२६ तोला सुन र आधा किलो चाँदी चोरेर फरार

1525
views

नुवाकोट, १३, भदौ । नुवाकोटको दुप्चेश्वर गाँउपालिकाको वडा नं. ६ समुन्द्रटारमा रहेको सुनचाँदी पसलबाट २६ तोला सुन चोरी भएको छ । विदुर नगरपालिका वडा नम्बर २ का रामशरण गहतराजले समुन्द्रटारका तिलकमान डंगोलको घरबाट सुनचाँदी पसल सञ्चालन गर्दै आएका थिए । २६ तोला सुनसहित पसलमा रहेको आधा किलो चाँदी र एक लाख रुपैयाँ समेत चोरी भएको छ ।
गहतराज साउन २९ गते पसल बन्द गरेर श्रीमतीको उपचारको लागि काठमाडौँ गएका थिए । सोमबार पसल खोल्दा पसल रहेको सुन चाँदी र पैसा नभएपछि प्रहरी चौकी समुन्द्रटारमा जानकारी गराएका थिए ।
सुनचादी पसलमा चोरी भएको जानकारी प्राप्त हुने बित्तिकै शंका लागेको व्यक्तिहरुको खोजी कार्य सुरु गरेको इलाका प्रहरी कार्यालय खरानीटारका प्रहरी निरीक्षक कृष्णबहादुर विष्टले जानकारी दिए ।