अनिताको उपचारमा जापानबाट सहयोग

1847
views

टोकियो (जापान), ३१, भदौ। दयनीय पारिवारिक अवस्थाका कारण उपचार गर्न नसकेको पोखराको धौलाकोटी परिवारलाई जापानवासी नेपालीले आर्थिक सहयोग गरेका छन् ।

खाना बनाउने स्टोभपम्पको मट्टितेल उछिट्टिएर सल्किएको आगोबाट छाती, ढाड र हातको केही भाग जलेर गम्भीर अवस्थामा उपचाररत पोखरा– लेखनाथ महानगरपालिका–१ बगरकी अनिता धौलाकोटीको उपचारका लागि जापानवासी नेपालीले रु ७० हजार ९०० सहयोग गरेका हुन् ।

धरानका सन्तोष धौलाकोटी र म्याग्दिकी अनिता बस्नेतबीच दुई वर्ष अघि भागी बिहेपछि पोखराको लेखनाथस्थित बगरमा सामान्य व्यवसाय गर्दै आएका उनीहरुले व्यवसाय गर्ने क्रममा सो दुर्घटना भएपछि दुईसाता अघि जापानवासी नेपालीसँग सहयोगको अपिल गरेका थिए ।

जापानवासी सागर गुरुङले रु ७० हजार ९०० आफ्ना भाइ योगेशमार्फत पीडित परिवारसमक्ष पठाएका थिए । पीडित परिवारले गत शुक्रबार रकम बुझेको जनाएको छ ।

उपचारमा संलग्न डाक्टरका अनुसार अनिता अहिले खतरामुक्त अवस्थामा रहेको र उपचारका लागि अझै दुई महिना लाग्ने बताइएको छ । प्रारम्भिक चरणमा अनिताको छालाको शल्यक्रिया सम्पन्न भइसकेको छ ।