प्राविधिक कारणले वैशाख ३१ को चुनाव सर्ने संकेत

1105
views

काठमाडौं, १६, बैशाख । स्थानीय तहको निर्वाचनमा आन्दोलन गरिरहेका दलहरुलाई समेत निर्वाचनमा सहभागी गराउनुपर्ने धाराणा सहित बालुवाटारमा शुक्रबार बसेको प्रमुख दलहरूको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले एजेण्डा राख्दै प्राविधिक कारणले वैशाख ३१ को चुनाव सर्ने संकेत गरे ।
प्रधानमन्त्रीले संसद्मा प्रतिनिधित्व गर्ने राजनीतिक दलका शीर्ष नेताहरूसँग पहिलो चरणको स्थानीय निर्वाचनको मिति केही पर सर्नसक्ने संकेत गरेपछि शिर्ष नेताहरुले प्रधानमन्त्रीलाई दोष लगाउने काम गरेका छन् ।
फोरम लोकतान्त्रिकका नेता रामजनम चौधरीले भने, ‘मैले प्रधानमन्त्रीको भावना बुझें अनुसार उहाँले घुमाउरो भाषामा वैशाख ३१ को निर्वाचन केही पर सार्ने वा निर्वाचन एकै चरणमा गर्ने दिविधा युक्त धारणा राख्नुभयो ।’बैठकमा सहभागी अधिकांश नेताहरूले स्थानीय निर्वाचन एकै चरणमा गर्नुपर्ने धारणा राखेको चौधरीले जानकारी दिए । सत्तापक्षका नेता नेकपा संयुक्तका अध्यक्ष गणेश शाहले प्रधानमन्त्री दाहाललाई पैसाको खेलमा लागेर संंशोधन प्रस्ताव पारित गराउनतर्फ नलाग्न सुझाव दिँदै एमालेलाई सहमतिमा ल्याउन प्रयास गर्नुपर्नेमा जोड दिए ।
प्रधानमन्त्री निवास बालुवाटारमा शुक्रबार संसद्मा प्रतिनिधित्व गर्ने दलहरू बीचको बैठक कुनै निर्णयमा पुग्न नभइ सत्ता गठबन्धनका दलहरूबीच स्थानीय निर्वाचन, मतगणना प्रक्रिया, संसद्मा विचाराधिन संशोधन प्रस्तावमाथि दुई तिहाई पु¥याउने प्रयास र आगामी आर्थिक वर्षको बजेटमा केन्द्रित थियो ।
प्रधानमन्त्री दाहाललाई निर्वाचन एकै चरणमा सम्पन्न गर्न दलका नेताहरूले सुझाव दिएका थिए । एकै चरणमा निर्वाचन गर्न सम्भव नभए दोस्रो चरणको निर्वाचन सकिए पछि मात्रै मतगणना सुरु गर्न सत्ता पक्षका नेताले सुझाव दिएका थिए ।
उनले दुबै चरणको चुनाव सम्पन्न भएपछि एकैपटक मत गणना गर्न निर्वाचन आयोगलाई अनुरोध गर्ने बताउँदै संविधानमा उल्लेख भए अनुसार दलहरूकै सहमतिका आधारमा दुवै चरणको निर्वाचनपछि बजेट ल्याउन आवश्यक प्रक्रिया अघि बढाइने प्रतिवद्धता बैठकमा गरेका थिए ।
बैठकमा मधेसी मोर्चाका नेताहरूले संशोधन प्रस्ताव पारित भए निर्वाचन कति चरणमा र बजेट कहिले कसरी प्रस्तुत गर्ने भन्नेमा आफूहरूलाई खासै चिन्ता र चासो नहुने धारणा राखेका थिए ।
फोरम लोकतान्त्रिकले निर्वाचन जेठ ३१ मा एकै पटक गर्न तथा बजेट असारमा ल्याए पनि हुने धारणा राख्दै संघीय आयोगले सीमांकनमा जाँदा झापा, सुनसरी, मोरड., नवलपरासी, कैलाली र कञ्चनपुरको किटानीका साथ प्राथमिकतामा पार्नुपर्ने सुझाव दिएको थियो ।
बैठकमा सहभागी एमाले नेता अग्नि खरेलले पनि निर्वाचन एकै चरणमा गर्नुपर्ने बताए । पहिलो चरणको निर्वाचनको मतगणनाले अर्कोलाई प्रभावित पार्ने हुँदा मतगणना गर्न नहुने धारणा राखे ।
संविधानमा उल्लेख मितिमै बजेट ल्याउनु पर्ने आफ्नो पार्टीको धारणा रहेको अडान राख्नुभयो । उपप्रधान तथा गृहमन्त्री बिमलेन्द्र निधिले एमाले सहितका दलले दुई चरणमा नभई निर्वाचन एकै चरणमा गर्न सुझाएको प्रशंग कोट्याए ।
मन्त्रिपरिषद् बैठक बसेकै बेला प्रधानमन्त्री दाहालले संशोधन परिमार्जन गर्ने विषयमा एमाले अध्यक्ष केपी शर्मा ओलीसँग कुराकानी गर्नुभएको समेत निधिले जानकारी दिए ।