तमोर आयोजनालाई बढाउन स्थानीयको माग

1505
views

नवदृष्टि सम्वाददाता काठमाडौं ,०१, वैसाख । सप्तकोसी नदी गोसाइकुण्ड र कञ्चन्जंगा जलाधार क्षेत्र भएर बहने इन्द्रावती, सुनकोसी, तामाकोसी, लिखु, दूधकोसी, अरुण र तमोरलाई समेट्ने नेपालकै सबैभन्दा ठूलो नदी मात्र नभएर सिन्धु र ब्रह्मपुत्रपछि हिमालयबाट निस्कने ठूलो नदी हो ।
सात सय ६३ मेगावाटको तमोर जलाशययुक्त आयोजना निर्माण गर्न एक नम्बर प्रदेशका स्थानीयले माग गरेका छन्। उनीहरुले उक्त आयोजनालाई सात सय ७३ मेगावाटभन्दा बढी क्षमतामा बनाउँदा राम्रो हुने भन्दै सोही अनुसार अघि बढ्न आग्रह गरेका छन् ।

यो तेह्रथुमको ओख्रे र पाँचथरको स्याबरुम्बा गाविसको सीमा भएर बग्ने तमोर नदीमा दुई सय पाँच मिटर अग्लो बाँध बाधेर सात सय ६३ मेगावाट विद्युत् निकाल्न सकिने गरी नेपाल विद्युत् प्राधिकरणले सम्भाव्यता अध्ययन प्रतिवेदन तयार गरेको आयोजना हो। प्राधिकरणको अध्ययन अनुसार यसको बाँध दुई सय ५० मिटर अग्लो बनाउने हो भने क्षमता १२ सय ५० मेगावाट पुग्छ। तैपनि प्राधिकरणले यसलाई सात सय ६३ मेगावाट क्षमतामा अगाडि बढाउने गरी विस्तृत अध्ययन गरिरहेको छ ।

मन्त्रिपरिषद्बाट पारित राष्ट्रिय ऊर्जा संकट निवारण तथा विद्युत विकास दशकसम्बन्धी अवधारणापत्र–२०७२ मा प्रस्तावित ११ जलाशययुक्त आयोजनाको आठौं प्राथमिकतामा तमोर आयोजना छ। जसमा यो आयोजनाको क्षमता ६ सय ९२ मेगावाट रहने र २०८२ सालभित्र सम्पन्न गर्ने लक्ष्य छ । प्राधिकरणले तयार गरेको प्रतिवेदन अनुसार यस आयोजनाबाट वार्षिक ११०५।३२ गिगावाट आवर विद्युत् उत्पादन हुन्छ। यसबाट हिउँदमा ६ घन्टा र बर्खामा दैनिक २४ घन्टा विद्युत उत्पादन गर्न सकिन्छ। बाँध तीन सय मिटर अग्लो बनाए जडित क्षमता २५ सय ६५ मेगावाट हुने र वार्षिक ४९६८।५६ गिगावाट विद्युत् निकाल्न सकिने बताइएको छ। यो आयोजनाबाट हिउँदमा १२ घन्टा र बर्खामा दैनिक २४ घन्टा विद्युत उत्पादन गर्न सकिन्छ। त्यसैले यो आयोजनाको जडित क्षमता सात ६३ मेगावाटबाट बढाएर २५ सय ६५ बनाई हिउँद यामको बढ्दो लोडसेडिङ कम गर्नेतर्फ सबै पक्षले ध्यान दिनु आवश्यक रहेको तमोर जलाशययुक्त आयोजना सरोकार समूहका अध्यक्ष नरबहादुर खड्का बताउँछन् ।

प्राधिकरणको आवेदन उपर ऊर्जा मन्त्रालयबाट कारबाही हुँदा २०७० साउन ३० गत ६ सय ५० फुल सप्लाई लेबल हुँदा लाइसेन्स जारी भइसकेका कावेली ए ३७।६ मेगावाट र तल्लो हेवा २१।६ मेगावाटको को–आर्डिनेट ओभरल्याप हुने हुँदा चार सय ५० फुल सप्लाई लेबल कायम गरेर सम्भाव्यता अध्ययन गर्न तीन वर्षको लागि लाइसेन्स दिइएको थियो ।

प्राधिकरणले विभिन्न क्षमतामा अध्ययन गर्दा उक्त आयोजना सात सय ६३ मेगावाटभन्दा ठूलो बनाउँदा मात्र आकर्षक हुने निष्कर्ष निकाल्यो। प्राधिकरणले यसको क्षमता सात सय ६३ मेगावाट कायम गर्न २०७३ फागुन १९ गते विद्युत् विकास विभागमा आवेदन दिएकामा हालसम्म स्वीकृति पाएको छैन। विद्यमान जलविद्युत् नियमावली र कार्यविधि अनुसार ऊर्जा मन्त्रालयबाट जारी भएका लाइसेन्सको को–अर्डिनेट ओभरल्याप हुने गरी अर्को लाइसेन्स जारी गर्ने अधिकार ऊर्जा सचिवलाई छैन। त्यसैले सरकारले स्रोतको अधिकतम् उपयोग हुने गरी उक्त आयोजनाको लाइसेन्स मन्त्रिपरिषद्बाट निर्णय गर्न जरुरी रहेको स्थानीय बताउँछन्।

यो आयोजना निर्माण हुँदा कावेली ए ३७।६ मेगावाट र तल्लो हेवा २१।६ मेगावाट डुब्छन्। ती दुवैलाई ऊर्जा क्षतिपूर्ति दिने गरी यो आयोजना तत्काल अगाडि बढाउन जरुरी भएको समूहका अध्यक्ष खड्काले बताए। ुआयोजना निर्माण गर्दा एक सय २६ बस्ती मात्र बिस्थापित हुन्छन्, उनले भने, यो आयोजना ऊर्जा उत्पादनका हिसाबले पनि बढी महत्वपूर्ण छ ।

प्राधिकरणको सम्भाव्यता अध्ययन प्रतिवेदन अनुसार लुम्बुघाट भन्दा डेढ किलोमिटर तल दुई सय ५० मिटर अग्लो बाँध बनाउँदा नदीको पानी बाँधस्थलबाट तमोर नदीमा ३८ किलोमिटर पछाडिसम्म फर्किएर ३८।६५ वर्ग किलोमिटर क्षेत्रफलको तलाउ बन्छ। उक्त तलाउ तेह्रथुम जिल्लाको ओख्रे, सुङ्नाम, सोल्मा, म्याङ्लुङ्, तम्फुला, जलजले, सिम्ले, थोक्लुङ, चुहानडाँडा, छातेढुंगा, इवा र ह्वाकु तथा पाँचथरका स्याबरुम्बा, रानीगाउँ, लुम्फुवाङ्, नवमी डाँडा, चोकम्जु, फिदिम, नागिन, बार्पा, सुभाङ्, पञ्चमी, अमरपुर र नागीसम्म फैलिन्छ। त्यसैगरी ताप्लेजुङ जिल्लाका निगुरादिन, फूलबारी, हाङ्पाङ्, फुङ्लिङ, दोखु, नाङ्खोल्याङ्, थेचम्बु, र चाक्सीबोटेसम्म पनि जलाशय फैलन्छ ।

नेकपा एमालेको जलस्रोत तथा ऊर्जा विभाग सदस्य तथा जलविद्युत् आयोजना प्रवर्द्धक प्रकाश दुलाल यो तलाउमा हुने जलयातायातले तेह्रथुम सदरमुकाम म्याङ्लुङ्, पाँचथर सदरमुकाम फिदिम र ताप्लेजुङ सदर मुकाम फुङ्लिङ जोड्ने बताउँछन्। यसरी जलमार्गबाट तीन जिल्लाको सदरमुकाम जोडिनु अर्को उपलब्धि हुने उनको भनाइ छ ।

आयोजना निर्माणका क्रममा बन्ने मुलघाट–लुम्बुघाट ३० किलोमिटर सडक निर्माणपछि मुलघाट–लुम्बुघाट–म्याङ्लुङ्–बसन्तपुर–हिले–धनकुटा–मुलघाट चक्रपथ बन्छ। यो चक्रपथमा सडक पूर्व–पश्चिम मध्यपहाडी राजमार्गको म्याङ्लुङ्–बसन्तपुर–हिले तथा उत्तर–दक्षिण रानी–किमाथांका राजमार्गको मुलघाट–बसन्तपुर खण्ड पर्छ ।

यसको बाँधस्थल तेह्रथुम जिल्लाको ओख्रे गाविस र पाँचथर जिल्लाको स्याबरुम्बा गाविसमा पर्छ, जुन कोसी राजमार्गको धनकुटा धरान सडक खण्डको मुलघाटबाट ३० किलोमिटर पर छ । आयोजनाको बाँधस्थलसम्मको मुख्य पहुँचमार्ग मुलघाट–लुम्बुघाट सडकखण्डको ३० किलोमिटरमध्ये २७।५ किलोमिटरको ट्र्याक खुलिसकेको छ । निर्माणाधीन ट्र्याक खुल्नासाथ यो आयोजनाको बाँधस्थलसम्मको मुख्य पहुँच मार्ग तयार हुने स्थानीयको भनाइ छ ।

यो आयोजनामा बन्ने जलाशयको पानी पूर्व–पश्चिम मध्यपहाडी राजमार्गको फिदिम–आठराई ३५ किलोमिटर सडक खण्डको तमोर नदीमा निर्मित पुलको लेबलभन्दा माथिसम्म आएर सो पुल डुब्छ। सो पुल रहेको ठाउँ पाँचथर सदरमुकाम फिदिमबाट १४ किलोमिटर र तेह्रथुमको ऐतिहासिक संक्रान्ति बजारबाट २१ किलोमिटर दुरीमा छ । सो पुल डुबेपछि मध्यपहाडी राजमार्ग सञ्चालनको लागि यस आयोजनाले सो पुलको सट्टामा तलबाट जलयातायात सञ्चालन गर्न सकिने गरी बन्ने पक्की पुल आफैंमा आकर्षण बन्न गई यहाँ पर्यटन विकासको सम्भावना बढ्ने स्थानीय बताउँछन् ।

यो आयोजनाको ड्यामको फैलावट पूर्व–पश्चिम मध्यपहाडी राजमार्गमा सरकारले प्रस्ताव गरेको ११ वटा नयाँ सहरमध्ये पाँचथरको फिदिमबाट १४ किलोमिटर र तेह्रथुमको बसन्तपुरबाट ४० किलोमिटरमा छ। नेपालको अधिक जनसंख्या भएका तराईका जिल्लाहरु झापा, मोरङ र सुनसरीबाट यो नजिक छ। जसका कारण यो आयोजनामा बन्ने तलाउलाई जलपर्यटनको केन्द्र बनाउन सकिने देखिन्छ ।

यो आयोजना पूर्व–पश्चिम ४०० केभिए प्रसारण लाइनबाट करिब ७५ किलोमिटर दुरीमा भएकाले यो आयोजनाबाट उत्पादित बिजुली राष्ट्रिय प्रसारण प्रणालीमा सहजै जोड्न सकिन्छ। आयोजनाको भौगोलिक अवस्थिति नेपालको पुरानो मोरङ सुनसरी औद्योगिक क्षेत्र तथा प्रस्तावित दमक औद्योगिक क्षेत्रबाट नजिक रहेकोले यस क्षेत्रमा बढ्दो ऊर्जाको मागलाई सम्बोधन गर्न पनि यो योजना बन्न जरुरी रहेको स्थानीयको भनाइ छ ।

यसबाहेक आयोजना निर्माणका क्रममा सिर्जना हुने प्रत्यक्ष तथा अप्रत्यक्ष रोजगारी, अयोजनामा सेयर लगानी गर्ने अवसर, आयोजना प्रभावित क्षेत्रमा आयोजनाले सामाजिक विकासमा गर्ने लगानी आदिका कारण धनकुटा, तेह्रथुम, पाँचथर, ताप्लेजुङ्मा यस आयोजनाको अझ बढी महत्व छ।

आकर्षक आयोजना
नेपालमा पहिचान गरिएका ५२ वटा जलाशययुक्त आयोजनाबाट करिब ४३ हजार तीन सय ४५ मेगावाट उत्पादन गर्न सकिने सम्भावना रहेको एक तथ्यांकले देखाए पनि सबै आयोजनाहरु आर्थिक रुपले सम्भाव्य छैनन् । बहुचर्चित जलाशययुक्त आयोजना बूढीगण्डकीको तुलना आर्थिक, सामाजिक र वातावरणीय हिसाबले तमोर आकर्षक रहेको दुलाल बताउँछन्। बूढीगण्डकीमा २५ सय ४९।५५ मिलियन अमेरिकी डलर लगानी गर्दा ३३ सय ८३ गिगावाट आवर बिजुली प्राप्त हुन्छ भने तमोरमा १२ सय १७।३० मिलियन डलर लगानी गरेर ३३ सय ५४ गिगावाट आवर प्राप्त हुने अधययनहरुले देखाएका छन्। विस्थापित हुने अन्य आयोजनालाई वार्षिक रुपमा क्षतिपूर्ति दिँदा समेत यो आयोजना आकर्षक देखिन्छ । यसको निर्माणले एक नम्बर प्रदेशको समृद्धिको ढोका खुल्ने दुलालको भनाइ छ ।