राष्ट्रियताबारे भ्रम र वास्तविकता

857
views

श्रीकृष्ण सुलु । धुँवादारको गलत प्रचारले गर्दा राष्ट्रियताबारे धेरै भ्रम फैलिएको छ । यहाँसम्म कि व्रम्हाणवादी खस जातीय भाषा, भेषभुषा र संस्कृति नै राष्ट्रियता हो भन्ने परिरहेको छ । गलत कुरालाई पनि सही हो भनी हजारौ पटक प्रचार गरेपछि भ्रम सिर्जिन्छ । दिमागको प्लास्तिक स्वभावले गर्दा दिमागमा एउटा चीज भरिदिए पछि त्यसलाई मेटाउन गाह्रो हुन्छ । खराबै या गलतै विचार भए पनि, बारंबार दोहो¥याएपछि त्यो वैचारिक शक्ति भौतिक शक्तिमा रुपान्तरण हुन्छ । यसले त्यो विचार वाहेकका अरु कुरा सुन्न पनि अधैर्यता हुने खतरा हुन्छ । त्यसैले विचार भनेको सही दिनु पर्छ । विचारमा विष छर्नु महापाप हो । लेनिनको पालामा रुसमा ‘प्राब्धा’ पत्रिका एक दिन मात्र पढिएन भने पनि दिमागमा बुर्जुवा गलत विचार छिर्छ भनिन्थ्यो । यहाँ पनि सही विचारको अभावमा धेरै भ्रम फैलिएको छ । त्यसैले यहाँ राष्ट्रियता र जातीय मुक्तिबारे केही भ्रम र खोटा विचारहरुको खण्डन तथा सही विचारमाथि प्रकाश पार्ने प्रयास गरिएको छ ।

राष्ट्रिय एकताका दुई तरिका दमनमा आधारित र समानतामा आधारित

राष्ट्र भनेको जाति÷जनता हो । राष्ट्रियता भनेको जाति जाति (या जनता जनता) वीचको एकता हो । राष्ट्रियता या राष्ट्रिय एकता कायम गर्ने दुइटा तरिका छन्, एउटा माथिबाट तल जबर्जस्ती तानाशाही ढंगले लाद्ने तरिका, मैले भनेको भाषा मात्र बोल्नु पर्छ, मैले भनेको जातिले मात्र अवसर पाउनु पर्छ, मैले भनेको सँस्कृति मात्र मान्नु पर्छ, जसको अभ्यास हिटलरदेखि महेन्द्र, ज्ञानेन्द्रसम्मका राजाहरुले गरे । यो शोषण, उत्पीडन, दमन र अन्यायमा आधारित कथित राष्ट्रियता हो । अर्को न्याय र समानातामा अधारित वास्तविक राष्ट्रियता हुन्छ, जुन जनस्तरबाटै उठेको हुन्छ, एकले अर्कोलाई समान गर्ने, अस्तित्व स्वीकार्ने, समान अधिकार पाउने हुन्छ । यसमा एकले अर्कोलाई शोषण, अन्याय, दमन गर्ने भन्ने कुरै उठ्दैन । यस्तो न्यायमा आधारित राष्ट्रियताले दीगो शान्ति र द्रुत विकास हुन्छ ।

जनवादको दुई कार्यभार ः सामन्तवाद र साम्राज्यवादको अन्त्य

जनवादको दुई कार्यभार सामन्तवाद र साम्राज्यवादको अन्त्य गर्नु हो । आन्तरिक र वाह्य राष्ट्रियता सम्बन्धी समस्याको वास्तविक समाधान नयाँ जनवादी व्यवस्थाले मात्र दिन सक्छ । आन्तरिक भनेको देश भित्रैका बिभिन्न जाति भाषाभाषी बीचको एकता हो । बाहय राष्ट्रियता भनेको बिदेशी थिचोमिचो बिरुद्धको संघर्षका निम्ति हुने एकता हो । सख ब्रम्हाणवादी उच्च जातीय अहंकारवादमा आधारित सामन्तवाद र भारतीय विस्तारवाद र तिनको दलालीमा स्थापित दलाल शासकहरुको अन्त्यविना नेपाली जनताको र नेपाल राष्ट्रको विकास एवम् समृद्धि सम्भव छैन ।

बाह्य राष्ट्रियताका लागि आन्तरिक राष्ट्रियता बलियो हुनु अनिवार्य

देशभित्रका जनाताबीचको एकता नै आन्तरिक राष्ट्रियता हो । आन्तरिक राष्ट्रियता सुदृढ नगरी बाह्य राष्ट्रियताको रक्षा संभव छैन । सबै जाति÷भाषा÷सँस्कृतिले समान अधिकार पाएपछि मात्र भावनात्मक एकता पैदा हुन्छ । आन्तरिक राष्ट्रियता बलियो हुन्छ । महेन्द्रीय एकल जातीय मण्डले अन्धराष्ट्रवादबाट नेपालको राष्ट्रियताको रक्षा संभव छैन।

प्रगतिशील राष्ट्रियताको आवश्यकता

राष्ट्रियता भनेको सिमाको सबाल मात्रै होइन । राष्ट्रियताका बहुआयामहरु हुन्छन् । आर्थिक, सामाजिक, भाषिक, साँस्कृतिक आदि इत्यादि पनि राष्ट्रियतामा पर्छन् । राष्ट्रियता बचाउन यी सबैमा ध्यान पु¥याउनु पर्छ । ३ महिना बढी नाकाबन्दी हुँदा खाली भारतबाट नुन आएन, तेल आएन, ग्याँस आएन, यो आएन, त्यो आएनको मात्र कुरा थियो । नाकाबन्दीले गर्दा यो नेपाली उत्पादन विदेशमा बेच्न पाइएन भन्ने कुरा आएन । यसको अर्थ हाम्रो उत्पादन छैन, हामी आत्मनिर्भर छैनौँ भन्ने नै हो । यस्तो अवस्थाले राष्ट्रियता कमजोर बनाउँछ । गहन अध्यायन, बिश्लेषण गर्नु पर्छ ।

विभेद र उत्पीडननै विखण्डनको आधार

जाति(राष्ट्रियता)हरुलाई अधिकार दिंदा देश विखण्डित हुन्छ भन्ने हल्ला खस जातीय अहंकारवादीहरुले चलाइरहेका छन् । संघीयताको ठूल्ठूला कुरा गर्नेहरु वर्षौदेखि विभेद र उत्पीडनमा पारिएका जातिहरुलाई अधिकार सम्पन्न भएको देख्न चाहँदैनन् । अहिले पनि उनीहरु पहिचान र सामथ्र्य्विनाको नाम मात्रको संघीयतामा अल्मल्याएर विभेद र उत्पीडनलाई नयाँ स्वरुपमा कायम राख्न चाहिरहेका छन्, खासगरी कांग्रेस, एमाले, माके र राप्रपाहरुले । बललाई जति जोडले भुइँमा फाल्छौ, बल त्यति नै जोडले माथि उफ्रन्छ, भनेजस्तै शासकहरुले जति धेरै विभेद र उत्पीडन लाद्छन् र उत्पीडित जातिहरुलाई अधिकार दिंदैनन्, त्यसले नै विद्रोह र विखण्डनलाई जन्माउन खतरा बढिरहन्छ ।

राष्ट्रवाद भनेको जातिवाद हो ः हामी देशभक्त हुने हो

राष्ट्र भनेको देश वा राज्य होइन बरु जाती हो । नेशनलाई नेपालीमा जाती या राष्ट्र भनिन्छ । त्यसैले राष्ट्रवाद भनेको जातिवाद हो, देशभक्ति होइन । साझा भाषा, साझा संस्कृति, साझा भूगोल, साझा इतिहास, साझा मनोबिज्ञान भयो भने एउटा जाति या राष्ट्र बन्छ । नेपाल एक बहुराष्ट्रिय देश हो । तर यहाँ राष्ट्रलाई नै देश र राष्ट्रवादलाई नै देशभक्ति भन्ने भ्रम छ । वास्तवमा राष्ट्रवाद भनेको जातिवाद हो । जातिवाद्को स्रोत सामन्तवाद र गन्तव्य फासिवाद हो । । त्यसैले राष्ट्रवाद ज्यादै खतरनाक चीज हो । हिट्लर पनि राष्ट्रवादको नाममा फासिवादी बनेको हो । नेपाली हुनु र नेपालको माया गर्नु छुटै कुरा हो यो देशभक्ति हो तर राष्ट्रवादी हुनु भनेको जातिवादी हुनु हो ।

समृद्ध देशलाई गरीब र खोक्रो बनाउने पनि देशभक्त ?

इटालीका एक इतिहासविद्का अनुसार मल्लकालामा काठमाण्डौ उपत्यकाका जनताको आर्थिक स्तर, जीवन स्तर, प्रतिव्यक्ति आम्दानी लगभग जर्मनको जति थियो । तर आज के संसारकै गरीब मुलुकमा नेपाल छ । यो कसले पु¥यायो ? सन् १९८० मा नेपालको प्रतिव्यक्ति आम्दानी ३२० डलर थियो । लगभाग चीनभन्दा नि धनी । तर आज चीनको प्रतिव्यक्ति आम्दानी ११,००० डलर पुगेको छ, नेपालको ७०० डलर मात्र छ । आखिर यो सब कसले गर्दा भयो ? बि सं २०५२ सालमा अरुण तेस्रो (विश्व बैंक)लाई नफर्काइएको भए आज नेपालसँग थप ९०० मेघावाट बिजुली हुन्थ्यो । बिजुलीमा भारतिय एकाधिकार कायम गराउन त्यो बेला अरुण तेस्रो (विश्व बैंक)लाई फर्काइएको होइन ? भारतीय एकाधिकार पुँजीको पक्षमा वकालत गर्ने एमालेजनहरु नै आज कुन हिसाबले देशभक्त दावी गर्छन् ?

 

भाषा, जाति, सँस्कृति, धर्म आदि फरक भएकै आधारमा क्षणिक राजनीतिक लाभको लागि कसैको देशभक्तिमाथि लान्छना लगाउन थालियो भने नेपाली राष्ट्रियता कमजोर हुन्छ । अधिकार मागेकै कारण जथाभावी बोल्नाले सि. के. राउत प्रवृत्तिहरुलाई फाइदा हुन्छ । कमजोरलाई होच्याउनु सामन्ती सोच हो । सानो या कमजोरलाई होच्याउनु अन्यायकै पक्ष लिनु हो । असमान व्यवहार र होच्याउने प्रवृत्तिले राष्ट्रियतालाई कमजोर बनाउँछ । कसैले के भन्छ होइन के गर्छ र के गर्छ भन्दा नि किन गर्छ कारण बुझेर मात्र अगाडि बढौं । शोषणरहित समृद्ध नेपाल निर्माणका लागि जनवादी क्रान्तिको तयारीमा जुटौं ।