कालिकोटमा प्रहरी र विप्लव समूहबीचको दोहोरो भिडन्तमा एकको मृत्यु

683
views

जुम्ला १, बैशाख । कालिकोटमा आइतबार साँझ प्रहरी र विप्लव समूहबीचमा भिडन्त हुँदा एकको मृत्यु भएको छ । मतपेटिका जफत गर्न आएका नरहरीनाथ गाउँपालिका ६ का ४३ वर्षीय नेपाल कम्युनिष्ट पार्टीका कार्यकर्ता धनरुप बटालाको मृत्यु भएको जिल्ला प्रशासन कार्यालय कालिकोटले जनाएको छ ।
मालकोट नन्दादेवी माविको मतदान केन्द्रमा मतदान भइरहेको थियो सोही समयमा प्रहरी र विप्लव समूहका बीच भिडन्त भएको जनाइएको छ । भिडन्तमा गोली लागि घाइते भएका बटालाको आइतबार राती मृत्यु भएको कालिकोटका प्रमुख जिल्ला अधिकारी गृहधारी सुवेदीले जानकारी दिनुभयो । भिडन्तमा घाईते भएका ३० वर्षीय दानबहादुुर बटाला र ३२ वर्षीय तलुबहादुर बटालालाई उपचारका लागि हेलिकोप्टरमार्फत सुर्खेत लगिएको प्रजिअ सुवेदीले बताउनुभयो । सोही क्रममा ४५ वर्षीय व्यासी बटाला पनि प्रहरीको गोली लागि घाइते भएका छन् । विप्लव समूहका कार्यकर्ताले मतपेटिका खोस्न आएपछि दुवै समूहबीच गोली चलेको थियो । भिडन्तमा दुई प्रहरी पनि घाइते भएका छन् । उक्त मत केन्द्रमा मत पेटिका सहित मतपत्र जलाइएको बताइएको छ ।