प्रदेश २ का १३६ स्थानीय तहमा आज उम्मेद्वारी दर्ता

1960
views

काठमाडौं, २१ भदौ – स्थानीय तहको तेश्रो चरणको निर्वाचन अन्तगर्त प्रदेश २ का १ सय ३६ स्थानीय तहमा जनप्रतिनिधि चयनका लागि आज उम्मेदवारी दर्ता हुँदै छ । उम्मेदवारी दर्ताका लागि स्थानीय तहमा खोलिएका निर्वाचन अधिकृतको कार्यालयमा उम्मेदवारले बिहान १० देखि साँझ ५ बजेसम्म गराउनुपर्नेछ ।
राजनीतिक दलले प्रमुख र उपप्रमुख वा अध्यक्ष र उपाध्यक्ष दुवै पदमा उम्मेदवारी दिँदा एक पदमा अनिवार्य महिलालाई उम्मेदवार बनाउनुपर्छ । तराईका ८ जिल्लामा असोज २ मा हुने चुनावमा १ महानगरपालिका, ३ उपमहानगरपालिका, ७३ नगरपालिका र ५९ गाउँपालिका छन् । सबै तहबाट गरी ६ हजार ६ सय २७ जना जनप्रतिनिधि निर्वा्चित हुनेछन् ।
देशभरका ७ सय ५३ स्थानीय तहमध्ये प्रदेश २ का आठ जिल्लाभित्रका स्थानीय तहमा मात्रै निर्वाचन बाँकी छ । निर्वाचन परिणामलाई आफ्नो पक्षमा पार्न सबै दलहरुले उम्मेद्वार चयन गरिसकेका छन् । केही दलले भने तालमेलका लागि भन्दै वार्ता जारी राखेका छन् । कांग्रेस र माओवादी केन्द्रले एमालेबिरुद्ध संयुक्त उम्मेद्वारीको तयारी समेत कतिपय स्थानीय तहमा गरेका छन् । खासगरि एमालेको पकड भएका क्षेत्रमा यस्ता तालमेलको तयारी गरेका हुन् ।
राजपासहितका मधेशी दलले निर्वाचनमा भाग लिने भएपछि निर्वाचनको वातावरण निर्माण भएको हो । संविधान संसोधन प्रस्ताव संसदबाट अस्विकृत भएकोमा आपत्ती जनाउँदै मधेशी दल निर्वाचनमा होमिएका हुन् ।