प्रचण्डको मधेश मोहले नवप्रवेशीको थुप्रो

2000
views

नवदृष्टि संवददाता
सिमरा, १८, भदौ । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री पुष्पकमल दहाल ‘प्रचण्ड’ दुई नम्बर प्रदेशको निर्वाचनका लागि मधेस दौडाहामा लागेका छन् । असोज २ गते हुने निर्वाचनमा आफ्नो पार्टीलाई विजयी गराउने अभियानका क्रममा प्रचण्ड दुई नम्बर प्रदेशको आठवटै जिल्लामा कार्यकर्ता भेटघाट र चुनावी सभामा व्यस्त देखिएका हुन् । वैशाख ३१ र असार १४ गते भएको दुई चरणको निर्वाचनमा माओवादी केन्द्र तेस्रो भएपछि प्रचण्डको ध्यान दुई नम्बर प्रदेशमा केन्द्रित भएको हो । चुनावी प्रचारमा व्यस्त रहेका प्रचण्डले केन्द्रीय सचिवालय बैठक वीरगन्जमा आयोजना गरेर मधेसबाटै चुनावी रणनीति बुन्ने प्रयास समेत गरेका छन् । सचिवालय बैठकमा माओवादी केन्द्रका सयौं नेता भेला भएर चुनावको रणनिति र उम्मेदवारको टुंगो लगाउने बिषयमा छलफल गरेको थियो । दुई चरणको निर्वाचनमा सोचेजस्तो परिणाम आउन नसकेपछि माओवादीले तेस्रो चरणको निर्वाचनमा थप मजबुत भएर मधेसमा प्रस्तुत हुने रणनीति बनाएको छ । त्यसैले पनि प्रचण्ड झण्डै एक सातादेखी मधेसका जिल्ला घुम्ने र पार्टीको उम्मेदवारका पक्षमा मत बटुल्ने प्रयासमा छन् ।
आइतबार प्रचण्डठले टांगियावस्तीमा आयोजित सभालाई सम्बोधन गर्दै मधेसको साथी माओवादी नै रहेको बताए । ‘माओवादीनै साथी हो भन्ने कुरा मधेसका जनताले अब बुझिसके भन्ने मलाई लाग्छ’, प्रचण्डले भने, ‘मधेस घुम्ने क्रममा मैले यस्तै महसुस पनि गरेको छु ।’
‘मलाई मधेसप्रति झुकाव बढी भयो र मधेसका जनता फकाउन थाल्यो भन्ने आरोप आएको छ, प्रचण्डले भने, ‘तर मैले पहाडी र मधेसी अतिवादले देशको हित गर्दैन भनेर मधेस र पहाड जोड्ने काम गरेको हुँ मेरो मोह अहिले पनि मधेस केन्द्रित नै रहेको छ ।’
मधेस दौडाहमा प्रचण्डले भने ‘संविधान र संघीयताविरुद्द ठूलो षडयन्त्र थियो’
पूर्व प्रधानमन्त्री समेत रहेका नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले संविधान र संघीयता विरुद्द ठूलो षड्यन्त्र भएको बताए । “हिजो संविधान बन्न नदिन, संघीयता हुन नदिन, स्थानीय तह बन्न नदिन ठूलै षड्यन्त्र भइरहेको थियो । तर, माओवादीको नेतृत्वमा ती षडयन्त्र पराजित भए । निकै ठूलो चुनौतिका बीच चुनावमा आइयो । फेरि पनि षड्यन्त्र रोकिएको छैन, माओवादीलाई जिताएर यो षड्यन्त्र रोकौं ।“
कार्यक्रममा एमाले नेता एवं नागरिक मञ्चका अध्यक्ष बिनोद चौधरीको नेतृत्वमा विभिन्न पार्टी परित्याग गरि १५० जना कार्यकर्ता माओवादी केन्द्रमा प्रवेश गरेका छन् । कार्यक्रममा माओवादी केन्द्रका नेताहरु रामबहादुर थापा “बादल“, गोपाल ठाकुर लगायतका नेताहरुको उपस्थिति रहेको थियो ।