उत्तरकोरियाले अणुबम भन्दा शक्तिशाली हाइड्रोजन बमको परीक्षण गर्दा भुकम्पको महसुस

2170
views

एजेन्सी । उत्तर कोरियाले आफ्नो छैठौं परमाणु बमको सफल परीक्षण गरेको छ । उत्तर कोरियाले सो बमको परीक्षण गर्दा कोरियाली प्रायद्वीपमा भूकम्पको महसुस गरिएको थियो ।अमेरिकी भूगर्भ्विदहरुले उत्तर कोरियाको उत्तर पूर्वी क्षेत्रमा मापन गरिएको ६.३ रेक्टरस्केलको भूकम्प सोही विस्फोटनको भएको बताएका छन् । सोही क्षेत्रबाट उत्तर कोरियाले यसअघि पनि परमाणु परीक्षण गर्दै आएको थियो ।

भूकम्प

उत्तर कोरियाली नेता किम जङ उनले नयाँ प्रकारको हाइड्रोजन बम निरीक्षण गरिरहेको तस्बिर त्यहाँको राज्य सञ्चालित मिडियाले सार्वजनिक गरेको केही घण्टामा आएको थियो ।
अमेरिकी भूकम्प मापन संस्था युएसजीएसले भूकम्प आएको क्षेत्र पंगे–री परीक्षणस्थल नजिकै रहेको बताएको छ ।
उत्तर कोरियाको सरकारी सञ्चारमाध्यमले सो बम ब्यालिष्टिक क्षेप्यास्त्रमा जडान गर्न सकिने किसिमको भएको बताएको छ । दक्षिण कोरियाली अधिकारीहरुले पनि उत्तर कोरियाको पंगे–री आणविक परीक्षण क्षेत्र रहेको किल्जु काउण्टीमा भूकम्प गएको पुष्टि गरेका छन् ।
उत्तर कोरियाको सो परीक्षणपछि दक्षिण कोरियाली राष्ट्रपति मुन जे–इनले राष्ट्रिय सुरक्षा परिषदको आपतकालीन बैठक बोलाएका थिए । चीनको भूकम्प सम्बन्धी निकायले पनि सोही विस्फोतका कारण भूकम्प आएको हुनसक्ने जनाएको छ ।
यसैबीच उत्तर कोरियाले लामो दुरीको क्षेप्यास्त्रमा जडान गर्न मिल्ने परमाणु बमको सफल परीक्षण गरिएको जनाएको छ । भूगर्भ्विदले कोरियाली प्रायद्वीपमा भूकम्प मापन गरेको केही घन्टामा नै छैठौं परमाणुको सफल परीक्षण गरिएको बताएको छ ।
प्योङ्गयाङ्गले भनेको छ, ‘अणु बम भन्दा कैयौं गुणा शक्तिशाली हाइड्रोजन बम परीक्षण गरिएको छ ।’ अन्तर्रा्ष्ट्रिय विश्लेशकहरुले उत्तर कोरियाको पछिल्लो भनाईलाई सतर्कतापूर्वक लिनुपर्ने बताएका छन् । यद्यपि उत्तर कोरियाले पछिल्ला दिनमा आफ्नो परमाणु क्षमता तिव्र रुपमा विकास गर्दै लगेको छ ।
उसले गत वर्ष चौथो र पाँचौं परमाणु बमको परीक्षण गरेको थियो । संयुक्त राष्ट्रसंघको आर्थिक प्रतिबन्ध तथा अन्तर्रा्ष्ट्रिय दबाब हुँदाहुँदै पनि उसले परमाणु अस्त्र तथा अमेरिकी मूल भूमिसम्म प्रहार गर्न सक्ने क्षेप्यास्त्रको परीक्षण गर्दै आएको छ ।
आइतबारको परीक्षणका कारण उत्पन्न भएको कृत्रिम भूकम्पको शक्ति उसले यसअघि पाँचौं परीक्षण गर्दाको समयको भन्दा ९.८ गुणा बढी भएको बताइएको छ । दक्षिण कोरिया र अमेरिकाले केही समयअघि मात्रै दक्षिण कोरियामा संयुक्त सैन्य अभ्यास गरेपछि मात्रै उत्तर कोरियाले लगातार आणविक परीक्षण जारी राखेको हो ।
गत अगस्टमा मात्रै उत्तरले प्रशान्त महासागर क्षेत्रमा रहेको अमेरिकी द्वीप गुआममाथि हमला गर्ने चेतावनी दिएको थियो । सोही कारण अमेरिका र उत्तर कोरियाबीच तनाव बढिरहेका बेला उसले अमेरिकी गतिविधिलाई हेरेर मात्रै थप निर्णय गर्ने बताएको थियो ।
उत्तर कोरियाले आइतबार गरेको शक्तिशाली परमाणु बमको परीक्षणपछि अन्तर्रा्ष्ट्रिय क्षेत्रमा समेत तरंग उत्पन्न भएको छ । उत्तर कोरियालाई आफ्नो परमाणु कार्यक्रमबाट विमुख गराउँनका लागि राष्ट्रसंघ सुरक्षा परिषद र अमेरिकाले प्रतिबन्ध लगाउँदै आएका छन् । प्रतिबन्धका बाबजुद उत्तर कोरियाले आफ्नो परमाणु कार्यक्रमलाई निरन्तरता दिएको छ ।
आइतबारको परीक्षणपछि जापानले चीनमा रहेको उत्तर कोरियाको दूतावासमा विरोधपत्र पनि दर्ता गराएको छ । सो विरोधपत्रमा क्षेप्यास्त्र परीक्षणको त्रास र यसबाट उत्पन्न परिस्थिति कुनै पनि हालतमा क्षम्य नहुने जिकीर गरिएको छ ।
उत्तर कोरियाले अघिल्लो साता पनि जापानको समुद्रमा पर्नेगरी एक मिसाइल प्रहार गरेको थियो । जसका कारण जापानले गम्भीर रुपमा अन्तर्रा्ष्ट्रिय कानूनको उल्लंघन भएको भन्दै उत्तर कोरियामाथि कडाभन्दा कडा कारबाही गर्न माग गरेको थियो ।