लम्पसारवादी चरित्रको दृढतापूर्वक विरोध तथा भण्डाफोर गर्नुपर्दछ – किरण

‘क्रान्तिकारी कम्युनिस्टहरु कसैले चाहदैमा सिद्धिदैनन्’

1270
views

-अध्यक्ष नेकपा (क्रान्तिकारी माओवादी)

प्रधानमन्त्री शेरबहादुर देउवा हालै भारतको भ्रमणबाट फर्किएका छन् । उनले भारत भ्रमणका बेला नेपालको संविधान संशोधनबारे दिएको अभिव्यक्ति र कोशी उच्च बाँध निर्माणमा सहमतिलगायतका विषयको चर्को विरोध र आलोचना भइरहेको छ । हुन त नेपालका प्रधानमन्त्रीहरु भारत भ्रमणमा जाँदैपिच्छे कुनै न कुनै राष्ट्रघाती सम्झौता हुने चिन्ताले सताउने गरेको छ । यसै सन्दर्भमा नेकपा (क्रान्तिकारी माओवादी) का अध्यक्ष मोहन वैद्य ‘किरण’ सँग गरिएको कुराकानीको सारसंक्षेपः

राष्ट्रिय स्वाधीनताको पक्षधर राजनीतिक शक्तिको रुपमा स्थापित नेकपा (क्रान्तिकारी माओवादी)को अध्यक्षको स्तरबाट हेर्दा प्रधानमन्त्री शेरबहादुर देउवाको पछिल्लो भारत भ्रमणको लेखाजोखा कसरी गर्नु भएको छ ?
प्रधानमन्त्रीको भारत भ्रमण नकारात्मक नै रह्यो । जलस्रोतका क्षेत्रमा माथिल्लो कर्णाली, अरुण तेस्रो, पञ्चेश्वर लगायतका परियोजनाप्रति फेरिपनि आत्मसमर्पणवादी नीति नै अवलम्वन गरियो । सीमा क्षेत्रका डुवानका समस्यामाथि विशेष ध्यानदिँदै भारतले लगाएका बाँधहरु र दशगजा क्षेत्र मिचेर बनाएको सडक भत्काउनेबारे गंभीरतापूर्वक विषयवस्तु पेश गरिनु पर्दथो । त्यसमाथि कुरै गरिएन । संविधान संशोधन गर्न सकिएन र दुई तिहाई पु¥याई गरिन्छ भन्ने अभिव्यक्ति दिएर फेरिपनि भारतीय शासकवर्गप्रति भक्तिभाव जाहेरगर्ने र नेपालको राष्ट्रिय संमानमा गंभीर चोट र्पुयाउने काम भयो ।

देउवाको भ्रमणको पूर्वसन्ध्यामा खासगरी तपाईंकै सक्रिय पहलमा नौं वटा वाम घटकले एक सर्वाजनिक वक्तव्य मार्फत् राष्ट्रहित विपरीत कुनै सन्धि सम्झौता नगर्न ध्यानाकर्षण गराउनु भएको थियो । त्यसको सम्बोधन त भएको पाइएन नि ?
हो, ध्यानकर्षण गराइएको थियो, तर त्यसतर्फ कुनै खास चासो नै दिइएन ।
संविधानको संशोधन, नेपालको सुरक्षा तथा परराष्ट्र नीति जस्ता अत्यन्तै संवेदनशील विषयमा भारतले राखेको चासो र हस्तक्षेप, र नेपालका शासकहरुको लम्पसारवादी चरित्रलाई चाहिं कसरी विश्लेषण गर्नुहुन्छ ?
यो राष्ट्रिय स्वाधीनताको रक्षाका दृष्टिले अत्यन्तै गंभीर प्रकारको र अतिसंवेदनशीलताको स्थिति हो । नेपालका दलाल तथा नोकरशाही पुँजीपति र सामन्त वर्गको प्रतिनिधित्व गर्दैआएका शासक वर्गको लंपसारवादी चरित्रमा कुनै फेरबदल आउन सक्तैन । त्यस स्थितिमा हामी एकातिर उनीहरुको त्यस प्रकारको लंपसारवादी चरित्रको दृढतापूर्वक विरोध एवम् भण्डाफोर र अर्को्तिर राष्ट्रिय स्वाधीनताको आन्दोलनलाई प्रभावकारी ढंगले अगाडि बढाउनका लागि योजनाबद्ध रुपमा अगाडि बढ्नु पर्दछ ।

चीन र भारतबीच डोक्लाम विवादले चरम रुप लिइरहेको अवस्थामा पञ्चशीलका आधारमा असंलग्न परराष्ट्र नीतिका आधारमा तटस्थता देखाउँदै आएको मुलुकको प्रधानमन्त्रीले गरेको भारत भ्रमणबाट उत्तरको छिमेकी मुलुक चीन झस्किन पुगेको छ । दुवै छिमेकीबीच भएको वा हुने यस्तो अवस्थामा नेपालले कस्तो नीति अपनाउन आवश्यक छ ?
दोक्लाम विवादप्रति सरकारले लिएको तटस्थता र पञ्चशीलको मान्यतामा आधारित परराष्ट्र नीति प्रति प्र.म. देउवा इमान्दर रहे भन्ने त देखिन्न, तर त्यससम्बन्धी तथ्यसत्यबारे अध्ययन गर्नुउपयुक्त देखिन्छ ।
सुशील कोइरालाको पालामा नेकपा एमालेका तर्फबाट परराष्ट्रमन्त्री महेन्द्रबहादुर पाण्डेले भारतीय विदेश मन्त्री सुस्मा स्वराजको नेपाल भ्रमणका बेला २६ जुलाइ २०१४ मा जारी संयुक्त वक्तव्यको बुँदा नं. ६ मा भारत र नेपाल अन्तर्रा्ष्ट्रिय मामिलामा समान धारणा राख्छन् भन्ने मा सहमति जनाएका थिए । उक्त बुँदालाई हुँबहु तत्कालीन प्रधानमन्त्री प्रचण्डले भारत भ्रमणका बेला १६ सेप्टेम्बर २०१६ जारी २५ बुँदे संयुक्त वक्तव्यको बुँदा ११ राखेर नेपालको विदेश नीति विधिवतरुपमा भारतलाई बुझाउने काम भएको देखिन्छ ।

देउवाले पछिल्लो भ्रमणमा मोदीसँग गरेको वाचा हेर्दा त मुलुक भुटानको स्तरमा पुगेको देखिन्छ । नेपालको भुटानीकरण र सिक्किमीकरण सम्भव देख्नुहुन्छ ?
नेपालमा भुटानीकरण र सिक्किमीकरणको खतराबारे धेरै चर्चा हँुदै आएको छ । तर जेहोस, एउटा ध्रुवसत्य के हो भने नेपालको राष्ट्रिय स्वाधीनताको रक्षाको प्रश्न अति गंभीर र अति संवेदनशील बन्दै गएको छ । यस विषयलाई हामीले गंभीरतापूर्वक लिनु पर्दछ । हामीले एकातिर सम्पूर्ण देशभक्तहरुलाई एकजुट बनाई राष्ट्रिय संयुक्त मार्चा बनाउने र अर्को्तिर आफ्नै स्वतन्त्र पहलमा समेत राष्ट्रिय स्वाधीनताको आन्दोलनलाई अगाडि बढाउनेबारे विशेष गंभीर बन्नै पर्दछ ।
डोक्लाम विवाद चर्किदै गर्दा चीनका केही रणनीतिक महत्वका भनाइहरु एकपछि अर्को सार्वजनिक हुँदै आएका छन् । उसले सिक्मिमको भारतमा विलय, भुटानमा भारतको उपस्थिति र नेपालमा बढ्दो भारतीय हस्तक्षेपलाई भारतको ‘प्रभुत्ववादी मानसिकता’ भन्दै त्यसका विरुद्ध ती देशका नागरिकलाई सघाउने खुल्ला घोषणा गर्दै पनि आएको छ । र, पछिल्ला दिनमा नेपालमा चीनकको चासो र उपस्थिति पनि ह्वात्तै बाक्लिएको छ । यी घटनाक्रमको विश्लेषण कसरी गर्नुभएको छ ?

नेपालमा चीनको चासो बढदै जानु स्वाभाविकै हो । यसबारे पनि विकसित हुँदैगएका घटनाक्रमप्रति हाम्रो ध्यान आकर्षित भएको छ । हामीले विषयलाई गहिरिएर हेरिरहेका छौं ।
नेपाल, चीन र भारतको त्रिदेशीय विन्दु, लिपुलेक, जुन नेपालको भूभागमा पर्छ, को सम्बन्धमा चीन र भारतले गरेको सन्धि पनि नेपालको राष्ट्रिय स्वाधीनताका पक्षधरहरुले उठाउनै पर्ने सवाल हो । पछिल्लो समयमा यो विषयमा ओझेलमा परेको जस्तो देखिन्छ नि ?
हो, अहिले लिपुलेखबारे गरिएको चीन–भारत सम्बन्धको कुरा पछाडि परेको छ । वस्तुतः यसमा चीनका तर्फबाट पनि ठुलो गल्ती भएको हो र यसबारे हामीले चिनियाँ पक्षसित आफ्ना कुराहरु राखेका थियौं । यस विषयलार्य हामीले उठाउँदै पनि आएका छौं । लिपुलेख र कालापानी क्षेत्र नेपालकै भूभाग हो । हामी एक इञ्च पनि छोड्न तयार छैनौं ।
भारतले सिमा सम्बन्धी अन्तर्रा्ष्ट्रिय कानुन विपरीत नेपालको सिमा जोडिएका जिल्लाहरुमा निर्माण गरेको पक्कि सडक र एकतर्फी रुपमा बाँधेको बाँधका कारण सिंगो तराईरमधेश डुवानमा पर्दै आएको छ । वर्षेनी यहाँका हजारौं परिवार विस्थापित हुँदै आएका छन् । यसपाली पनि धेरै धनजनको क्षति भयो र हजारौं परिवार आफ्नो थातथलोबाट विस्थापित हुन पुगेका छन् । प्रम देउवाले यस विषयमा भारतीय सरकारसँग कुरा गर्ने कुनै संवेदनशीलता देखाएको पाइएन । मधेशका जनताले भोगेको यो समस्यालाई नजरअन्दाज गर्दै किन भारत संविधान संशोधनमा मात्र चासो राखिरहेको छ ?

यसबारे क्रान्तिकारी माओवादीको धारणा स्पष्ट पारिदिनुस् न । यहाँले उठाउनु भएका कुरा सत्यतथ्यमा आधारित छन् । डुबानका प्रमुख कारण रहिआएका भारतद्वारा अन्तर्रा्ष्ट्रिय कानुन र मान्यता मिचेर बनाइएका बाँध तथा पक्की सडक लगायतका समस्यालाई लिएर अव संघर्षको ठोस कार्याक्रम बनाएर अगाडि बढनु पर्दछ । जहाँसम्म संविधान संशोधनप्रतिको देउवाको अभिव्यक्तिको प्रश्न हो त्यो पनि गंभीर छ र त्यसको पनि विरोध तथा भण्डाफोर गर्दै जानुपर्दछ । संविधान संशोधन सम्बन्धी भारतीय चासो विस्तारवादी चिन्तनकै अभिव्यक्ति हो । संविधान संशोधन गर्ने कि नगर्ने त्यो नेपालको आन्तरिक मामिला हो ।
भारतीय हस्तक्षेपका कारण मुलुकको सार्वभौमिकता नै गुम्ने खतरा बढ्दै गएको अवस्थामा नेपालका बौद्धिक जगतदेखि आम नागरिक तहमा राष्ट्रिय स्वाधीनता रक्षाप्रतिको संवेदनशीलता र जागरुकता अपेक्षित रुपमा कम हुनुमा कारण के देख्नुहुन्छ ?

यसका पछाडि दुई ओटा काराण छन् । पहिलो त नेपाली बौद्धिक क्षेत्रको एउटा तप्का दलाली कारणको प्रक्रियामा लागेको छ । कतिपय बुद्धिजीवी सत्तावादी र शक्तिपूजावादी रहिआएका छन् । दोस्रो कारणका रुपमा नेपालका वामपंथी वा कम्युनिस्टहरुको एउटा तप्काको दलालीकरणको प्रक्रिया देखेर बौद्धिक क्षेत्रको एउटा तप्कामा केही शिथिलता आएको छ । सच्चा देशभक्त तथा क्रान्तिकारी कम्युनिस्टहरुले पनि राष्ट्रियताको प्रश्नलाई जुन गंभीरताका लिनु पर्दथ्यो त्यो हुन सकेको छैन । त्यो पनि एउटा कारण हो । तर, नागारिक अर्थात् जनताको तहमा राष्ट्रिय स्वाधीनताको रक्षा प्रतिको संवेदनशीलता र जागरुकता अपेक्षित रुपमा कम भयो भन्न मिल्दैन । किनभने जनताले त आवाज उठाइरहेका छन् र आफूसक्दो गरिरहेका पनि छन् । परन्तु जनताको त्यो जागरुकतालाई एकातिर दलालीकरणमा संलग्न संचारक्षेत्रको ठुलो तप्काले प्रचारगर्ने काममा उपेक्षा गरेको र अर्को्तिर देशभक्त शक्तिले पनि त्यसतर्फ आवश्यक ध्यानदिन नसकेको स्थिति हो ।
प्रसंग बदलौं, अहिले नेपालका राजनीतिक पार्टीहरु ‘मर्ज’ हुने र नेता कार्यकर्ताहरुमा दल बदलु प्रवृत्ति असाध्यै बढेर गएको छ । नैतिकता, इमान्दारिता, निष्ठा, आदर्श र मूल्यको राजनीतिमा खडेरी परेको छ । खासगरी माओवादी आन्दोलनबाट आएका प्रायः नेता कार्यकर्ताहरुमा हद दर्जाको अवसरवादी प्रवृत्ति देखिएको छ । यसो हुनुमा कारण के देख्नुहुन्छ ?
हो, दलबदलुको प्रवृत्ति बढेर गएको छ । यस प्रवृत्तिका तीन पक्ष छन् । पहिलो पक्ष, क्रान्तिकारी पार्टीमा रहेका तर अवसरवादी चरित्र भएकाहरु निम्नपुँजीवादी मनोवृत्ति तथा शक्तिपूजावादी चिन्तनको कारण अवसरवादी पार्टीमा जाने गर्दछन् । दोस्रो, अवसरवादी पार्टीमा रहेका तर क्रान्तिकारी चरित्र भएका मानिसहरु आफू रहेको पार्टी अवसरवादी भयो भन्ने बुझेर पनि क्रान्तिकारी पार्टीमा समाहित हुने गर्दछन् र हुँदै आएका पनि छन् । तर अहिले पहिलो पक्ष प्रबल र दोस्रो पक्ष कमजोर रहेको छ । तेस्रो, एकथरी मानिस अवसरवादी पार्टीबाट अवसरवादी पार्टीमा नै जाने गर्दछन् । त्यो क्रान्तिका लागि भनेर होइन कता बस्दा बढी फाइदा हुन्छ भनेर सोच्ने उपयोगितावादी प्रवृति हो । दल बदल्ने प्रवृत्तिलाई यसरी नै बुझ्नु पर्दछ ।

सबै पार्टी्भित्रका अवसरवादी नेता कार्यकर्ताहरुलाई आफ्नो पार्टीमा भित्र्याउँदै माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले तपाईहरुलाई पनि एकतामा आउन आव्हान गर्दै आएका छन् । एकतामा नआए सिद्धिने वा सिध्याउने चेतावानी पनि दिने गरेका छन् । यसलाई कसरी लिनुभएको छ ?
माओवादी केन्द्र तथा त्यसको मूल नेतृत्व नेपाली दक्षिणपंथी संशोधनवादको प्रमुख प्रतिनिधि एवम् प्रवक्ता बन्न गएको कुरा दिनको घाम जत्तिकै छर्लङ्ग छ । त्यस स्थितिमा त्यस पार्टी्सित पार्टी एकता असंभव नै छ । जहाँसम्म सिद्धिने वा सिद्ध्याउने कुराको प्रसङ्ग हो त्यसलाई एकातिर दक्षिणपंथी दम्भ र अर्को्तिर साम्राज्यवाद तथा विस्तारवादप्रतिको बफादारीका रुपमा बुझ्नु पर्दछ । क्रान्तिकारी कम्युनिस्टहरु कसैले चाहदैमा सिद्धिदैनन् ।
वैद्य असफल भए, सबैलाई समेटेर पार्टीको नेतृत्व गर्न सकेनन्, फरक विचार केही छैन, केही गर्न सक्दैनन्, जस्ता अफवाह उनीहरुले चौतर्फी रुपमा फैलाइरहेका छन् । यसबारे के भन्नुहुन्छ ?
जहाँसम्म हाम्रो पार्टी वा हाम्रो पार्टीका कुनै कमरेडलाई असफल भए भन्ने कुरा हो त्यसको कुनै तुक छैन । असफलता भनेको कुन कुरामा हो ? दक्षिणपंथीसित मिलेर जान नसक्नु र प्रतिक्रियावादी सत्ता, व्यवस्था तथा संविधान नमान्नुलाई असफलता भन्ने हो भने त्यसलाई त हामी सफलता नै भन्द छौं । यदि क्रान्तिको कुरा गर्ने तर नसक्ने भनेर असफलता भन्ने हो भने क्रान्ति नै नगर्नेलाई त्यस कुरा प्रति गरिने प्रश्न वा चासोको कुनै अर्थ वा औचित्य नै छैन ।

केही समय अघि सम्पन्न पार्टीको केन्द्रीय समितिको बैठकबाट तपाईंहरुले पनि ६ बुँदे सर्तसहित एकता तथा ध्रुवीकरणको प्रस्ताव अगाडि सार्नुभएको छ । त्यस आधारमा कसैसँग ठोस पहल केही भएको छ ? सम्भावना कस्तो देख्नुहुन्छ ?
पार्टीको केन्द्रीय समितिद्वारा एकीकरण र ध्रुवीकरणको छ बँुदे प्रस्तावबारे कतिपय पक्षसित कुराकानी भएको छ र कतिपय पक्षसित कुरा गर्ने क्रममा छौं । यो प्रकृया जारी नै छ ।
तपाईहरु अहिले पार्टीकोे राष्ट्रिय सम्मेलनमा जुटिरहनु भएको छ । नयाँ जनवादी क्रान्तिका पक्षधर आम जनता, क्रान्तिकारी पंक्ति र अन्तर्रा्ष्ट्रिय भाइचराहरुले यस सम्मेलनबाट के कस्ता अपेक्षा राख्न सक्छन् ?
यही असोज २१ गतेदेखि ५ दिनसम्म आयोजित पार्टीको राष्ट्रिय सम्मेलन नयाँ जनवादी क्रान्तिको आम कार्य्दिशालाई समृद्ध तुल्याउने र आन्तरिक बहसलाई नयाँ उँचाइ प्रदानगरी सकारात्मक रुपमा संश्लेषण गर्ने उद्देश्यमा आधारित छ । यस प्रकारको उद्देश्य पुरा गर्ने दायित्व निर्वाह गर्न र सम्मेलनलाई ऐतिहासिक तथा भव्यतापूर्वक सम्पन्न गर्नका लागि हामी दृढतापूर्वक लागिपरेका छौं । नयाँ जनवादी क्रान्तिका पक्षधर आमजनता, क्रान्तिकारी पार्टी र अन्तर्रा्ष्ट्रिय भाइचाराहरुले पनि यस संमेलनद्वारा यही अपेक्षा गरेका छन् । वहाँहरुका अपेक्षालाई प्रत्यक्ष वा परोक्ष रुपमा बुझ्ने र तिनको सम्बोधन गर्ने काममा हामी प्रतिबद्ध नै छौं ।

अन्तमा, वर्तमान व्यवस्था र नेतृत्वबाट आजित भएका जनता र परिवर्तनका पक्षधर आम जनसमुदाय तथा क्रान्तिकारी पंक्तिमा के अपील तथा आव्हान गर्न चाहनुहुन्छ ?
प्रतिक्रियावादी तथा संशोधनवादीहरुका भ्रमजाललाई तोड्दै अगाडि बढ्न, क्रान्तिप्रति विश्वस्त हुन, क्रान्तिको तयारीका काममा आवश्यक सहयोग र्पुयाउन र पार्टीका कमी कमजोरीप्रति खबरदारी गर्नका लागि मैले यस लोकप्रिय पत्रिका मार्फत वहाँहरुसित विशेष अपिल तथा आह्वान गर्न चाहन्छु ।