माओवादी मन्त्री राख्ने वा हटाउनेबारे कांग्रेसभित्र छलफल बाझियो

1928
views

काठमाण्डौ, १९ असोज । प्रधानमन्त्री शेरबहादुर देउवाले माओवादी केन्द्रका मन्त्रीलाई तत्काल नहटाउने भएका छन् । सत्ताको नेतृत्व गरिरहेको कांग्रेसभित्र एमालेसँग मिलेर गठबन्धन बनाएको माओवादीलाई सरकारबाट हटाउनु पर्ने आवाज उठेपनि प्रधानमन्त्री देउवाले तत्काल त्यस्तो निर्णय नगर्ने भएका हुन् ।
तर काँग्रेस युवा नेता गगन थापाले भने माओवादी मन्त्रीहरुलाई आफ्नो नेतृत्वमा रहेको माओवादीका मन्त्रीहरुलाई हटाउनुपर्ने अडान लिर्दै आएका छन् । हिजोदेखि चलिरहेको कांग्रेस कार्यसम्पादन समितिको बैठकमा काँग्रेस नेता अर्जुनरसिंह केसीले पनि माओवादी सरकारमा बसिरहन उचित नहुने भन्ने कुरा उठेको बताएका छन् ।

माओवादी, एमाले र नयाँ शक्तिबीच एकता गर्ने सहमतिपछि कांग्रेसले पनि ६ दलसँग मिलेर चुनावी तालमेल गर्नेबारे छलफल गरिरहेको छ । माओवादीलाई हटाएर अहिलेकै गठबन्धनका आधारमा नयाँ सरकार गठन गर्नु पर्ने कतिपय नेताहरुको धारणा छ ।

कांग्रेस नेता प्रकाशशरण महतले सरकारबाट माओवादीलाई हटाउनेबारे कांग्रेसले कुनै निर्णय नगरेको बताए । ‘चुनावी तालमेलका लागि ६ दलसँग छलफल भएको हो । तर माओवादीलाई सरकारबाट हटाउने तयारी निर्णय कांग्रेसले गरेको छैन त्यस्तो कुनै तयारी पनि छैन,’ उनले भने ।

प्रधानमन्त्रीका प्रेस सल्लाहकार गोविन्द परियारले भने नयाँ सरकार गठन वा पुनर्गठन तथा माओवादीलाई हटाउने कुनै पनि तयारी नभएको बताए । ‘माओवादीलाई सरकारबाट हटाउने भन्ने कुरा साँचो होइन । अहिलेसम्म त्यस्तो कुनै तयारी छैन,’ उनले ‘सरकार पुनर्गठन वा कसैलाई हटाउन सरकारले कुनै तयारी गरेको छैन सबै मन्त्रीले नियमित काम गरिरहेका छन् ।’