भारतीय प्रहरीले पक्राउ गरेका बाबु–छोरा छुटाउन गृहमन्त्रालय देखी स्थानीयको पहल

1905
views

सप्तरी, १६ असोज । अपहरणको आरोपमा भारतमा पक्राउ परेका सप्तरी तिलाठी कोइलाडी–१ का देवनारायण यादव र छोरा अजय यादवलाई रिहा गराउन पहल थालिएको छ । गृहमन्त्रालय, जिल्ला प्रशासन कार्यालयदेखि स्थानीय बासिन्दासम्मले छुटाउन पहल गरिरहेका हुन् ।

यादवका छोरा अजयले भारत विहारको सुपौल जिल्लास्थित कुनौलीकी एक युवतीलाई भगाएर विवाह गरेपछि उनका परिवारजनले प्रहरीमा बाबु–छोराविरुद्ध उजुरी दिएका थिए । स्थानीय बासिन्दाले भने एक वर्षअघि नेपाल–भारत सीमामा भारतीयहरुले एकतर्फी रुपमा खाँडो खोलाको बाँध निर्माण गर्न लाग्दा यादवसहितका नेपालीले प्रतिवाद गर्दै रोकेको प्रतिशोधस्वरुप पक्राउ गरिएको बताएका छन् ।

आईतबार भारतीय प्रहरीले पक्राउ गरेका देवनारायण यादव र उनका छोरा अजय


प्रमुख जिल्ला अधिकारी भगीरथ पाण्डेले भारतीय प्रहरीले अपहरणको उजुरी आएपछि नियन्त्रणमा लिएको जानकारी आफूलाई दिएको बताए । आफूले सुपौलको प्रशासन र प्रहरीसँग कुरा गरेर रिहा गर्न आग्रह गरेको उनले जानकारी दिए ।

यसअघि गृहमन्त्री जनार्दन शर्माले प्रजिअ पाण्डेलाई टेलिफोन गरी यादवको रिहाइको पहल गर्न निर्देशन दिएका थिए । प्रजिअको स्तरबाट कुरा नमिले सरकार आफैले उच्चस्तरबाट कुटनीतिक पहल थाल्ने गृहमन्त्री शर्माको भनाइ छ ।

प्रजिअ पाण्डेका अनुसार अहिले तिलाठीमा देवनारायण र युवतीका परिवारबीच छलफल चलिरहेको छ । युवती पक्षलाई उजुरी फिर्ताका लागि गाउँलेहरुले पहल गरिरहेका छन् ।

यादवलाई पक्राउ गरिएको विरोधमा आज विद्यार्थी संगठनहरुले काठमाडौंस्थित भारतीय दूतावास घेराउ गर्दै नाराबाजी गरेका छन्