अमेरिकाले ईस्लामिक विरुद्ध अहिलेसम्मकै ठूलो अपरेसन गर्याे 

अचिन जिल्लामा १० हजार किलो क्षमताको गैर–परमाणु बम प्रहार

1306
views

एजेन्सी । अफगानिस्तानः अमेरिकाले इस्लामिक आतंकवादी संस्था ‘आइएसआइएस’ विरुद्ध अहिलेसम्मकै सबैभन्दा ठूलो अपरेसन गरेको दाबी गरेको छ । अमेरिकाले पाकिस्तान सीमानजिकै अफगानिस्तानको अचिन जिल्लामा बिहीबार राति अहिलेसम्मकै शक्तिशाली १० हजार किलो क्षमताको गैर–परमाणु बम प्रहार गरेको छ । जिबियू (४३ नाम गरेको बम अफगानिस्तानमा सफलतापूर्वक खसाएपछि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सेनालाई बधाई दिएको दृश्य समाचार एजेन्सीले प्रकाशन गरेका छन् । आफूले अफगानिस्तानमा बम खसाउन आदेश दिएको ट्रम्पले बताउनुभयो । राष्ट्रपति बन्नुअघि ‘आइएसआइएस’ विरुद्ध ठूलो अभियान थाल्ने ट्रम्पले घोषणा गर्नुभएको थियो ।
यो घटनामा ३६ आइएसआइएस आतंककारी मारिएको दाबीसमेत अमेरिकी सैनिकले गरेका छन् । ‘आइएसआइएस’ का आतंकवादीहरू संगठित रूपमा बसेको हुन सक्ने आशंकामा अमेरिकाले अफगानिस्तानको नाङ्गरहार प्रदेशको अचिन जिल्लामा बम विस्फोट गराएको हो । बम विस्फोटपछि ‘आइएसआइएस’ को नाङ्गरहार प्रदेशमा रहेको तालिम केन्द्र ध्वस्त भएको दाबी गरिएको छ ।
अफगानिस्तानका सरकारका एक उच्च अधिकारी अबदुल्ला अबदुल्लाले सरकारसँग कुनै समन्वय विना गरिएको यो आक्रमणबाट सर्वसाधारण नपरून् भन्नेमा भने होसियारी अपनाएको बताउनुभयो । अफगानिस्तानका पूर्वराष्ट्रपति हमिद कारजाईले अमेरिकाको यो आक्रमणको निन्दा गर्दै अमेरिकाले अफगानिस्तानलाई क्रूर बम परीक्षण केन्द्र बनाएर दुरुपयोग गरेको भन्दै खेद प्रकट गर्नुभएको छ । यो शक्तिशाली बमलाई ‘बमकी आमा’ को उपमा दिइएको छ । यो बम अमेरिकाले आफ्नो भीमकाय एमसी(१३० एयरक्राफ्टको सहयोगले अफगानिस्तानमा खसालेको थियो । अमेरिकाले यो बम इराक युद्धका लागि बनाएको थियो । एक साताअघि अमेरिकाले सिरियामा ५० भन्दा बढी मिसाइल प्रहार गरिसकेको छ । अमेरिकी विशेष फोर्सबाट जिपिएसले निर्दे्शित गरेअनुसार उक्त क्षेत्रमा बम खसालिएको हो । बमको आवाजले उक्त क्षेत्रमा ठूलो आँधीले समुद्रमा रहेको डुंगा हल्लिएजसरी जमिन हल्लिएको र केटाकेटी तथा महिला डरले चिच्याउँदै घरबाट बाहिर भागेको समाचार एजेन्सीले उल्लेख गरेका छन् ।