दशैंका लागि भेडा च्याङ्ग्रा निकासी, मुल्य ३२ हजारसम्म

774
views

चन्द्रश्वर बस्ताकोटी
जोमसोम २, असोज । दशैं तिहारका लागि निकासी भएका च्याङ्ग्राको मुल्य २५ देखी ३२ हजारसम्म पुगेको चयाङग्रा व्यापारीले बताएका छन् । बडादशैं नजिकिएसँगै भेडाच्याङ्ग्रा निकासीका लागि मुस्ताङ पुगेका व्यापारीले २५ देखी ३२ हजारसम्म मुल्य पुगेको बताएका हुन् ।
बेनी–जोमसोम सडक मार्ग भएर म्याग्दी, पर्वत, बाग्लुङ, कास्की, चितवन र राजधानी सम्मको बिक्री व्यापारका लागि मुस्ताङबाट भेडाच्याङ्ग्रा निकासी गर्न व्यापारीहरु मुस्ताङ सदरमुकाम जोमसोम केन्द्रित भएका छन् ।
मुस्ताङमा कृषकले पालेका भेडाच्याङ्ग्रा बिक्रीका लागि जोमसोम ल्याइएका छन् भने देशका विभिन्न ठाउँका व्यापारीहरु खरिदका लागि जोमसोम आएका हुन् । बेनी–जोमसोम सडक भएर दैनिक सयौँको संख्यामा भेडाच्याङ्ग्रा निकासी भइरहेको छ ।
मुस्ताङबाट भेडाच्याङ्ग्रा ल्याएर शुक्रबार पोखरेबगर आइपुगेका रोल्पाका व्यापारी मानसिङ बुढाले एउटा भेडा (च्यालु) लाई रु १९ हजार र च्याङ्ग्रालाई रु २५ देखि ३२ हजारसम्ममा खरिद बिक्री भइरहेको बताए ।
यसवर्ष मुस्ताङबाट करिब २० हजार भेडाच्याङ्ग्रा निकासी हुने जिल्ला पशु सेवा कार्यालयको अनुमान छ । अहिले कृषकले पालेका भेडाच्याङ्ग्रा बजारमा पठाउने क्रम शुरु भएको कार्यालयका योजना अधिकृत आइतबहादुर थकालीले बताए ।