वीरगन्जमा भएको गोल्डकपको उपाधि लान्छ कसले

686
views

वीरगन्ज । वीरगन्जमा जारी विशाल मेमोरियल गोल्डकपमा बिहीबार आर्मीका भरत खवास (बीच) तीव्र गतिमा बल अघि बढाउँदै कप्तान भरत खवासको उत्कृष्ट प्रदर्शनमा त्रिभुवन आर्मी क्लब बिहीबार विशाल मेमोरियल गोल्डकप फुटबलको फाइनल पुगेको छ । म्यान अफ द म्याच घोषित भरतले दुई गोलप्रेरित आर्मीले नारायणी रंगशालामा जनजागृति युवा क्लब सिमरालाई ३–० ले पराजित गरेको हो । आर्मीले उपाधिका लागि शनिबार सीएमजी क्लब संकटासँग प्रतिस्पर्धा गर्नेछ । संकटाले बुधबार पहिलो सेमीफाइनलमा नेपाल पुलिस क्लबलाई ३–० ले हराउँदै फाइनल सुरक्षित गरिसकेको छ ।

विजय युथ क्लब हेटौंडालाई ४–० ले हराउँदै अन्तिम चार पुगेको सिमराका खेलाडी बिहीबार आर्मीसामु निरीह देखिएका थिए । उनीहरूले पेनाल्टी बक्समा दुई पटक राम्रो मौका पाए तर सदुुपयोग गर्न सकेनन् ।
मध्यान्तरसम्म एक गोलको अग्रता लिएको आर्मीले दोस्रो हाफमा आक्रमण खेल खेल्दै दुई गोल थप्यो । जर्ज प्रिन्स कार्कीले २२ औं मिनेटमा ४० यार्ड टाढाबाट हानेको फ्रि किक प्रहार गरेर सोझै गोल परिणत गरेका थियो । दोस्रो हाफमा कप्तान भरत र दीप लामाको राम्रो तालमेल देखियो । दीपकै पासमा भरतले दुवै गोल गरेका थिए । ७९ औं मिनेटमा दीपको क्रस बललाई भरत सानदार हेडिङ गर्दै गोल गर्न सफल भएका थिए । त्यसको १० मिनेट नबित्दै दीपकै पास उपयोग गरेर भरतले दोस्रो व्यक्तिगत गोल गरेका थिए । वीरगन्ज नजिकै रहेकाले सिमराबाट टोलीको समर्थनमा थुप्रै दर्शक आइपुगेका थिए । दोस्रो गोल खाए लगत्तै अधिकांश दर्शकले निराश बन्दै रंगशाला छाडेका थिए ।

सिमराले सेमिफाइनलमा तीन राष्ट्रिय खेलाडीलाई मैदान उतारेको थियो तर उनीहरूबीच तालमेल नमिल्दा म्याच गुमाउनुपरेको सिमराका प्रशिक्षक मुन्ना चौधरीले बताए । ‘हामीले पहिलो हाफमा राम्रै खेलेका थियौं,’ उनले भने, ‘एक गोल खाए पनि मनोबल बलियो नै थियो । तर पेनाल्टी बक्समा आर्मीको फाउलमा रेफ्रीले पेनाल्टी नदिँदा मनोबल खस्कियो ।’ युवा र अनुभवहीन खेलाडीका कारण पनि ठूलो खेलमा राम्रो नतिजा आउन नसकेको उनको प्रतिक्रिया छ ।

आर्मीका प्रशिक्षक नवीन न्यौपानेले आक्रमण खेल खेलेका कारण टोलीले जितेको बताए । ‘क्वाटरफाइनलमा खेलाडीले आक्रमण खेल प्रदर्शन गर्न सकेका थिएनन्’ उनले भने, ‘आज कडा मिहिनेतमा आक्रमण खेल खेल्दा राम्रो नतिजा आएको हो ।’

डेढ दशकभन्दा बढी समयपछि वीरगन्जमा भएको गोल्डकपले फुटबल प्रेमीमा उत्साह थपिएको छ । वैशाखको चर्को घाममा पनि रंगशालामा दर्शकहरु उपस्थिति राम्रो छ । शनिबार खेलिने फाइनल विजेताले ५ लाख र उपविजेताले २ लाख ५० हजार रुपैयाँ पुरस्कार पाउने छन् । प्रतियोगिता संयोजक रोशन कलवारका अनुसार उत्कृष्ट खेलाडीले सुजुकी मोटरसाइकल पुरस्कार पाउने छन् ।