इलाममा अन्तर्राष्ट्रिय कराँते

707
views

इलाम, ११ वैशाख । जिल्लाको सूर्योदय नगरपालिकास्थित फिक्कल बजारमा ‘छैटौँ अन्तर्राष्ट्रिय आमन्त्रण सितोरियो कराँते प्रतियोगिता’ आयोजना गरिने भएको छ । नेपाल, भारत, भुटान, बङ्गलादेश र श्रीलङ्काका ४०० खेलाडीले प्रतियोगितामा प्रतिस्पर्धा गर्दैछन् ।
सितोरियो कराँते सङ्घले फिक्कलमा वैशाख १६ र १७ गते फिक्कल बजारमा प्रतियोगिता आयोजना गर्ने जनाएको हो । प्रतियोगितामा इलामका २५०, भारतका ३००, श्रीलङ्काका २५ भुटानका १५ र बङ्गलादेशका पनि त्यही हाराहारी खेलाडीले सहभागिता जनाउने सङ्घका अध्यक्ष तथा कराँतेका अन्तर्राष्ट्रिय निर्णायक योगेश चाम्लिङले बताए ।
“हामी इलामे खेलाडी नै अन्तर्राष्ट्रिय प्रतियोगिताका लागि पर्याप्त छौँ भन्ने लागेर अन्य जिल्लाका साथीहरूलाई बोलाइएन”, चाम्लिङले भने – “जिल्लाकै खेलाडीको क्षमता विकास गर्ने र पहिचान बनाउने प्रतियोगिताको उद्देश्य हो ।” चाम्लिङले जिल्लालाई खेलकुद क्षेत्रमा पनि चिनाउने र पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गर्न लागेको जानकारी दिए ।
प्रतियोगितामा पुरुषतर्फ २० देखि ७५ किलो तौल समूह र त्यसभन्दामाथि खुला गरी २० बेग्लाबेग्लै समूहमा प्रतिस्पर्धा गराइने छ । महिलातर्फ २५ देखि ६५ र त्यसभन्दा माथि खुला गरी ११ तौल समूहमा प्रतिस्पर्धा गराइने छ । प्रतियोगिताका विजेताले पदक र प्रमाणपत्र पाउनेछन् । विजेता र उपविजेता टिमलाई ट्रफी प्रदान गरिने छ । “प्रतियोगितामा खेलाडी छान्न जिल्लाका २२ स्थानमा प्रशिक्षण दिइरहेका छौँ”, अन्तर्राष्ट्रिय निर्णायक चाम्लिङले भने – “जिल्लाका ७०० खेलाडीबाट प्रतियोगितामा भाग लिने अढाइ सय जति छान्नुपर्नेछ ।”