यस्तो छ पूर्वराजा ज्ञानेन्द्र वीर विक्रम शाहको दलप्रतिको असन्तुष्टि

1547
views

नवदृष्टि संवाददाता
काठमाडौं, ३१, चैत । पूर्वराजा ज्ञानेन्द्र वीर विक्रम शाहले ०६३ को जनआन्दोलनका वेला राजनीतिक दलकाबीचमा भएको सहमति तोडिएको स्मरण गराउँदै प्रजातान्त्रिक मूल्य, मान्यता र मर्म प्रतिकुल व्यवहार राजनीतिक तहबाट भएको बताएका छन । पूर्वराजा ज्ञानेन्द्र वीर विक्रम शाहदेवले प्रजातन्त्र र सार्वभौमिक स्वतन्त्रतामाथि खतरा देखिएको विश्लेषण समेत गरेका छन । नयाँ वर्षको पूर्वसन्ध्यामा पूर्वराजा शाहले राजनीतिक क्षेत्र प्रतिको भरोसा न्यून हुन पुगेको र त्यसले देशको एकता र सवल राष्ट्रियतालाई नै दीर्घकालीन असर पु¥याउने त्रास थपेको बताएका छन ।
नयाँ वर्ष २०७४ को उपलक्ष्यमा पूर्वराजाद्धारा जारी शुभकामना सन्देशमा जनताको चाहना बमोजिम शान्ति, स्थिरता र समृद्धिको मार्ग तय गर्ने दिशामा पटक पटक चुकेको अनुभूति जनताले गर्नु परिरहेको उल्लेख छ । ‘२०६३ सालमा जन चाहनालाई विचार गरी राजनीतिक दलका नेताहरुसंग बनेको सहमति अनूसार संसद पुनस्स्थापना गरिंदा राजनीतिक संकट अन्त्य भई मुलुकमा शान्ति, स्थायित्व र समृद्धिको द्वार खुल्ने अपेक्षा हामी सबैले राखेका थियौं । संसद पुनस्स्थापनापछि पूर्वसहमति प्रतिकुल निर्णय हुँदै जाँदा पनि हामी सबैले देशको भविष्य र जनताको हितलाई केन्द्र विन्दूमा राखी मौनतापूर्वक साथ दिएका हौं,’ पूर्वराजा शाहको शुभकामना सन्देशमा भनिएको छ,‘यस अवधिमा कार्यपालिका, न्यायपालिका र व्यवस्थापिकाबीचको शक्ति सन्तुलन असन्तुलित भएको र विश्वमा प्रचलित प्रजातान्त्रिक मुल्य, मान्यता र मर्म प्रतिकुल व्यवहार राजनीतिक तहमा प्रकट भएको पाइन्छ ।’
हिमाल, पहाड र तराई नै नेपालको विश्व परिचय भएको वास्तविकतालाई आत्मसात गरी तदअनुरुप व्यवहार गर्न नसक्दा नेपाली नेपालीबीच अविश्वास, अनेकता र आशंका उत्पन्न हुने स्थिति पैदा भएको स्मरण गराउँदै शुभकामना सन्देशमा सनातन धर्म र निष्ठामा आधारित जीवन मुल्यलाई क्षतविक्षत तुल्याउन भएका दृश्य अदृश्य चालवाजीका कारण सामाजिक जीवन आकुल व्याकुल बन्न पुगेको र यसबाट देशको प्रजातन्त्र र सार्वभौमिक स्वतन्त्रतामाथि समेत खतरा देखिन थालेको उल्लेख छ।
राष्ट्र समृद्ध बनाउनमा मुख्य योगदान र्पुयाउन सक्ने जनशक्तिको पलायन अत्यास लाग्दो किसिमबाट बढिरहेको जानकारी गराउँदै पूर्व राजा शाहले महाभूकम्प र बाढी पहिरोका कारण घरवास विहीन हुन पुगेका जनतालाई अनूभुत हुने स्तरको सहारा दिने कार्य हुन नसकेको शुभकामना सन्देशमा उल्लेख छ । ‘राजनीतिक तहमा भएका अनगिन्ति संवाद र सहमति जनसमस्या समाधानमूखी नभएर राजनीति केन्दित हुन पुगेको देखिन्छ । राजनीतिक क्षेत्रप्रतिको भरोसा न्यून हुँदा त्यसले अन्तत देशको एकता र सबल राष्ट्रियतालाई नै दीर्घकालीन असर पु¥याउने त्रास थपेको छ,’ शुभकामना सन्देशमा भनिएको छ । शान्ति, समृद्ध, सुरक्षित, सवल एवं अखण्ड नेपाल, गरिवी एवं अभावमुक्त नेपाल, हरेक नेपालीले आफूलाई नेपाली हुँ भनी गर्व गर्नसक्ने नेपालको चाहना पूर्वराजा शाहबाट व्यक्त भएको छ ।
सन्देशमा देश विदेशमा रहे बसेका समस्त नेपालीहरुमा सुख, शान्ति तथा समुन्नतीका लागि शुभकामना व्यक्त गरिएको छ । सन्देशमा केहि जिज्ञासासहित भनिएको छ,‘अतितका कतिपय आदर्शलाई जीवन्त राख्दै आगतलाई अझ चहक बनाउदै लैजानु समयको माग हो । विगत ११ वर्ष के कसरी विते ? यो अवधिमा के के भए ? यस अवधिमा तमाम नेपाली दिदी वहिनी दाजुभाइहरुको सामाजिक, आर्थिक तथा नागरिक हक हितमा के कति सुधार आयो ? देशको अखण्डता, एकता एवं सार्वभौम स्वतन्त्रतामाथि आंच नपुगोस् त्यो यतिखेर सोचनीय विषय हो ।’