आचारसंहिता उल्लंघनबारे शीर्ष नेताहरुलाई एकै ठाउँमा राखेर छलफल गर्छौं – प्रमुख निर्वाचन आयुक्त यादव

1823
views

काठमाडौं, १२ असोज । प्रमुख निर्वाचन आयुक्त डा. अयोधिप्रसाद यादवले निर्वाचन आचारसंहिता नमानेकोबारे प्रधानमन्त्री, मन्त्रीसहित सबै शीर्ष नेताहरुलाई एकै ठाउँमा राखेर बृहत्त छलफल गर्ने स्पष्ट पारेका छन् ।
बिहीबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा प्रमुख आयुक्त यादवले निर्वाचन आचारसंहिता सबैले पालना गर्नुपर्ने बताउँदै भने ‘कानून सबैले मान्नुपर्छ, प्रभावकारी रुपमा कानुन मान्नुपर्छ, यो नै लोकतन्त्रको सुन्दर पक्ष हो ।’
उनले स्थानीय तहको निर्वाचनमा सरकारबाटै आचारसंहिता उल्लंघन भएको गुनासो पोखे । यादवले भने,‘सरकारले आचारसंहिता उल्लंघन गरेको कुरा जनताले हेरिरहेका छन्, अब उहाँहरुलाई बोलाएर सोध्नुपर्यो नि, हुन त जनता पनि यसको साँक्षी बनेका छन् ।’ सरकारले आचारसंहिता उल्लंघन गरेर गम्भिर गल्ती गरेकोमा आपत्ति प्रकट गर्दै उनले यसको परिणाम कुर्न चेतावनी दिए ।
आगामी मंसिर १० र २१ गते हुने प्रदेश र प्रतिनिधि सभाको निर्वाचनको लागि चाहिने आवश्यक कानून तथा ऐनहरु आयोगले पाईसकेको समेत उनले जानकारी दिए । उनले भने,‘हामीले कानून पाईसकेका छौं ।’ त्यस्तै उनले संसदको म्याद अझै भएकोले यो बीचमा राष्ट्रपति र राष्ट्रिय सभाको निर्वाचनको लागि चाहिने कानून पनि समयमै आउने विश्वास दिलाए ।
आगामी मंसिर १० र २१ गते हुने प्रदेश र प्रतिनिधि सभाको निर्वाचनको तयारीमा आयोग जुटिसकेको बताउँदै यादवले भने,‘आयोग व्यवस्थापकीय तयारीमा जुटिसकेको छ।’ अब हुने निर्वाचनमा राष्ट्रिय स्तरका नेताहरु उम्मेद्धवार बन्ने भएकोले आचारसंहिताको पूर्ण पालना हुनेमा आफू विश्वस्त रहेको उनको भनाई थियो ।