लोकतान्त्रिक शक्तिसँग गठबन्धन गर्ने काँग्रेसको निर्णय

763
views

काठमाडौं– सत्तारुढ नेपाली काँग्रेसले एमाले, माओवादी केन्द्र र नयाँ शक्ति पार्टी नेपालबीचको एकता सहमतिलाई संविधानको हितमा नरहेको टिप्पणी गरेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा जारी कांग्रेस केन्द्रिय कार्यसम्पादन समिति बैठकले यस्तो निष्कर्षमा पुगेको हो । दुई ठूला कम्युनिष्ट पार्टीबीच चुनावी तालमेल गरेर जाने र पार्टी एकीकरण गर्ने सहमति संविधान कार्यान्वयनको हितमा नरहेको धेरैजसो नेताहरुले धारणा राखेको नेता विमलेन्द्र निधिले बताए । बैठकमा पार्टी सभापति समेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवाले लोकतान्त्रिक गठबन्धन निर्माण गरेर जाने प्रस्ताव गरेका छन् । देउवाले यही सरकारले आसन्न प्रदेश सभा र प्रतिनिधि सभा निर्वाचन सम्पन्न गर्ने समेत बताएका छन् ।

बैठकमा लोकतान्त्रिक शक्तिहरुबीच गठबन्धन गर्न संघीय समाजवादी फोरम नेपाल, राष्ट्रिय जनता पार्टी, नेपाल, राष्ट्रिय प्रजातन्त्र पार्टी प्रजातान्त्रिकलगायतका दलहरुसँग छलफल सुरु गरेको पनि देउवाले जानकारी गराएका छन् ।