स्थानीय तह चुनावको प्रभाव नेप्सेमा, कारोबार रकममा करीब ५० प्रतिशत वृद्धि

724
views

काठमाण्डौ, २८ बैशाख । बिहीवार शेयर बजार न्यून प्रतिशत बढेर बन्द भएको छ । चुनाव अगाडिको अन्तिम व्यापार दिनमा नेप्से परिसूचक उकालो लागेको छ । स्थानीय चुनावको दिन नजिकिँदै गर्दा नेप्से परिसूचक सकारात्मक सङ्केत देखाउँदै टुङ्गिएकाले लगानीकर्ताहरुको मनोबल बढेको हो । यस दिन कारोबार रकममा करीब ५० प्रतिशतको वृद्धि भएको छ । पहिलो कारोबारदेखि उतार चढावमा रहेको बजार अन्त्यमा १ हजार ६ सय ५८ दशमलव ५८ विन्दुमा पुगेर बन्द भएको हो । यस दिन कारोबारमा आएका सबै समूहहरुको परिसूचक बढेपछि समग्र नेप्से परिसूचक बढेको हो ।
दिव्येश्वरी हाइड्रोपावर कम्पनीको शेयर मूल्य ९ दशमलव ७३ प्रतिशत बढेर अन्तिम मूल्य रू. २ सय ४८ पुगेको छ । साथै, रिडी हाइड्रोपावर, अरुण भ्याली पावर कम्पनी, खानीखोला हाइड्रोपावर, वरुण हाइड्रोपावर र ङादी ग्रुप पावरको शेयर मूल्य रू. १४ देखि रू. २१ सम्म बढेको छ । कारोबारमा आएका सबै जलविद्युत कम्पनीहरुको शेयर मूल्य बढेपछि यस समूहको परिसूचक शून्य दशमलव ९२ प्रतिशत अर्थात् १९ दशमलव २ अङ्क बढेको हो ।
त्यस्तै, सन्राइज बैङ्कको शेयर मूल्य रू. ७ करोड ४९ लाखको शेयर कारोबार भएको छ । यस वाणिज्य बैङ्कको शेयर मूल्य रू. १ ले घटेर अन्तिम मूल्य रू. ५ सय २९ मा सिमित रहेको छ । यस बैङ्कको ६ सय ७० पटकको व्यापारमा १ लाख ४१ हजार ६ सय ६२ कित्ता शेयर किनबेच भएको हो । सानीमा बैङ्क र स्ट्याण्डर्ड चार्टर्ड बैङ्कको रू. २ करोड भन्दा बढीको शेयर कारोबार भएको छ । अघिकांश वाणिज्य बैङ्कहरुको शेयर मूल्य बढेपछि बैङ्किङ समूहको परिसूचक शून्य दशमलव २६ प्रतिशत बढेको हो ।
साथै, जलविद्युत विकास कम्पनी र नेपाल दूरसञ्चारको शेयर मूल्यमा वृद्धि भएपछि ‘अन्य’ समूहको परिसूचक २ दशमलव ७३ प्रतिशत बढेको छ । जलविद्युत समूहको परिसूचक शून्य दशमलव ९२ प्रतिशत, व्यापार समूहको शून्य दशमलव ६७ प्रतिशत र वित्त कम्पनीको शुन्य दशमलव ६४ प्रतिशत बढेको छ । त्यस्तै, बीमा समूहको परिसूचक शून्य दशमलव ५१ प्रतिशत, उत्पादन तथा प्रशोधनको शून्य दशमलव ३७ प्रतिशत, होटलको शून्य दशमलव २९ प्रतिशत र विकास बैङ्कको शून्य दशमलव १ प्रतिशत बढेको छ । यस दिन शेयर बजार शून्य दशमलव ४७ प्रतिशत अर्थात् ७ दशमलव ७७ अङ्क बढेको हो । सो दिन ‘क’ वर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सेटिभ इण्डेक्स शून्य दशमलव ३५ प्रतिशत बढेर ३ सय ५३ दशमलव ७९ अङ्क पुगेको छ । बिहीवार कारोबार रकम रू. ३० करोड ५१ लाख बढेर रू. ९१ करोड ७१ लाख पुगेको छ भने कुल बजार पूँजीकरण रू. बढेर रू. १९ खर्ब २५ अर्ब पुगेको छ । सो दिन ८० कम्पनीको शेयर मूल्य बढेको छ । त्यस्तै, ५६ कम्पनीको शेयर मूल्य घट्यो र ११ कम्पनी स्थिर रहेको हो ।

दिनभरिमा १ सय ४७ कम्पनीको ७ हजार ३ सय १७ पटकको व्यापारबाट २० लाख ६० हजार ७ सय ९५ कित्ता शेयर किनबेच भएको छ । यस दिन नेप्सेको १४ दिने रिलेटिभ स्ट्रेन्थ इण्डेक्स न्यूट्रल जोन अथवा ५७ दशमलव ८१ स्केलमा रहेको छ । यसले बजारमा शेयरको खरीद विक्री चाप सन्तुलनमा रहेको देखाउँछ । त्यसैगरी, सो दिन नेप्सेको एडी रेशियो १ दशमलव ४२ अङ्क रहेको छ । यसले बजार बुलिश प्रवृत्तिमा रहेको देखाउँछ । जनबोलीबाट