चाँगुमा ब्याडमिन्टन कोर्टसहितको कभर्डहल बन्ने

708
views

भक्तपुर १९ बैसाख । भक्तपुरको चाँगुनारायण नगरपालिका वडा नम्बर ४ चाँगुमा अन्तर्रा्ष्ट्रियस्तरको ब्याडमिन्टन कोर्टसहितको कभर्डहल बन्ने भएको छ । जिम्न्यास्टिक र फिजिकल फिटनेस समेत गर्न मिल्ने उक्त कभर्डहलमा दुईवटा ब्याडमिन्टन कोर्ट बन्नेछन् । यसैगरी चाँगुनारायण क्षेत्र विश्व सम्पदामा सूचीकृत भएको हुनाले कभर्डहल भित्रै आर्ट ग्यालरी समेत रहने कभर्डहल निर्माण समितिका अध्यक्ष श्रीहरि कुइँकेलले बताए ।
कुइँकेलले करिब पाँच रोपनी क्षेत्रफलमा निर्माण हुने उक्त कभर्डहल निर्माणका लागि करिब ६८ लाख रुपैयाँको लागत इस्टिमेट तयार गरिसकिएको बताए । ‘करिब ६८ लाख रुपैयाँ लागत पर्ने कभर्डहलको डिजाइन तयार भइसकेको छ’, उनले भने, ‘कभर्डहलका लागि भक्तपुर निर्वाचन क्षेत्र नम्बर १ को निर्वाचन क्षेत्र पूर्वाधार विकास कार्यक्रमअन्तर्गत पहिलो चरणमा २० लाख रुपैयाँ विनियोजनसमेत भइसकेको छ ।’
उक्त बजेट प्राप्त गर्न जिल्ला समन्वय समिति भक्तपुरसँग सम्झौता अन्तिम चरणमा पुगिसकेको समितिका सचिव राधेश्याम खनालले जानकारी दिए । उनका अनुसार कभर्डहल निर्माण गर्न स्थानीय उपभोक्ताले गत माघमै उपभोक्ता समिति गठन गरेका थिए । उपभोक्ता समितिले सम्पूर्ण प्रक्रिया पूरा गरिसकेको उनले बताए । ‘उपभोक्ता समितिको तर्फबाट सम्पूर्ण तयारी पूरा गरिसकेका छौं’, सचिव खनालले भने, ‘जिल्ला समन्वय समितिसँग सम्झौतामात्रै हुन बाँकी छ ।’ उनले जिल्ला समन्वय समिति भक्तपुरका सदस्यसचिव स्थानीय विकास अधिकारी ध्रुवप्रसाद कोइरालाले स्थानीय उपभोक्ता समितिसँग कभर्डहल निर्माण गर्नेसम्बन्धी कार्यको छिट्टै सम्झौता हुने बताएको जानकारी दिए । स्थानीय उपभोक्ता समितिले आइतबार स्थानीय विकास अधिकारी कोइरालासँग भेट गरी छिटो सम्झौता गर्न ध्यानाकर्षण गरेको थियो । चालू आर्थिक वर्ष्भित्रै २० लाख रुपैयाँको कार्य गर्नुपर्ने भएकाले सम्झौतामा ढिलाइ नगर्न स्थानीय विकास अधिकारीको ध्यानाकर्षण गरिएको अध्यक्ष कुइँकेलले जानकारी दिए । ‘आर्थिक वर्षमा काम सुरु नभए बजेट फ्रिज हुने भएकाले स्थानीय विकास अधिकारीले पनि छिट्टै सम्झौता हुने प्रतिबद्धता व्यक्त गर्नुभएको छ’, उनले भने, ‘प्रतिबद्धताअनुसार सम्झौता भए कभर्डहल निर्माण पनि चाँडै हुनेछ ।’ भक्तपुरमा अहिलेसम्म कुनै पनि खेलको कभर्डहल छैन । त्यसैले चाँगुमै भक्तपुरको पहिलो सुविधासम्पन्न अन्तर्रा्ष्ट्रियस्तरको कभर्डहल बनाउन समिति क्रियाशील रहेको छ । समितिले यस वर्ष काम सुरु भएपछि अन्य क्षेत्रबाट पनि बजेट व्यवस्थापनको लागि सहज हुने बताएको छ ।