एमाले अध्यक्ष ओलीप्रति प्रधानमन्त्री देउवाको कटाक्ष, भारतसँग नाजायज सम्झौता नभएको भनाई

1369
views

काठमाण्डौ, १३, भदौ । प्रधानमन्त्री शेरबहादुर देउवाले मुलुकको आन्तरिक विषय र संविधानबारे कुनै पनि सम्झौता हुन नसक्ने स्पष्ट पार्दै भारत भ्रमणका क्रममा आफुले नाजायज सम्झौता नगरेको स्पष्ट पारेका छन् । देउवाले राष्ट्रियता, सार्वभौमिकता र अखण्डताप्रति आफु प्रतिबद्ध रहेको बताउँदै सोमबारको संसद बैठकमा विशेष समय लिँदै देउवाले भने ‘भारत भ्रमणका क्रममा आफूले कुनै नाजायज सम्झौता नगरेको बरु बाढी तथा डुबानको समस्या समाधान गर्न स्पष्टसँग कुरा राखेको छु, सीमा क्षेत्रमा हुने बाढी तथा डुबानको समस्या समाधानका लागि मैले भारतीय समकक्षीसँग प्रस्ट रूपमा कुरा राखेको छु। त्यसको दीर्घकालीन निकासका लागि गठन भएको विज्ञ समूहले एक महिनाभित्रै प्रभावकारी काम गर्नेछ ।’
प्रधानमन्त्र िदेउवाले संविधान निर्माण र कार्यान्वयनका विषयमा आफूसँग जोडिएर गरिएको प्रचार र टिप्पणीको कुनै अर्थ नरहेको उल्लेख गर्दै नेपालको आन्तरिक विषय र संविधानबारे कुनैपनि सम्झौता हुन सक्दैन यसका बारेमा अनावश्यक टिप्पणीको अर्थ नरहने पनि देउवाको भनाई थियो ।
उनले नेपालको लोकतन्त्र र शान्तिप्रक्रिया विशिष्ट तवरले अगाडि बढिरहेको जानकारी दिदैं एमाले अध्यक्ष केपी ओलीले गरेको टिप्पणीप्रति कटाक्ष गर्दै उनले भने, ‘मलाई राष्ट्रियता, सार्वभौमिकता र एकताको विषयमा कसैले पाठ पढाउनुपर्दैन ।’
पञ्चेश्वर बहुउद्देश्यीय आयोजनाको विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) एक महिनाभित्र सम्पन्न गर्ने गरी भारतीय समकक्षीसँग कुराकानी भएको, ऊर्जा व्यापार सम्झौताको मर्म र भावनाअनुसार नै मुलुकमा ऊर्जा उत्पादनलाई बढावा दिने र प्रसारणलाइन निर्माण गर्ने सन्दर्भमा सहमति भएको देउवाको भनाई थियो ।
प्रधानमन्त्री देउवाले माथिल्लो कर्णाली, अरुण तेस्रोजस्ता जलविद्युत् आयोजना अगाडि बढाउने सन्दर्भमा समेत महत्वपूर्ण छलफल भएको उनले जानकारी दिए। प्रधानमन्त्री देउवाले मेची पुल निर्माण, सुदूरपश्चिम र पश्चिमाञ्चल क्षेत्रका विभिन्न विकास आयोजना तथा अन्य ठूला आयोजना, व्यापार विविधिकरणलगायत विषयका साथै आर्थिक विकास र नेपालमा लगानीका लागि भारतीय पक्षसँग कुरा गरेको बताउँदै पर्यटन क्षेत्रको विकास तथा विस्तार, निजगढ विमानस्थल निर्माण तथा नयाँ १३२ केभी क्षमताको प्रसारण लाइन निर्माणमा समेत सहमति भएको जानकारी दिए ।