के गरे तरुणदलका महामन्त्रीले दलित बस्तिमा यस्तो ?

2557
views

रिना खनाल
कालिकोट, २०, असोज । कालिकोटमा छुवाछुत प्रथा अझै व्याप्त अवस्थामा छ । केही बर्ष अगाडी छुवाछुतकै कारण एकजनाले ज्यान नै गुमाउनु परेको थियो । कालिकोटमा छुवाछुत अन्त्यका लागि धेरै प्रयासहरु भैरहँदा पनि निकै कठिनाई भईरहेका बेला नेपाली काँग्रेसको युवा संगठन तरुणदलका केन्द्रिय महामन्त्री भुपेन्द्र जंग शाहीले करविरे विकका हातबाट बडादशैंको टिका एवं प्रसाद ग्रहण गरेका हुन् ।

२०७० सालमा सभासद समेत उठेका शाहीले समाजमा व्याप्त जातीय छुवाछुतको अन्त्यका लागि ‘हाम्रो अठोट छुवाछुतमुक्त कालिकोट’ भन्ने उद्वेश्यका साथ कालिकोट खादाचक्र नगरपालिका –२ मा दलित मान्यजनहरुबाट टिका ग्रहण गर्नुभएको हो । शाहीले समाज परिर्वतन गर्नका लागि जातिय छुवाछुत अन्त्य गर्न आर्थिक, सामाजिक र सांस्कृति  परिर्वतनको आवश्यकता रहेको बताउँदै शाहिले भन्नुभयो कालिकोटमा जातिय छुवाछुतको अन्त्यका लागि सामाजिक रुपमा दलित मान्यजनहरुको हातबाट टिका लगाएको यो पहिलो घटना हो ।’
उहाँले कोजाग्रत पूर्णिमा अर्थात दशैंको अन्तिम दिनसम्म पनि दलित मान्यजनहरुको हातबाट टिका प्रसाद ग्रहण गर्नुभएको थियो ।

कालिकोटमा उपल्लो जातिबाट तिरस्कार भएका दलितहरुको हातबाट टिका लगाउने उहाँ पहिलो व्यक्ति भएको र उहाँको कदमले छुवाछुत अन्त्यका लागि परिवर्तनको विगुल फुकेको करविरे विकले बताउनुभयो । विकले भन्नुभयो ‘कालिकोटमा दलितहरुले तल्लो जाति भएकै कारण २१ औ शताव्दीमा पनि उपल्लो जातिहरुबाट दमित हुनुपरेको छ । मान्छे मान्छे बराबर भएर पनि मानव जातिले मानव जातिलाई दमन गरिरहेका बेला शाहीले दलित वृद्धवृद्धाको हातबाट टिका लगाउँदा सामाजिक परिर्वतनमा ईट्टा थपेको छ ।’ शाही कालिकोट खादा चक्र नगरपालिका वडा नं २ निवासी हुनुहुन्छ ।