरेका छन् ।
सो घटनामा परी थप सुरक्षाकर्मी घाइते भएको र केहीको अवस्था गम्भीर रहेकाले मृतकको संख्या बढ्न सक्ने अनुमान गरिएको छ । भारतीय सेनाले कश्मिर घाटीमा यो वर्ष ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन गरी ‘अपरेशन अल आउट’ अभियान सञ्चालन गरेको छ ।
विद्रोहीको यो हमलालाई बदलास्वरुप गरेको कारबाहीका रुपमा हेरिएको छ । सात महिनाअघि सुरु भएको अपरेशनदेखि हालसम्म १ सय ४० भन्दा बढी विद्रोहीको मृत्यु भइसकेको छ ।
यो यसवर्ष भएको तेस्रो आत्मघाती हमला हो । आक्रमणपछि सो स्थानमा मोबाइल र इन्टरनेट सेवा समेत बन्द गराइएको छ ।