१९५० को सन्धि परिमार्जन नेपालको मुख्य एजेण्डा

639
views

काठमाण्डाैं । नेपाल–भारतबीचका असमान सन्धिरसम्झौता पुनरावलोकनका लागि गठित नेपाल–भारत ‘प्रबुद्ध व्यक्ति समूह’ (ईपीजी) को पाँचौं बैठक काठमाडौंमा सुरु भएको छ । सोमबारसम्म चल्ने बैठक काठमाडौंको र्याडिसन होटेलमा सुरु भएको छ ।
बैठकमा १९५० को सन्धि पुनरालोकणका बिषयमा छलफल हुने भएको छ । नेपाली टोलीका संयोजक डा. भेखबहादुर थापाले १९५० को सन्धिमा रहेका विवादित बुँदाका बारेमा एकअर्कामा अध्ययन गर्ने सहमति यसअघि नै भएकाले यसपटकको बैठकमा पनि त्यसबारे छलफल हुने बताएका छन् ।
‘यो बैठकले दुईपक्षीय विविध विषयमा छलफल गर्नेछ,’ थापाले भने, ‘सकारात्मक रूपमै छलफल अघि बढेको छ । अहिले हामीले एजेन्डा यो वा त्यो भन्नुभन्दा पनि समग्र विषयमा छलफल गरिरहेका छौं ।’ उनले छलफलका काम आधा सकिएको र सकरात्मक नतिजा आउनेमा आफु आशावादी रहेका बताए ।

भारतले भने यस पटकको बैठकमा आतंकवाद, उग्रवाद र अवैध मुद्रा, लागूपदार्थ ओसारपसारलगायत तस्करी नियन्त्रणका लागि नेपाल–भारत सीमा नियमनमा जोड दिने भएको छ ।
नेपालतर्फको प्रबुद्ध व्यक्ति समूहमा थापा, सूर्यनाथ उपाध्याय, राजन भट्टराई र नीलाम्बर आचार्य छन् । भारतको समूहमा जयन्त प्रसाद, महेन्द्र पी. लामा, भगतसिंह कोस्यारी र बिसी उप्रेती छन् । अस्वस्थताका कारण जयन्त प्रसाद भने बैठकमा उपस्थि छैनन् ।