राष्ट्रको उत्थानका लागि विपीकै नीति आवश्यक–डा. महत

336
views

नवदृष्टि संवाददता
भक्तपुर, २४, भदौ । बिपी कोईरालाको १०३ औं जन्मजयन्तीको अवसरमा भक्तपुरमा बर्तमान राजनीतिक परिप्रेक्षमा बिपी बिचारको सान्दर्भिकता बिषयक अन्र्तक्रिया कार्यक्रमको आयोजना गरिएको छ ।
कार्यक्रममा बोल्दै नेपाली काँग्रेसका केन्द्रिय सदस्य एवं पूर्व अर्थमन्त्री डा. रामशरण महतले राष्ट्र उत्थानका लागि दिगो शान्ति, सुदृढ अर्थतन्त्र र सच्चा लोकतन्त्र एक अर्कामा अन्योन्याश्रित रुपमा सम्बन्धित रहेको बताउनुभयो ।
महतले यिनिहरु मध्ये कुनैपनि अवयवको अनुपस्थितिमा मुलुकको समृद्धि सम्भव नभएको व्याख्या गर्दै विपीले उठाएको समाजवादले तल्लो स्तरकोलाई माथिल्लो स्तरमा बिकास गर्ने, सबैको अधिकारको संरक्षण र पर्यावरणको संरक्षक गर्ने बताउनुभयो । महतले यो नीति विपीको हो भन्दै यसको अबलम्बन नेपाली काँग्रेसले गरेको दाबी गर्नुभयो ।
महतको मन्तव्यमा अर्को केन्द्र विन्दुको विषय निर्वाचनमा केन्द्रित थियो । निर्वाचनको परिणाम प्रति ईङगीत गर्दै उहाँले चुनाव हार्नु आन्तरीक कारण भएको बताउनुभयो । नेता महतले मुलुकमा भ्रष्टाचार, चुहावट, विभिन्न विकृति र विसंगति राजनीतिक अस्थिरताका कारण भएको उल्लेख गर्दै कुनैपनि मुलुकमा यस्तो हुदैन, यहि अवस्था रहने हो भने देशको विकास समेत नहुने दाबी गर्नुभयो ।
उहाँले देशको बारेमा सोच्ने नेताको सोंच दुरगामी हुनुपर्नेमा जोड दिदैं राष्ट्रलाई मजबुत बनाउने नीति र निर्णय नेपाली काङ्ग्रेसले मात्र लिएको बताउनुभयो । उहाँले स्थानीय सरकार, प्रदेश सभाले जनतामा केही आशा जगाएकोले स्थानीय सरकारले आधुनिक पुर्वाधार, उद्यमशिलतामा वृद्धि, रोजगारीमा वृद्धि गर्नेतिर ध्यान दिनुपर्ने बताउनुभयो ।
कार्यक्रममा नेपाली काँग्रेसका भक्तपुर सभापति दुर्लब थापा, केन्द्रिय सदस्य जीवन खत्री, भक्तपुर क्षेत्र न २ का सभापति नारायण खायमलि, नेपाली काँग्रेसका महासमिति सदस्य तथा मध्यपुर ठिमीका पुर्ब मेयर मदनकृष्ण श्रेष्ठ, तरुण दल केन्द्रिय सदस्य बिनोद कायस्थ, पुर्ब उपमेयर मुरारी आचार्य, महिला संघ जिल्ला कार्य समितिका अध्यक्ष सरु बानियाँ लगायतले सिमा बिभाजन गर्दा केन्द्रिय सदस्यहरुले जिल्लाका जिम्मेवार नेताहरुसङ्ग सुझाव लिनु पर्नेमा जोड दिनुभएको थियो ।
बक्ताहरुले नेपालको प्रजातान्त्रीक आन्दोलनका साथै साहित्यको विकासमा महत्वपूर्ण योगदान गर्नुभएका विपीको मेलमिलाप र समाजवादबो नेपाली राजनीतिमा अझै सान्दर्भीक रहेको बिचार व्यक्त गर्नुभएको थियो । भक्तपुर नगर सभापति सुरेन्द्र श्रेष्ठको सभापतित्वमा सो कार्यक्रम सम्पन्न भएको थियो ।