धनगढी प्रिमियर लिग सुरु

1369
views

धनगढी । सेती अञ्चल प्रहरीको खेलमैदानमा आतिसबाजीसहित आइतबार साँझ सगरमाथा सिमेन्ट धनगढी प्रिमियर लिग (डीपीएल) क्रिकेट को उद्घाटन गरिएको छ । सांसद पुष्करनाथ ओझाले लिगको उदघाट्न गरे । डीपीएलको औपचारिक खेल सोमबारदेखि सुरु हुनेछ । त्यसअघि आइतबार फाप्ला अन्तराष्ट्रिय क्रिकेट रंगशाला निर्माण अभियान ड्रिम फाप्लाको सहयोगार्थ आयोजित च्यारिटी खेल भने नेपाल—११ ले जितेको छ ।
         नेपाली राष्ट्रिय टोलकै जर्सीमा उत्रेको नेपाल–११ ले टस जितेर पहिले ब्याटिङ गर्दै निधारित २० ओभरमा आठ विकेट गुमाई एक सय ६१ रन बनाएको थियो । कप्तान पारस खड्काले अर्धशतकीय पालि खेले । उनले ४४ बलमा चार छक्का र सात चौकाको मद्दतले ६८ रन बनाए । वसन्त रेग्मीले ४३ रन बनाए । शरद भेषावकरले १९ रन थपे । मेहबुब आलम १० रनमा पेभेलियन फर्किए ।
             धनगढी–११ का विक्रम ठगुन्नाले चार ओभरमा १२ रन खर्चंदै चार विकेट लिए । सागर भण्डारी र पदम केसीले एकएक विकेट हात पारे । धनगढी( ११ ले निर्धा्रित ओभरमा आठ विकेट गुमाएर एक सय ३० रनमात्र बनाउन सक्यो । पारस खड्का म्यान अफ दी म्याच घोषित भए । प्रतियोगिताको औपचारिक खेल सोमबारदेखि सुरु हुनेछन् ।
               उद्घाटन खेलमा ज्ञानेन्द्र मल्ल नेतृत्वको सीवाईसी अत्तरिया र वसन्त रेग्मी नेतृत्वको काठमाडौं गोल्डेन्सले प्रतिस्पर्धा गर्नेछन् । प्रतियोगिताको विजेताले १५ लाख र उपविजेताले १० लाख रुपैयाँ पुरस्कार पाउनेछन् ।