बेलकोट गढि नगरपालिकामा चुनावी सरगर्मी बढ्यो

युवा नेता बद्री मुढभरी मेयर पदको मैदानमा

1820
views

नवदृष्टि संवाददाता
नुवाकोट २८ चैत । वृद्ध नेताहरुले देश चलाईरहेका बेला यसपालिको स्थानीय तहको निर्वाचनमा युवाहरु चुनावी मैदानमा उत्रिने जमर्को गरेका छन् । स्थानीय निकाय निर्वाचनको मिति साँघुरिँदै गर्दा यसको व्यापकता भने फराकिलो हुँदै छ । स्थानीय निकायमा युवाहरुको भूमिकालाई लिएर बहस तथा दावेदारी शुरु भएको छ । फलानो गाविसको अध्यक्ष वा यतिवर्ष पार्टीमा काम गरेर बुढ्यौली लागेकोले स्थानीय निकाय प्रमुखको दावी गर्नेहरुसंग नयाँ जोश जाँगरहरुले युवाहरुको पक्षमा माहोल देखिन थालेको छ । यस्तै नुवाकोटको बेलकोटगढी नगरपालिकामा नेपाली कांग्रेसका महाधिवेशन प्रतिनिधि तथा नेविसंघका पुर्ब केन्द्रीय सदस्य बद्री मुढभरीले विकास, विचार र युवाको अवधारणा सहित स्थानीय निकाय निर्वाचनमा आफूलाई मेयर पदका लागि दावी प्रस्तुत गरेका छन् । उमेर ले ३० को हाराहारीमा रहेका मुढभरी कुमरीका निवासी हुन् ।
बिद्यार्थी राजनीतिमा लामो समय कामसँगै नेतृत्वको अनुभव गरेका उनले २०६२ सालको ग्रामीण आदर्श क्याम्पस नेपालटारको स्ववियू सभापतिमा निर्वाचित भएका थिए । यससँगै शिक्षा शास्त्र ब्यवस्थापनमा स्नातकोत्तर गरेका उनी ०५७ सालको स्ववियु निर्वाचनमा राजधानीको मनोहर क्याम्पसको सचिवको उम्मेदवार बनेका उनी ०५३ साल देखि विद्यालय अध्ययनको समयदेखि नै नेविसंघमा सक्रिय थिए ।
मुढभरी अन्य प्रतिस्पर्धामा रहेका उम्मेदवार भन्दा गतिशील इमानदार र बौद्धिक नेताको रुपमा पर्दछन् । विकासे गतिबिधि मात्र हैन सामाजिक सेवालाई प्राथामिकतामा राख्ने उनी सेवा क्षेत्रका सक्रिय हस्ती एवं प्रभावशाली मानिन्छन् । पढे लेखेका र विकासको योजना बनाउन सक्ने युवालाई मेयर टिकट दिनुपर्ने धारणा राख्ने मुढभरीले मेयरको दावी गरेसँगै बेलकोटगढीमा मेयर दावी गर्नेहरुको संख्यामात्र बढेको छैन उम्मेदवार चयनमा दवाव पनि बढेको छ । मुढभरीको मेयर दावीसँगै पढेलेखेका तथा विकासे गतिबिधिमा सक्रियलाई मेयरको टिकट दिनुपर्ने दवाब नेपाली काग्रेसको क्षेत्र तथा जिल्लामा पनि बढेको छ ।
बेलकोट गढी नगरपालिकामा नेपाली कागेसको जितका लागि बद्री मुढभरी सबैभन्दा महत्वपूर्ण पात्र हुन् भनेर चौतर्फी चर्चा चलिरहेको बेला बद्रीको उम्मेदवारीले अन्य दललाई पनि उनलाई टक्कर दिनसक्ने मेयर उम्मेदवार चुन्नु फलामको चिउरा चपाए सरह बन्न पुगेको छ ।