मापदण्डविपरीतको भवन भत्काउन आदेश

1281
views

काठमाडौँ,७ असोज । जिल्ला प्रशासन कार्यालय काठमाडौँले राजधानीको न्युरोडस्थित जुद्ध शालिक नजिकै बन्दै गरेको व्यापारिक भवन भत्काउन आदेश दिन नगर विकास कार्यान्वयन योजना समितिलाई अनुरोध गरेको छ । व्यापारिक भवन स्वीकृत मापदण्डविपरीत बनिरहेको समाचार प्रकाशमा आएपछि जिल्ला प्रशासन कार्यालयद्वारा गठित समितिले दिएको प्रतिवेदनका आधारमा उक्त अनुरोध गरिएको हो । भवन महर्जन बिजनेस एसोसिएट्स प्रालिले नियो क्लासिक डिजाइनमा निर्माण गरिरहेको छ ।
प्रतिवेदनपछि उक्त भवन प्राचीन स्मारक संरक्षण ऐन २०१३ (संशोधन सहित)को दफा ९ बमोजिम स्वीकृत मापदण्डविपरीत बनेको भवन भत्काउन आदेश दिन नगर विकास योजना कार्यान्वयन समितिलाई अनुरोध गरिएको हो ।
हनुमानढोका दरबार संरक्षित स्मारक क्षेत्रभित्र पर्ने उक्त भवन प्राचीन स्मारक संरक्षण ऐनविपरीत निर्माण भइरहेको प्रतिवेदनमा उल्लेख छ ।
पुरातìव विभागअन्तर्गतको विश्व सम्पदा संरक्षण शाखालगायत विभिन्न निकायले निर्माणाधीन भवन मापदण्डविपरीत भएको भन्दै निर्माण रोक्न काठमाडौँ जिल्ला प्रशासन कार्यालयमा उजुरी गरेको थियो । उजुरी परेपछि जिल्ला प्रशासन कार्यालयले उक्त भवन निर्माणको अवस्थाबारे अध्ययन गर्न तीन सदस्यीय समिति गठन गरेको थियो ।
काठमाडौँ महानगरपालिकाका इञ्जिनियर हिक्मतसिंह कठायत, काठमाडौँ उपत्यका विकास प्राधिकरणका इञ्जिनियर रवि शर्मा र पुरातìव विभागका इञ्जिनियर शोभा महर्जन सम्मिलित समितिले अध्ययन गरी तयार पारेको प्रतिवेदनमा उक्त भवन मापदण्डविपरीत निर्माण भइरहेको उल्लेख छ ।
काठमाडौँ महानगरपालिका वडा नम्बर २४ मा पर्ने कित्ता नं. ९२४ को ६२७ दशमलव ९८ वर्ग्मिटरमा बनिरहेको उक्त भवन स्वीकृत नक्साभन्दा फरक रहेको प्रतिवेदनमा उल्लेख छ । उक्त भवनको नक्सामा भूमिगत तला (बेसमेन्ट) नभएको भए पनि भवन निर्माण गर्दा नौ फिट सात इञ्चको बेसमेन्ट र चार फिटको लिफ्ट पिट निर्माण गरिरहेको प्रतिवेदनमा उल्लेख छ ।
उक्त बेसमेन्टका कारण सँगै रहेको मल्लकालीन ढुकुटीको सुरक्षामा समेत चुनौती थपिएको स्थानीय सम्पदाप्रेमीहरूले गुनासो गर्दै आएका छन् ।
त्यस्तै भवनको भुइँ तला, पहिलो तला र दोस्रो तलाको उचाइ ७ फिट ७ इञ्च मात्र हुनुपर्नेमा १० फिट ७ इञ्च रहेको प्रतिवेदनले देखाएको छ । भवन तेस्रो तलासम्म निर्माण गर्दा ३५ फिट हुनुपर्नेमा फुटपाथदेखि दोस्रो तलामाथिको स्ल्याबसम्म नै ३२ फिट ९ इञ्च भएको देखिएको प्रतिवेदनमा उल्लेख छ । त्यस्तै भवन निर्माणका क्रममा सार्वजनिक फुटपाथमा स्काफोलिङ राखेर पैदल यात्रुको आवागमनमा असहज स्थिति पैदा गरेको प्रतिवेदनमा जनाइएको छ ।
प्रतिवेदनमा भवन मापदण्डअनुसार बेसमेन्ट स्वीकृति दिन मिल्ने व्यवस्था भएको तर पुरातìव विभागको संरक्षित स्मारक क्षेत्रभित्र भवन निर्माणका लागि लागू हुने मापदण्डअनुसार बेसमेन्ट राख्न नपाइने प्रावधान रहेको प्रतिवेदन तयारकर्ता इञ्जिनियरहरूले उल्लेख गर्नुभएको छ ।
पुरातìव विभागले गत असार २१ गते नै महर्जन बिजनेस एसोसिएट्सलाई मापदण्डविपरीत भइरहेको निर्माण रोकेर सच्याउन पत्र लेखेपछि एसोसिएट्सले विभागको सिफारिसअनुसारको कार्य गर्न मञ्जुरी जनाएको थियो । एसोसिएट्सले भवनको कुल उचाइ ३५ फिटमात्र बनाउने, प्रत्येक तलाको उचाइ आठ फिट बनाउने, बेसमेन्ट र सेमी बेसमेन्ट निर्माण नगर्ने, स्मारक क्षेत्रमा लागू हुने संरक्षण एवं निर्माणसम्बन्धी मापदण्ड २०६४ बमोजिम निर्माण गर्ने २०७३ असोज १७ गते गरेको सर्तनामामा उल्लेख छ ।
तर भवन निर्माण क्रममा भूकम्पप्रतिरोधी बनाउनका लागि दुई फिटसम्मको बिम राख्नैपर्ने भएकाले भवनको प्रत्येक तलाको उचाइ नक्सामा उल्लेख गरेभन्दा फरक परेको एसोसिएट्सका अध्यक्ष कृष्णलाल महर्जनले दाबी गर्नुभयो । उहाँले पुरानो भवन साढे पाँच तलाको ५३ फिट उचाइको रहेको जिकिर गर्दै विगतकै उचाइसम्म जान पनि कानुनले नरोक्ने दाबी गर्नुभयो । उहाँले भवनको जग खन्ने क्रममा ९ फिट गहिरो पानी ट्याङ्की भएको पाइएपछि नक्सा संशोधन गरेर बेसमेन्टका लागि स्वीकृति लिइएको दाबी गर्नुभयो ।
उक्त भवनले चार तलाको ३५ फिट उचाइका लागि नक्सा पास र हाल ३२ फिटसम्म निर्माण भइसकेकाले अहिलेसम्म मापदण्डभित्र नै रहेको मान्न सकिने तर आफूकहाँ नआइसकेको थप अध्ययन बाँकी रहेको काठमाडौँ उपात्यका विकास प्राधिकरणका विकास आयुक्त भाइकाजी तिवारीले बताउनुभयो । उहाँले भन्नुभयो– मापदण्डविपरीतका कुनै पनि निर्माणविरुद्ध कारबाही हुन्छ ।