स्थानीय तहको निर्वाचन दक्षिण एसियामै गौरव गर्नलायक र शान्तिपूर्ण वातावरणमा हुने

655
views

काठमाडौँ, २९ बैशाख । आम निर्वाचन पर्यवेक्षण समिति नेपाल (जियोक) ले स्थानीय निकायको निर्वाचन जनचाहाना अनुरुप भएकोले सोचेभन्दा निकै शान्तिपूर्ण हुने जनाइएको छ । स्थानीय निकायको चुनाव दक्षिण एसियामै गौरव गर्नलायक र शान्तिपूर्ण वातावरणमा अघि बढिरहेको (जियोक) ले जनाएको हो ।
राजनीतिक दलका एकार्काेको जुलुस र पदयात्रा आमनेसामने हुँदापनि एकार्काप्रति शुभकामना आदानप्रदान सहितको सौहार्दता देखाउनु भनेको शान्तिको उच्चतम अभ्यासको नमुना रहेको उक्त संस्थाले प्रारम्भिक टिप्पणी गरेको छ । सो संस्थाद्वारा आयोजित पत्रकार सम्मेलनमा अध्यक्ष हिमालयशम्शेर राणाले फरक पार्टीका उम्मेदवारबीच जम्काभेट हुँदा विगतको निर्वाचनको जस्तो मनमुटावको स्थितिमा नभई एकार्कामा सौहार्दपूर्ण वातावरणमा शुभकामना साटासाट गर्ने संस्कृतिलाई निकै राम्रो घटनाका रुपमा लिन सकिन्छ ।
मतदाता नामावली र मतदाता शिक्षाका बारेमा केही कमजोरी देखिए पनि समग्रमा निर्वाचनका लागि भइरहेका काम निकै सकारात्मक रहेको जनाउँदै उहाँले पर्यवेक्षकले पनि कसैतर्फ पनि नढल्किएर स्वतन्त्र र तटस्थ भएर महाअभियानका रुपमा रहेको स्थानीय निकायको निर्वाचनलाई सफल तुल्याउने भूमिका निर्वाह गर्न आवश्यक रहेको बताउनुभयो ।
जियोकका सदस्य एवं पूर्वसचिव खेमराज रेग्मीले निर्वाचनका लागि सरकारले उच्चस्तरको सुरक्षा व्यवस्था मिलाएकाले मतदातामा देखिएको उत्साह जीवन्त तुल्याउने काममा सञ्चार क्षेत्रले महत्वपूर्ण भूमिका निर्वाह गर्नुपर्छ भन्नुभयो । नेपाल कानुन समाजका कार्यकारी निर्देशक एवम् संस्थाका सदस्य सचिव कृष्णमान प्रधानले जियोकले पहिलो चरणको निर्वाचनमा मुलुकका १६ जिल्लाका सात सय ५२ मतदान केन्द्रमा पर्यवेक्षक खटाएको जानकारी दिनुभयो ।