चुनाव प्रचार प्रसारको अन्तिम चरणमा देखियो, पर्वतमा कांग्रेस एमाले र माओवादी केन्द्रका बीच कडा प्रतिष्पर्धा

763
views

शुसिल भुजेल
पर्वत, २८ बैशाख । पर्वतका उम्मेदवारहरु र प्रमुख राजनीतिक दलहरु चुनावी प्रचारप्रसारको अन्तिम दिन पनि प्रचार प्रसारमै व्यस्त रहेका छन् । मौन अवधी सुरु भएपछि उम्मेदवारको पक्ष र विपक्षमा चुनाव प्रचारप्रसार गर्न र गराउन नपाइने भएकाले मौन अवधि सुरु पूर्व उम्मेदवारहरु आ–आफ्नो एजेण्डा लिएर मतदातासमक्ष भोट माग्न घरदैलो, कोणसभा र आमसभा जस्ता कार्यक्रममै व्यस्त देखिएका हुन् ।
उम्मेदवारहरुलाई प्रत्येक गाउँ, टोलका मतदाता समक्ष पुग्न भ्याइनभ्याई भएको छ । निर्वाचन सम्बन्धी पर्वतका दलहरुका आ–आफ्नै दाबी र अडानमा रहेका छन् । मुख्य दलमध्ये काँग्रेस, एमाले र माओवादी केन्द्रले आ–आफ्नो पोल्टामा मत रहेको दाबी गर्दै चुनावी तालमेल समेत नगरेका हुन् ।
स्थानीय तहको निर्वाचनबारे नेपाली कांग्रेसका सभापति खिम प्रसाद भुसालका अनुसार नेपाली काँग्रेस, एमाले र माओवादी केन्द्रकाबीच प्रतिष्पर्धा रहेपनि काँग्रेस अग्रस्थानमा रहेको छ । मुख्य त तीन दल प्रतिष्पर्धामा भएपनि मत परिणाम विनाको आँकलन सहि नहुने भुसालको भनाई छ ।
यस्तै एमाले पर्वतका उपसचिव गोविन्द पहाडीका अनुसार चार गाउँपालिका र दुई नगरपालिकामा एमाले पहिलो रहेको दाबी गरेका छन् । पहाडीले एमालेको मुख्य प्रतिष्पर्धी नेपाली काँग्रेस रहेको जानकारी दिए ।
यता माओवादी केन्द्र कुश्मा नगरपालिकाका मेयर उम्मेदवार शंकर गिरीका अनुसार तीनवटा गाउँपालिकामा माओवादी केन्द्र अग्रस्थानमा रहेको र कुश्मा नगरपालिकामा माओवादी केन्द्रको सम्भावना बढ्दै गएको बताएका छन् । जलजला गाउँपालिकामा स्वतन्त्र उम्मेदवार यम बहादुर कार्की अग्रगस्थानमा रहेको आँकलन गरिएको छ । कुश्मा नगरपालिकामा नेपाली कांग्रेसका तर्फबाट रामचन्द्र जोशी, नेकपा एमालेका मेघनाथ सुवेदी र माओवादी केन्द्रका उम्मेदवार शंकर गिरी प्रतिस्पर्धामा रहेका छन् । भने फलेवास नगरपालिकामा कांग्रेसका गंगाधर तिवारी र एमालेका पदमपाणी शर्माबीच प्रतिस्पर्धा हुने आँकलन गरिएको छ ।
पर्वतमा नेकपा माले, राष्ट्रिय जनमोर्चा, नेकपा क्रान्तिकारी माओवादी बीचको बाम गठवन्धन पनि प्रतिस्पर्धामा छन् । राप्रपा, नयाँ शक्ति नेपालको पनि आफ्नै पोल्टामा जनमत भएको दाबी छ । चुनावको दिन नजिकिदै जाँदा पर्वतमा अन्य तयारीहरु पनि पूरा भएका छन् । बुधवार नै सबै मतदानस्थलमा पुगिसकेका कर्मचारीले आज बिहीबारदेखि मतदाता परिचयपत्र वितरण कार्य सुरु गरेका छन् ।
पर्वतका ७४ वटा मतदान स्थलका एकसय २९ वटा मतदान केन्द्रमा एक हजार ४४ जना उम्मेदवार चुनावी प्रतिस्पर्धामा रहेका छन् । कुश्मा नगरपालिकाको वडा नं–४ मा नेपाली काँग्रेसको तर्फबाट महिला सदस्य तिला कुमारी शर्मा यसअघि नै निर्विरोध निर्वाचित भएकी छन् ।